• समाज
  • `नेपाली पत्रकारिताको इतिहासको खोज र अध्ययन...

`नेपाली पत्रकारिताको इतिहासको खोज र अध्ययन आवश्यक छ´

`नेपाली पत्रकारिताको इतिहासको खोज र अध्ययन आवश्यक छ´

आइतवार, माघ २८ २०८०

  • २०८० माघ २८
    काठमाडौँ - नेपाली पत्रकारिता क्षेत्रका विज्ञ एवं अग्रजहरुले पत्रकारिताको इतिहासबारे खोज र अध्ययनको आवश्यकता औँल्याउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आज यहाँ विमोचन कार्यक्रममा प्रा डा रामकृष्ण रेग्मीले पुस्तकबारे समीक्षा गर्दै पत्रकारिताको इतिहासको खोज अनुुसन्धानले यस क्षेत्रको वर्तमान चुनौतीको सामना र भविष्यको बाटो पहिल्याउन सहयोग पुग्ने बताउनुभयो । उक्त पुस्तक नेपाली पत्रकारिताको इतिहासको लागि उपयुक्त स्रोत सामग्री हुने उहाँले बताउनुभयो । “यस पुस्तकले नेपालमा पत्रकारितालाई सङ्गठनको रुपमा विकास गर्दा आइपरेका चुनौती र उहाँहरुले गर्नुभएको सामनाका बारेमा जानकारी दिन्छ”, उहाँले भन्नुभयो, “भविष्यको बाटो पहिल्याउन विगत हेर्न पर्छ भने जस्तै यसले पत्रकारिताको इतिहासबारे अध्ययन गर्न र सिङ्गो पत्रकारितालाई अघि बढाउन सहयोगी सावित हुनेछ । अध्ययनका लागि स्रोतसामग्रीको अभाव सधै खड्किन्छ । यस पुस्तकलाई गतिलो स्रोतसामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।” कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको इतिहाससँगसँगै नेपाल पत्रकार महासङ्घको इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्न प्रयासररत रहेको बताउनुभयो । उहाँले उक्त पुस्तक पत्रकारिताको इतिहासका बारेमा अध्ययनका लागि अभिलेखीकरण भएको बताउँदै पत्रकारिताको इतिहास खोज्न र तथ्यमा आधारित भएर इतिहासलाई स्थापित गर्न महासङ्घ प्रयत्नशील भएको बताउनुभएको हो । “पुस्तकका सन्र्दभमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कोे असहमति र असन्तुष्टि छ । त्यसलाई एक तार्किक निष्कर्ष, तथ्यपरक अध्ययन र विधिसम्मत अनुसन्धानका विधिहरु प्रयोग गरेर टुङ्गोमा पुर्याउने विषयमा हामी सबैको एकमत छ । अहिले पत्रकार महासङ्घले हामी जुन विधानबाट निर्वाचित भएर आएका छौँ र विधानले चिन्ने पूर्व अध्यक्षहरुको पुस्तक निकालेको हो”, उहाँले भन्नुभयो, “ पत्रकार महासङ्घको इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्ने प्रयत्न भइरहेको छ । सत्यनारायणबहादुर श्रेष्ठको सन्र्दभमा सङ्गठन स्थापना गरेको हो भन्ने सत्य हो । त्यसमा कुनै पनि विमति छैन । महासङ्घले उहाँको नाममा पुरस्कार स्थापना गर्ने, विशेष विभुषण दिने विषयमा सुझाव लिँदैछाँै ।”
    उक्त कार्यक्रममा महासङ्घका पूर्वसभापति हरिहर विरहीले विगतका पत्रकारिताको अभ्यास र इतिहासबारे उल्लेख गर्दै पछिल्लो समय खोजमूलक पत्रकारिताको आवश्यकता औँल्याउनुभयो । “राजनीतिक क्षेत्रमा देखिएका विसङ्गति र विकृति एवं आफ्नै कार्यक्षेत्रमा देखिएको समस्याका कारण पत्रकार र पत्रकारिता क्षेत्र नै ओइलाइरहेको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “तर अहिले पनि सबैभन्दा धेरै आशा पत्रकारिता क्षेत्रसँग गरिएको छ । त्यसैले हाम्रो त्रुटी, उदासीनता, कमजोरीलाई हटाउँदै उत्साहका साथअघि बढ्न सरोकारवाला सबै संस्थाले पनि सोच्न आवश्यक छ ।” पूर्वसभापति किशोर नेपालले पत्रकारिता क्षेत्रको विकासका लागि सबै पत्रकारले आफना मुद्दामा एक हुनुपर्नेमा जोड दिँदै पत्रकारको सम्मानका लागि पत्रकारिता क्षेत्रलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । “नेपालको मात्र हैन संसारको कुनै पनि देशमा पत्रकारिताले विश्राम लिन पाउँदैन र लिएका छैनन् । पत्रकारिताका लागि उपयुक्त वातावरण बनाउन प्रेरित गर्दै जाने हो विकृत बनाउने हैन । इतिहासमा बिग्रिएका कुरालाई सच्याउँदै जाने हो, विचलित हुनुहुँदैन”, उहाँले भन्नुभयो । यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पुस्तकमा महिला जनजातिलगायत सबैको अनुभव र जीवनी समेटिनुपर्ने सुझाव दिनुभयो । उहाँले पत्रकारितामा देखिएका चुनौतीको मिलेर सामना गर्नुपर्ने भन्दै समितिले आफ्नो अधिकारको सीमितता र बाधा अड्चनका बाबजुद पारिश्रमिक वृद्धिका लागि काम गरिरहेको समेत दाबी गर्नुभयो । पत्रकार, पत्रकारिता र राजनीतिसँगै नेपाल पत्रकार सङ्घदेखि महासङ्घसम्मका विषय समेटेर तयार पारिएको उक्त पुस्तकको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले असहमति जनाएको छ । फोनिजले महासङ्घका संस्थापक एवं पत्रकार सत्यनारायणबहादुर श्रेष्ठलाई पनि उक्त पुस्तकमा समेटनुपर्ने माग गर्दै विमोचन कार्यक्रममा असहमति जनाएको थियो । “२००८ सालमा पत्रकार सत्यनारायणबहादुर श्रेष्ठले पत्रकारलाई सङ्गठिन गर्दै संस्था स्थापना गर्नुभयो । तर महासङ्घले श्रेष्ठपछिका कृष्णप्रसाद भट्टराई, जो २०१२ सालमा अध्यक्ष हुनुभएको थियो, उहाँलाई मात्र राखेको छ । हामीले यस विषयमा रिभ्यू गर्न ध्यानार्कषण पत्र बुझाएका थियौँ”, फोनिजका अध्यक्ष गजुरधन राईले भन्नुभयो, “सिङ्गो पत्रकार महासङ्घको जिउँदो इतिहासलाई गलत ढङ्गले पछि धकेल्ने काम भएको छ ।”

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend