नियात्रा

चारधाममा चौध दिन

चारधाममा चौध दिन

भुइँ पाटी
बुधवार, आषाढ १० २०८३
  •  
    -रामचन्द्र आचार्य (आर.सी.)
     
    पिताजीले किशोरवयमा अयोध्या गएर संस्कृतकोे पूर्व मध्यमा सम्म अध्ययन गर्नु भएको थियो । अध्ययनको सिलसिलामा र पछि भ्रमणको क्रममा उत्तराखण्डका केही भागको भ्रमण पनि गर्नु भएको रहेछ । बेलाबेलामा उहाँले हामी र आफ्ना दौँतरीहरुसँग हरिद्वार, ऋषिकेश, हनुमानचट्टी, प्रयाग आदि ठाउँको नाम लिइरहनु हुन्थ्यो । ‘कालञ्जर’ साहित्यिक पत्रिकामा उहाँले लेख्नु भएका संस्मरण मेरो मानसपटलमा सजिव थिए । उहाँले सुनाउँदाको शैलीमै ती स्थानको रसस्वादन गर्ने उत्कट अभिलााषा सहित म भित्र अथाह कौतुहलता थियो । कर्ममा लेखेको रहेनछ मातापिता सँगसँगै घुम्नेफिर्ने, तीर्थयात्रा गर्ने अवसर । उहाँहरु डाँडा माथिको घाम झैँ बेला नहुँदै अस्त हुनु भयो । माताजीले भन्दा पिताजी धेरै ठाउँ पुग्नु भएकोले तत् तत् स्थानमा पाइला पु¥याउने अठोट थियो मेरो । र कणकण चुम्ने मेरो मनले प्रण गरेको थियो । मातापिताका पाइला परेका स्थल स्वाभाविक रुपमा तीर्थस्थल भएको सत्य मनले स्वीकारिसकेको थियो । पाइला पछ्याउने क्रममा अघिल्लो वर्ष गया, काशी, प्रयाग र अयोध्याको भ्रमण गरेका थियौंँ । उत्तराखण्डका धार्मिक क्षेत्रहरु भ्रमण गर्न बाँकी नै थिए ।
    दुई हजार बयासी सालभरि भारतको उत्तराखण्डका चारधाम यात्रा गर्न तिन भाई बिचमा सल्लाह चलिरहेको थियो । बर्षको अन्तिमतिर आँउदा सम्म जाने टोलीका सदस्यहरुमा केही अवरोध आइरहेको कारणले ठोस निर्णय हुन पाएको थिएन । टोलीका सदस्यमा हाम्रो जोडीमात्र जागिरबाट निवृत भैसकेकोले फुर्सदिलो थियो । अरु जोडीहरुको कार्यालयमा बिदा मिलाउन पर्ने साथै नातिनातिना समाल्नु पर्ने कारणले समेत हम्मेहम्मे परिरहेको थियो । भान्जी अमेरिकाबाट नातीनातीना लिएर आउनु भएको हुँदा बैनी गँगा र जँुवाई साहेव सहभागी हुन सक्नु भएन । भगवानको कृपा मान्नु प¥यो । मलमास (पुरुषोत्तममास) लाग्नु अगाडि चार जोडीहरु यात्रा सम्पन्न गर्ने गरी तयारीमा लाग्यौँ । तदनुरुप २०८३ सालको वैशाख सत्र गते साईत तोकियो । तारा नेपाल दाइ, शान्ता भाउजु, गोबिन्द दाइ, चन्द्रकला भाउजु र भाइ नगेन्द्र अनि बुहारी सरस्वती काठमाडौबाट सुनोैली आउने सल्लाह भो । म र शान्ता पोखराबाट सुनौली पुग्ने तय भयो । 
    photo 1.jpg
    भैरहवा पुगेकै दिन त्यहाँ नअलमलिएर सोझै बेलहिया सुनौली पुग्यौँ हामी । सुनौलीमा रहेको ममता होटलमा पुगी एउटा कोठा बुक गरेर बस्यौँ । एक घण्टा पछि दाइ भाउजु र भाइ बुहारी पनि आइपुगे । सँगसँगै जय सियाराम ट्राभलका प्रमुख मोहितजीले व्यबस्था गरि दिनु भएका दुईवटा गाडीका ड्राईभर हामीलाई भेट्न होटलमा आइपुगे । स्नान र चिया पिएर हामी लगेज स्क्यान गर्ने चेक बिन्दुतिर लाग्यौैँ । होटलको साहुजी कमल घिमिरे पारिवारिक हिसावले तारा दाजुको नगिजको.नाताको हुनु हुँदो रहेछ । उहाँले कुनै शुल्क लिनु भएन । यात्राको शुभकामना दिनु भयो । होटलको बोर्डमुनी सामुहिक फोटो पोज लियौँ । धन्यवाद दिदै यात्राको गन्तव्य तर्फ लाग्यौँ ।
    दुईटा गाडीमा चार÷चार जनाको सवारी भयो । अयोध्या हुदै जाने हाईवेमा महमुद आलम गुरुजीले गाडी तेज गतिमा हुइँक्याए । बिचबिचमा कुराकानी पनि गर्दै गयौँ । उनी नेपाली बुझ्ने र नेपालको धेरै ठाँउ पुगेका रहेछन् । मानौँ कुनै नेपाली ड्राईभरसँग कुरा गरिरहेको आभास भै रह्यो । मसित एअरटेलको इन्डियन सिम थियो । सुनौलीमा समय मिलेन । चालिस किलोमिटर अगाडि लोटन भन्ने ठाउँमा पुगेर सिम एक्टीभेट गरियो । भारतिय रुपैयाँ तीन सय पचासको चार्ज गरेपछि एक महिना फोन र डाटा प्रयोग गर्न मिल्ने भयो । पन्ध्र दिनको यात्राभर सजिलो भयो ।
    सुनौलीदेखि लखनऊ चार सय किमी भन्दा बढीको दुरी हो । भारतकै सिद्धार्थगर जिल्ला हुँदै गाडी अगाडि बढ्यो । हुन त अयोध्या जाने रुट हो यो । तर बाइपास रोड भएकोले बजार ईलाका भन्दा बाहिरबाट रोड जाने भएकोले मुख्य बजारको अवलोकन गर्न भने पाइएन । बासी, बस्ती, गुम्ची, रुदौली, मुर्सिदावाद, नजिमाबाद हुदै अपरान्हतिर पुगियो लखनऊ । लखनौमा हामीले सम्पर्क गरेका ट्राभल्सका प्रमुख मोहितजी सँग भेट भयो । प्राविधिक कारणले यात्रा टिपोटमा भएको होटलमा बसाई नभै अर्को होटलमा बसाई हुन पुग्यो । तैपनि हाम्रो बसाई आनन्ददायक ने रह्यो ।
    प्राचीन समयमा लखनऊलाई लखिमपुर भनिदोरहेछ । पछि मुगल शासनकाल र अंग्रेज शासनकालमा अपभ्रंस भएर लखनऊ भन्न थालेको रहेछ । यो शहर भगवान रामका भाइ लक्ष्मणले बसालेको भन्ने रहेछ । लखनऊको उच्च स्थानमा लक्ष्मणटिला भन्ने ठाउँ रहेकोले विश्वास गर्ने मत रहेछ । साँझपखको समयमा बजार इलाका, विधान सभा भवन आदि घुम्यौँ । हाम्रो मन भने भोलिपल्ट बिहानै हरिद्वार जाने तयारी गर्न थाल्यो ।
    photo 4.jpg
     
    फर्किदा लखनऊ घुम्ने गरी वैशाख उन्नाइस गतेको बिहानै पाँच बजे ‘बन्दे भारत टे«न’ भेट्न रेल्वे स्टेसन पुग्यौ । बन्दे भारत हाई स्पीड ट्रेन रहेछ । प्रतिघण्टा एकसय असी किलोमिटरको गतिमा दुगुर्न सक्ने क्षमता रहेछ यसको । टिकट एग्जीक्यूटिभ क्लास र चेयर कार गरी दुई प्रकारको हुने रहेछ । एग्जीक्यूटिभ टिकटको मूल्य चेयरकारको भन्दा दोब्बर हुने रहेछ । चेयरकारको करिव तेरह सय भारतीय मुद्रा मूल्य प¥यो । बातानुकुलित डिब्बा, सरसफाईको व्यबस्था, आरामदायी सिट, पानी, चिया, नास्ता, खानाको व्यबस्था पनि राम्रै लाग्यो । छ घण्टामा हरिद्वार पुग्दा पनि कुनै मिच्याट लागेर आएन । 
    दिनको बाह्र बजे हरिद्वारमा ओर्लिदा अलौकिक स्थानमा पुगे जस्तो लागेर आयो । पन्ध्र सिटर गाडी लिएर पंजावी गुरुजी बिस मिनेट भित्रै हामीलाई पिकअप गर्न आइ पुग्नु भयो । रेल्वे स्टेशनको रमाइलो परिवेशलाई त्यतिञ्जेल आँखामा कैद गर्दै गयौँ । 
    गाडीको झ्यालबाट देखिएको गंगा नदीको स्वरुप र मठ मन्दिरको दृष्यावलोकनले मन आध्यात्मिक भावमा एकोहोरियो । हरिद्वार उत्तराखण्ड राज्यमा पर्ने समुंद्र सतहदेखि तीन सय चौध मिटर उचाईमा अवस्थित हिन्दुहरुको प्राचीन तीर्थस्थल हो । समुद्रमन्थनमा अमृतको थोपा ‘हर की पैडी’ मा रहेको ब्रम्हकुण्डमा खसेको मान्यता भएको हुनाले यहाँ हरेक छ÷छ बर्षमा अर्ध कुम्भ र बारह बर्षमा कुम्भ मेला लाग्छन् । मनसा देवी, चण्डी देवी, दक्ष प्रजापती मन्दिर लगायत साना ठुला हजारौँ मन्दिर रहेछन् पवित्र गंगा नदीको विशाल आँचलभित्र । यहाँबाट बद्रीधाम, केदारनाथ, यमुनोत्री र गँगोत्री जान नगिज पर्ने भएकोले यी धामहरुको प्रवेशद्वार नै मानिन्छ हरिद्वार । ब्रम्हा, बिष्णु, शिव तिनै भगवानको उपस्थितिले पवित्र बनेकोे नगरी हो हरिद्वार । नामैले पनि हरि भगवानको द्वार÷ढोका भन्ने बुझिन्छ । स्वर्गद्वार, मायापुरी, कुम्भनगरी, कपिल ऋषिको आश्रम भएकोले कपिलस्थान र गंगाद्वार आदि नामले चिनिने यहाँ ‘हर की पैडी’मा भगवान विष्णुको पदचिन्हलाई गँगाजीले स्पर्श गरिरहने रहिछिन् हरसमय । राजा भगिरथले आफ्ना साठी हजार पूर्वजको कल्याणको लागि गंगालाई स्वर्गबाट पृथ्वीमा ल्याएर आएका थिए भन्ने मान्यता छ । त्यसैले गंगाजलको स्नान मात्रले पनि सबै पापनाश हुने, मोक्ष प्राप्त हुने र स्वर्ग जाने धारणा हामी सनातनीहरुमा रहेको छ ।
    वैशाख उन्नाइस गते होटल लक्ष्यमा चेक ईन गरेपछि ट्राभल्सको गाडीमा घुम्न निस्कियौँ । पहिले विल्ब पर्वतमा रहेको सिद्धपीठ मनसादेवी मन्दिर जान केवलकार तर्फ मोडियौँ । यहाँ मनले ईच्छा गरेको पुग्ने मान्यता रहेछ । ईच्छा गरी धागा बाँध्ने र ईच्छा पुगेपछि धागा फुकाउन जाने चलन पनि रहेछ । टिकट काउन्टर पुग्दा साधारण टिकटले तीन घण्टा पर्खन पर्छ भनेपछि खिस्रिक्क परियो । ‘भिआईपी मे जल्दी होगा’ भन्दै थिए । हामी बढी चार्ज तिरेर जाने पक्षमा थिएनौँ । पैदलनै उकालो लाग्यौँ । नगिजै देखिए पनि सवा घण्टा बढी समय लाग्यो । मन्दिर केही उचाईको पहाडमा रहेछ । भारतमा जहाँ गए पनि भिडभाड मात्र हुने । त्यहाँ पनि भिड त्यस्तै थियो । देवीको गर्भगृह एउटै भए पनि पाण्डाहरुले धेरै स्थानमा पूजा गर्न लगाउने र भेटी तोकेर भन्ने कुरा कत्ति चीत्त बुझेन । सबैतिर त्यस्तै समस्या आइहाल्छ । पण्डाहरुका कुरापट्टि ध्यान नदिएर हामी देवीमाताको पूजा अर्चना गरी आशिर्वाद लिएर फर्कियौं । चण्डीमाताको दर्शन गर्न समयको अभावले जान सकिएन । ‘हर की पैडी’मा गँगा आरती हेर्ने र गंगा नदी माथिका बाँध पुलका संरचना अवलोकन गर्न लागियो । बाटोमा पर्ने देवस्थलको दर्शन गर्दै हरिद्वारका दृष्य केही आँखामा, केही मोवाइलमा कैद गर्दै गंगा आरती हुने स्थान तर्फ सोझियौँ । श्रद्वालुको जनसागर उर्लिएको थियो । खुट्टा राख्ने ठाउँ सम्म थिएन । सनातनप्रतिको यस्तो आस्था देखेर मन गर्वले फुलेर आयो । निकै बेरसम्म हामीले आफूलाई गँगाआरतीको झङ्कारमा डुबाइरह्यौँ ।
    photo 3.jpg
      भोलिपन्ट बिहानै गंगा स्नानको लागि फेरि उही स्थानमा आइपुगियो । यति धेरै स्नानका क्षेत्र भएपनि भिड भने निकै बढी थियो । स्नान गर्न पनि पालो कुर्नु प¥यो । पवित्र जलमा स्नान गर्दा छुट्टै अनुभूति भैरह्यो । स्नानबाट नै माता गंगाको आशिर्वाद पाएको अनुभूति भयो । मन चङ्गा भैरह्यो । गंगालाई धुपबत्ती आरती गरेपछि पितृ उद्वार हेतु तर्पण दियौँ । मनका दुःख गंगाजीमा बिसाई कृतार्थ हुँदै फर्कियौँ । आत्मिक सुखले दिनभरी मन विभोर भैरह्यो ।
    आज आइतबारको दिन । गंगास्नान र तर्पणपछि होटलमा ब्रेकफास्ट ग¥यौँ । चेकआउट ग¥यौँ । आजको गन्तव्य उत्तरकाशी जिल्लाको बारकोट भनिने बडकोट तर्फ लाग्यौँ । १७५ किमी दुरी तय गर्न गाडीले आफ्नो लय समात्यो । हाम्रो यात्रा धार्मिक सहित पर्यटन पनि हो । बाटोमा मनै लोभ्याउने भुगोल देखिन थाले । झ्यालबाट हेर्दा गाडीको तालमा टाढाका पहाडहरु नगिजै आँखैनिर आइपुगेका देखिन्थे । देहरादुन क्षेत्र प्रवेश भयो । उत्तराखण्डको प्रदेश राजधानी देहरादुन नै हो । देहरादुन, टिहरी गढवाल हुदै उत्तरकाशी जिल्ला पुगिने रहेछ । टिहरी गढवालबाट भित्र पसेपछि ठुलाठुला महाभारत पर्वत देखिए । पहाडका खोँचहरुमा कतैकतै पातला बस्ती पनि देखिए । बाटोमा ट्राफिक जाम भैरहने समस्याले हायलकायल पारिरह्यो । साँगुरो बाटोमा अत्यास लाग्दो यात्रा भयो । मनले उत्तराखण्ड यस्तै रहेछ भन्ने मानक बनायो । यमुना नदीलाई घरी दाँया घरी बाँया पार्दै गाडी गुडिरह्यो । 
    कालिकोट जिल्लातिरका सुख्खा पहाड झैं देखिए कतैकतै त । अगाडि बढ्दै जादाँ गाँउ बस्ती बाक्ला र बजारहरु देखिन थाले । नौगाँउ, बारकोट बजारमा मुङ्लीनमा झै होटलहरु देखिन थाले । बारकोटभन्दा अगाडि एक घण्टा लाग्यो होटलसम्म पुग्न । बाटोमा हनुमानचट्टी, नारदचट्टी, स्यानाचट्टी, रानाचट्टी आदि नाम देखिए । बेलुका आठ बजेतिर कालिन्दी पर्वत रिसोर्ट पुगेर गाडीले विश्राम लियो । ट्राभल्सले राम्रै रिसोर्टको व्यबस्था गरेको रहेछ । बारकोट बजार ठुलै लाग्यो । पोखराको लेकसाईडका होटलहरुझैं होटलका ताँती नै ताँती रहेछन् यहाँ पनि ।
    भोलिपल्ट बिहानै चाहिने कपडा र सरसामान सानो ब्यागमा राखेर अगाडि बढ्यौ । जानकीचट्टी पुगेपछि गाडी रोकियो । यहाँ बासको लागि होटलहरु पनि प्रशस्त रहेछन् । यहाँबाट यमुनोत्रीको दुरी छ किमी रहेछ । घोडाबाला, पिठ्यमा बोक्ने डोकोबालाहरुले जान आग्रह गरिरहे । हामीले यो दुरी पैदलै तय गर्ने निर्णय ग¥यौँ । धेरै मानिसको भिडमा सँगसँगै यात्रा गर्न रमाइलो नै हुने रहेछ । बाटोमा हिँड्दा घोडाले भने डिष्टर्व गरिरहे । बिस्तारै हिँड्दा पनि एक बजेतिर पुगियो यमुनोत्री । सौभाग्यवस दिन राम्रो प¥यो । बर्षात भएन ।
    photo 2.jpg
    यो भारतको उत्तराखण्ड प्रदेश हो । उत्तराखण्डको तिब्बतसित जोडिएको उत्तरकाशी जिल्लामा पर्छ यमुनोत्री । हिमालयको काखमा बसेको यो मन्दिर ३१८५ मिटरको उचाईमा छ । यमुना नदीको उद्गमस्थल हो यो । यहाँ देवी यमुनाको प्राचीन मन्दिर छ । यम र यमुना भाइबहिनी भएकोले यहाँको दशर्नले मृत्युको भय रहँदैन भनिन्छ । यसलाई चारधामको एक धाम मानिन्छ । यहाँको सूर्यकुण्ड, दिव्यशीला र विष्णुकुण्डको स्पर्शले मात्र पनि पापबाट मुक्त भइन्छ भन्ने मान्यता छ । पानी नब्बे डिग्रीसम्म तातो हुने रहेछ । कपडामा चामल र आलु पोको पारेर तातो पानीमा डुबाएपछि पाकेकोे चामल नै प्रसाद मानिनेरहेछ । हामीले कुण्डमा डुबुल्की लगायौँ । भगवानका मूर्तीहरुमा पुजा ग¥यौँ । देखिएका देवमूर्तीहरुमा मस्तक निहुरायौँ । मैले स्वर्गिय मातापिताको फ्रेमिङ्ग फोटो चारैधाम र अन्य तिर्थस्थलमा अभौतिक रुपले भए पनि मार्गदर्शन गराउन लगेको थिएँ । भौतिक रुपमा संगसंगै तीर्थ गर्न नपाएको हुँदा मन सधै दुःखी थियो । यमुना नदीमा पितृहरुलाई तर्पण दिने काम ग¥यौँ । गोविन्ददाइ पछिल्तिर छलिए जस्तै हुनुभएकोले एक घण्टा जति कुर्नु प¥र्यो । श्रद्वालुहरुको यस्तो भिड थियो कि जताततै ठेलमठेल थियो । घोडाको लादी, त्यसमाथि सिमसिम पानी, कतै बसेर खाजा खाउँ भन्दा पनि दिगमिग लागिरह्यो । छ किमी फेरि पैदलै फर्कियौं । पmिर्कदा सिमसिम पानी परिरहेको थियो । बर्साती अनिवार्य रहेछ । बेलुकाको बसाई बारकोटको उही रिसोर्टमै भयो ।
    वैशाख २२ गते बडकोटबाट उत्तरकाशीतर्फ जाने दिन । बडकोटबाट उत्तरकाशीको दुरी हो १३५ किलोमिटर । बाटोमा शिवगुफाको दर्शन गरियो । एउटा टनेलबाट गाडीमा अगाडी बढ्यौँ । यस्तो टनेल पहिरो धेरै आउने क्षेत्रमा बनाइने रहेछ । आजको बसाई होटल पोष्परिटीमा हुने भो । चेक ईन गरी बजारमा रहेको काशी विश्वनाथको मन्दिर गयौँ । मन्दिर भव्य लाग्यो । दर्शन गर्न लामो लाईनमा बस्नु पर्यो । यो ऐतिहासिक धार्मिक तथा साँस्कृतिक शहर लाग्यो । यहाँको बजार पनि ठुलै रहेछ ।
    वैशाख २३ गते बिहानै गँगोत्रीको निम्ति प्रस्थान गरियो । उत्तराखण्डको उत्तरकाशी जिल्लामा पर्ने गंगोत्रीको दुरी उत्तरकाशीबाट एकसय किलोमिटर छ । ३१०० मिटर उचाईमा रहेको तीर्थस्थल हो यो । बाटोमा जाँदा अग्लो स्थान सुकेटापमा एकछिन रोकिएर बिसाई फेर्दै फोटो लियौं । यो भागमा उभिदा हिमालको काखमै पुगेझै लाग्यो । त्यहाँबाट झरेपछि.हर्सिल भ्यालीमा गाडी दौडिरह्यो । कतैकतै सडक एकतर्फीं रहेछ । यहाँबाट बग्ने नदीलाई भागिरथी भनिन्छ । भागिरथी नदी गंगाजीको मूल धारको रुपमा चिनिन्छन् । राजा भगिरथले तपस्या गरेर पृथ्वीमा ल्याएकोले यिनलाई भागिरथी भनिएको हो । गंगाको उद्गमस्थल गंगोत्री देवप्रयागमा अलखनन्दासंग संगम भएपछि गंगाको नामले पुकारिन्छन्  । ३१०० मिटरको उचाइमा रहेको गंगोत्री मन्दिरको निर्माण गोर्खा कमाण्डर अमरसिंह थापाले १९ औं शताब्दीमा गराएका हुन् । जुन प्यागोडा शैलीमा थियो । वर्तमान मन्दिर जयपुरको राजपरिवाबाट निर्माण भएको रहेछ । वैशाख अक्षय तृतियादेखि कार्तिक महिनासम्म दर्शनार्थीहरुको घुइँचो लाग्छ यहाँ । 
    गंगा स्नानपछि नदी किनारामा पितृहरुलाई तर्पण दियौँ हामीले । त्यसपछि मन्दिर दर्शन गर्न पङ्क्तिवद्ध भयौँ । यहाँ पनि लामो लाईनमा बसेर मात्रै दर्शन गर्न पाइयो । यहाँ श्रृङ्गार सामाग्री, रातो चुनरी, साडी र फलफुल चढाइने रहेछन् । मन्दिरको गर्भगृहमा माता गंगा सहित, यमुना, सरस्वती, अन्नपूर्णआदि देवीका मूर्तीमा पालैपालो शिर निहु¥यायौँ । मन प्रफुल्ल भएर आयो । पर्वतहरुले हिउँको घुम्टो ओढेको, नदी किनारका श्वेत पत्थर, नदीको पानी पनि कमेरो मिसिएको झैं सेतो । यो स्थान श्वेत रङ पोखिएको उज्यालो प्रकाशमय लाग्यो ।ं मध्यान्हको घामको प्रकाशमा परिवेश अतुलनिय देखियो । मन अति मुग्ध भयो । गंगोत्रीमैँ खाजा खाइवरी उत्तरकाशी नै फर्कियौँ । ट्राफिकको कारणले दुई किलोमिटर जति हिड्नु प¥यो । उत्तरकाशी फर्किएर बास बस्यौँ हिजोकै होटेलमा ।
     
    photo 6.jpg
       
    वैैशाख २४ गतेको दिन गुप्तकाशीको यात्राको लागि निर्धारित गरियो । नेपालकै डाँडाकाँडा हिँडेझै लाग्यो । एक दुई डाँडाहरुले त पन्चासेको झल्को दिए । गुप्तकाशीबाट उत्तरकाशी दुई सय किलोमिटर टाढा रहेछ । बाटोमा चिन्याली सौड, धरासु ब्याण्ड, टिहरी ताल, धनसाली, चिरवाटिया, रुद्रप्रयाग, अगस्त्यमुनि, तिलकवाडा, मयकुण्डी आदि स्थान भेटिए । धनसाली व्यापारिक केन्द्र र विश्राम स्थल रहेछ  । यात्रुहरु खाना र खाजाको लागि रोकिने रहेछन् यहाँ । अगस्त्यमुनि भन्ने ठाउँ महर्षि अगस्त्यको तपोभूमिको रुपमा प्रसिद्व रहेछ । चीरवाटिया हिल स्टेसन, हिमालको दृष्य हेर्न र प्राकृतिक सुन्दरताको लागि अनुपम लाग्यो । तीलवाडा मन्दाकिनी नदीको किनारमा रहेको केदारनाथ यात्राको लागि आरम्भ स्थल हो । गुप्तकाशीमा विश्वनाथ मन्दिर, अर्धनारिश्रवर मन्दिर, मणिकर्णिका कुण्ड, उखिमठ, कालीमठ, त्रियूगिनारायण आदि मन्दिर छन् । पौराणिक मान्यता अनुसार महाभारतको युद्व सकिएपछि पाण्डवहरु गोत्रहत्याको पापबाट मूक्ति पाउन शिवलाई खोज्दै यहाँ आएका रहेछन् । शिवजी उनीहरुबाट लुक्नको लागि अदृष्य भएको ठाँउ भएकोले गुप्तकाशी नाम रहेको हो भन्ने भनाई सुनियो । मन्दाकिनी केदारनाथ क्षेत्रबाट उत्पत्ति भएर बग्दै आउँछिन् । गुप्तकाशी तिनै मन्दाकिनी नदीको किनारमा थपक्क बसेर आस्थाको अलख जगाइरहेको छ । 
    वैशाख पच्चिस गते बिहानै गुप्तकाशीबाट केदारनाथतर्फ लागियो । सोनप्रयागसम्म गाडीले पु¥याइदियो । त्यहाँबाट पनि दुई किलोमिटर अझै बढी हिँड्नु प¥यो । बाटोमा बाजुरा घर भएका एकजना नेपालीभाइ भेटिए । उनको दाइका घोडा रहेछन् । यो याममा उनीहरु घरका सबै मिलेर ब्यापारमा सहभागी हुने रहेछन् । काठमाडौमा पनि उनीहरुको व्यबसाय छ भने । गफ गर्दै फोन नम्बर पनि लियौँदियौँ । उनको घोडामा जाने मौन सम्मती पनि दियौँ । 
    चेकजाँच र यात्रुहरुको यात्रा अनुमतिको क्यूआर स्क्यान भयो यहाँ । अनुमतिपत्र मोवाइलमा र प्रिन्ट गरी लैजादाँ सजिलो हुने रहेछ । हरिद्वारबाट हिँडेपछि चेकचाँच भैरहेको थियो । स्क्यान गरेपछि अझै केहीबेर हिँड्नु प¥यो र बल्ल भेटियो पुल । पुल पार गरेपछि गौरीकुण्ड जाने जीप स्टेसन फेला प¥यो । जीपले ड्रप गरेको ठाँउबाट गौरीकुण्ड निकै माथि नै रहेछ । त्यहाँबाट पनि घोडा चढ्ने ठाउँ अझै माथि रहेछ । हामी गौरीकुण्डमा स्नान गरी अगाडि बढ्यौं । त्यहीबाट ९५०० मा भाइ नगेन्द्रलाई दुई जनाले बोक्ने गरी पिठ्यूको बन्दोबस्ती ग¥यौँ । हामी घोडाको ब्यबस्थाको लागि प्रति घोडा ३००० शुल्क बुझाउन काउन्टरमा पुग्यौँ । सात जना घोडामा लागियो । म अगाडि थिएँ । केदारनाथ सम्मको यात्रा मेरो लागि एडभेन्चर भन्दा माथि थियो । घोडालाई केटाहरुले पिटेरै भएपनि दौडाई रहे । खाना खाने ठाउँ बाहेक कतै बिश्राम लिएनन्  । छिटोनै केदारनाथमा पु¥याइदिए । भाइ पनि सँगसँगै पुगेकोले मन्दिरतर्फ अगाडि बढियो । बाटोमा अनुमतिपत्र स्क्यान गरियो । उनीहरुले मन्दिर दर्शन गर्ने समय उल्लेख भएको स्लिप आठ थान थमाए ।
     
      फाटा, गुप्तकाशी र सिरसीबाट पनि केदारनाथसम्मको लागि हेलीकप्टरको सुविधा रहेछ । हाम्रो पहिले बुकिङ पनि थिएन । हेलीकप्टरको महिनौ दिन अगाडि बुकिङ हुने रहेछ । हेलीकप्टरमा आएको भए बाटोको यो आनन्द कहाँ बटुल्न पाइन्थ्यो र ? कुनै पश्चाताप लागेन, खुसी लाग्यो । श्रीमती शान्ताले यात्रामा घोडामा जान सकिदैन हेलीको ब्यबस्था गर्न गुनासो गरिरहेकी थिइन् । केदार पुगेपछि उनको पनि त्यो गुनासो रहेन । सबै खुसीनै भए । घोडाको शुल्क स्मरणै भएन ।
    रुद्रप्रयाग जिल्लामा अवस्थित ३५८४ मिटरको उचाईमा रहेका केदारनाथ मन्दिरमा त्रिकोणिय शिवलिङ्ग स्वरुपमा विराजमान हुनुहुन्छ भगवान शिव । यहाँ सन् २०१३ मा ठुलो बाढी र पहिरो आएको थियो । धेरै धनजनको क्षति भएको थियो । भीमशीलाले मन्दिरलाई बचाएको रहेछ । यहाँ भगवान शिवको पिठको पूजा हुन्छ । शिरको भाग पशुपतिनाथमा छ भन्ने धारणा छ । हिमालयमा भएको कारणले सबै ज्योर्तिलिङ्गमा यो सर्वोपरी मानिन्छ । 
    केदारनाथ मन्दिरको पूजा अनुष्ठान शैव पद्वति अनुरुप कर्नाटकका पुजारीद्वारा हुने परम्परा छ । हजारौँ वर्ष पहिले कत्युर शैलीमा विशाल गे्रनाईट र पत्थरको इंटरलाकिङ् प्रविधिले मन्दिर निर्माण भएको हो । मन्दिरभित्र पाण्डव, द्रौपदी र श्रीकृष्णका मूर्ती छन् । पौराणिक कथा अनुसार महाभारत युद्वपछि पाण्डवहरु प्रायश्चितको लागि शिवजी खोज्दै यहाँ आएका र पहिलो मन्दिर उनीहरुले नै बनाएको मान्यता छ । पछि यसको जिर्णोद्वार आद्यशंकराचार्यबाट भएको रहेछ । छ महिना हिउँदको समयमा बन्द हुने र त्यस समयमा अखण्ड दीप बालेर छोडिने रहेछ । छ महिना पछि ढोका खोल्दा बत्ति बलिरहेको पाइने रहेछ । हिँउदको मौसममा भैरवनाथले यस क्षेत्रको रक्षा गर्छन् भन्ने मान्यता रहेको छ । 
    चारैतिर हिँउले ढाकेका त्रिशुल स्वरुपका हिमालहरु छन् । त्यसमा केदारनाथ चुचुरो, खर्च कुण्ड, भरतकुण्ड नामका अरु अग्ला हिमाल पनि देखिए । सूर्यको किरण हिमालमा ठोक्किएर आउने परावर्तनीय प्रकाशले यो स्थान अलौकिक बनाउने रहेछ । यस स्थानमा पुग्दा छुट्टै भावहरु उत्पन्न भएको अनुभूत भयो । केदारनाथको नगिजैबाट बगेकी कञ्चन मन्दाकिनीको रुद्रप्रयाग पुगेर अलखनन्दासँग संगम हुन्छ ।
    बिहान स्नान गरेर दर्शन गरौंला भनेर लाईनमा बसिएन । मन्दिर परिसर र आद्य शंकराचार्यको प्रतिमा अवलोकनमा लागियो । फोटो खिच्ने, मन्दिर आरती र घुमघाममा समय बितायौँ । अनि होटलमा आएर रेष्ट गरियो । त्यसो गर्न हुने रहेछ । भिडभाड हुने तीर्थस्थलमा उपयूक्त समयमै दर्शन गरी भ्याउनु पर्ने रहेछ । भोलिपल्ट त आठ घण्टा नै लाईनमा उभिनु प¥यो ।
    हामी राती चार बजे नै तयार भएर पङ्क्तिमा उभिन पुग्यौँ । त्यहाँ पङ्क्ति लामो भैसकेको रहेछ । पङ्क्तिबद्ध हुने ठाउँ व्यबस्थित रहेछ । घाम पानी चिसोबाट जोगिने गरी बनाइएको रहेछ । पङ्क्तिबद्ध अवस्थामै निदाउने अवस्था पनि आयो । बल्ल एघार बजेतिर शिवलिङ्गको स्पर्श सहित दर्शन भयोे । मन प्रफुल्ल भएर आयो । बाहिर धुप बत्ति गरियो । बाह्र बजेतिर आदिदेव केदारनाथलाई प्रणाम गर्दै त्यहाँबाट फर्कियौँ । 
    फर्किदा सात जना पैदल आयौँ । शान्ता आचार्य भने घोडामा सवार भएर झर्नु भयो । उक्लिदा जस्तो ओर्लिदा असजिलो भएन । गौरीकुण्ड पुगेपछि भने जीपको लागि लामो लाईन लाग्नु प¥यो । अत्यधिक ट्राफिक जाम र बढी पैदल हिँडाईले गर्दा होटल पुग्न रातको बारह बज्यो । भोलिपल्ट बद्रीनाथधाम जानु थियो । त्यसैले निदाउने प्रयासलाई जोड दिइयो ।
    बैशाख २७ गते आइतवारको दिन । अघिल्लो आइतबार हरिद्वारमा गंगास्नान गर्दै थियौँ । आज भने गुप्तकाशीबाट बद्रीनाथको लागि प्रस्थान गर्दैछौँ । बद्रीनाथधाम पुग्न यहाँबाट हामीलाई तय गर्नु पर्ने छ पुगनपुग दुई सय किलोमिटरको दुरी । मनभरि अनगन्ती जिज्ञासा बोकेर बिहानै प्रस्थान गरियो । उस्तै साँगुरा पहाडी सडक, उस्तै घुमाउरा घुम्ती, डरलाग्दा कराला, भिराला, कतै हरिया कतै नाङ्गा पहाड, उत्तरतिर उभिएका सेता हिमालले यात्रा रमाइलो भैरह्यो ।
    घाम अस्ताउनु अघि नै पुग्यौँ बद्रीनाथधाम । अलखनन्दाको नदी किनारमा रहेको बद्रीनाथ चमोली जिल्ला पर्छ । यो समुद्र सतहबाट ३१३३ मिटर उचाईमा छ । यो मन्दिर बैशाखबाट खुल्ने र जाडोमा कार्तिक ÷मंसिरमा बन्द भई भगवानको मूर्तीलाई जोशीमठस्थित नरसिंह मन्दिरमा ल्याई प्रतिस्थापित गरेर पूजा गर्ने चलन रहेछ । नर नारायण नामक दुई पर्वतको बिचमा रहेको यस धाममा भगवान विष्णुले भगवान शिवको तप साधना गर्नु भएको मानिन्छ । भगवान विष्णुले तप ध्यान गर्दा माता लक्ष्मीले बदरी (बयर) को बृक्ष भै घामपानी हिँउबाट जोगाउन छाया दिनु भएकोले बद्रीविशाल नामले पनि पुकारिन्छन् यहाँ भगवान विष्णु । यहाँ मन्दिरभित्र तप ध्यान मुद्रामा तपस्यारत भगवान विष्णुको विग्रह छ । यो विग्रह शालिग्रामबाट निर्मित हो । 
    हामीले सर्वप्रथम तप्तकुण्डमा स्नान गरी ब्रह्मकपालीमा पितृ श्राद्व तर्पण अनि होम आदि कर्म ग¥यौँ । पन्डाहरुको यहाँ पनि ज्यादती नै देखियो । पितृकर्म पछि भगवान बद्रीविशालको दर्शनको लागि पङ्क्तिबद्ध भयौँ  । भीड यहाँ पनि अति धेरै हुने रहेछ । हामी पङ्क्तिबद्ध हुँदा मानछेहरुको पङ्क्ति नै चार पाँच किलो मिटर लामो परैसम्म लामो देखियो । मन्दिरभित्र पसेर बद्रीविशाल नामका विष्णु रुपको दर्शन ग¥यौँ हामीले पनि । 
    दर्शन गरेर बाहिर निस्किएपछि मन चंगा भएर उड्न थाल्यो । एकछिन बजारमा छरियौँ । यहाँबाट शीला, बैजयन्तीमाला, तुलसीमाला र हातले बुनेका ऊनको कपडा लैजाने चलन छ । हामीले पनि केही किन्यौँ । भोलिपल्ट एघार बजेसम्म बद्रीधाममा पूजा अर्चना तथा बजारको अवलोकन गरी बितायौँ । होटलको नास्ता पछि बेलुकाको गन्तव्य श्रीनगरलाई बनाएर हिड्यौँ । 
    अलखनन्दा नदीको छेवैछेउ फेरि उही बाटो फर्कियौँ तर अनुभूति भने नयाँनयाँ भैरह्यो । यतातिर हरेक नामका पछाडि प्रायः प्रयाग प्रत्यय लागेको पाइयो । दुई वा दुईभन्दा धेरै नदीको संगम हुने ठाउँलाई प्रयाग भनिदो रहेछ । विष्णु प्रयागमा अलखनन्दाको धौलिगंगासंग संगम हुन्छ । नन्दप्रयागमा अलखनन्दामा मिसिन आइपुग्छिन् नन्दाकिनी । कर्णप्रयागमा पिन्डर नदीसित संगम भएपछि अलखनन्दा रुद्रप्रयागमा मन्दाकिनीसंग संगम गर्न पुग्छिन् । देवप्रयागमा अलखनन्दाको भागीरथी नदीसंग सँगम भएपछि नाम फेरिएर हुन्छ गंगाजी । हामीले पन्च प्रयागकै दर्शन ग¥यौँ । बाटोमा जोशिमठ र नदीको बिचमा गएर धारिदेवी माताको मन्दिर दर्शन अवलोकन पनि भयो ।
    photo 7.jpg
        
    बद्रीनाथधामको आदि शंकराचार्यद्वारा पुर्नरोद्धार गरिएको मानिन्छ । साँच्चै बैकुण्ठ जस्तै लाग्ने यस धाममा एकरातको बसाईले धीत मरेन । केही दिन बसौबसौ झैं लागिरह्यो । तर हामी गाडी रिजर्भ गरेर गएको हुनाले निश्चित समयमै हिड्नु परिहाल्यो । 
    फर्केर नेपाल आएपछि धेरैले मानागाउँ पनि गयौ त ? भनेर सोधे । त्यो तिब्बत सिमानाको अन्तिम गाउँ रहेछ । त्यहाँ ब्यास गुफा, गणेश गुफा रहेछन् । यही बसेर ब्यास ऋषिले भगवान गणेशको सहयोगले महाभारत र अठार पुराण रचना गरेको जनबिश्वास छ । सरस्वती पुलमाथि बिशाल ढुङ्गाको पुल रहेछ । त्यसलाई भीमपुल भनिने रहेछ ।
    श्रीनगरमा रात बिताएपछि हाम्रो चारधाम यात्रा टुङ्गिने बेला पनि हुन लाग्यो । तर आँखा र मनले उत्तराखण्डलाई छाडेर जान मानेके छैन । अल्छी मानीमानी श्रीनगरबाट हरिद्वारतर्फ लागियो । एकसय पैतिस किलोमिटरको यो यात्रामा अन्तिममा दर्शन देवप्रयागको भयो । गंगोत्रीबाट आउने भागिरथी नदी र बद्रीनाथबाट आउने अलखनन्दा नदीको संगमको सौन्दर्य अपरिमित लाग्यो । यहीँबाट नदी गँगाको नामले बग्ने रहेछिन् । 
    देवप्रयागबाट हिडेर ऋषिकेशमा पनि एकाध घण्टाको समय खर्चेर यत्रतत्र डुल्यौँ । गंगाजी पहाडबाट तराईमा ओर्लिने ठाउँ हो यो । लक्ष्मणझुला, रामझुला र गंगाको विशाल रुपको दर्शन ग¥यौँ । चारधामको प्रवेशद्वार पनि हो यो । योग र ज्ञानको यो भूमि मनमोहक लागेर आयो । एकै हेराईमा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वको यो पवित्र स्थान मन्दिरहरmकोे शहर झँै लागिरह्यो । पिताजी विद्यार्थीकालमा यति टाढा पुग्नु भएको रहेछ भनि गर्व पनि लागेर आयो । हरिद्वार पुगुञ्जेलसम्म पिताजी र ऋषिकेशका बिम्बहरु मनभरि सलबलाइरहे । म कता हराएँ, हराएँ । हरिद्वार पुग्दै गर्दामोबाइलको म्यासेन्जरमा नेपालगन्जबाट खगेन्द्र गिरि ‘कोपिला’ को कल आएपछि पो झसङ्ग भएँ म र यथार्थमा फर्किएँ ।
    आज १२ मई नेपाली पात्रो अनुसार वैशाख २९.गते । हामीलाई डेड हप्तासम्म डुलाउने गाडीसित बिदा भएर रेल चढ्ने दिन । हरिद्वारबाट ३.३६ बजे छुट्ने बन्दे भारत रेलमा लखनऊसम्म जाने टिकट पहिले नै निर्धारित भैसकेको छ । उनै पंजावी गाडी चालकले रेल्वे स्टेशनमा हामीलाई ड्रप गरिदिए । नौ दश दिनको यात्रामा उनले यही स्थानबाट सवारी चलाएर सकुसल यहीँ ल्याइ पु¥याए । उनलाई धन्यवाद र सुटुक्क केही पत्रम्पुष्पम् गरेर बिदावादी भयौँ । उनको ड्राईभ प्रशंंसनिय थियो । फ्रेण्डसिप त्यति नहुने औपचारिक थिए उनी । उनको सहयोग पनि मनभित्र मीठो सम्झना बनेर बसिरह्यो ।
    हरिद्वारबाट हिडेपछि रात नपरुञ्जेलसम्म आँखाले हेरिरहे वरपरका दृश्यहरु । यी आँखा त जति हेरे पनि नअघाउने रहेछन् । रात पर्दै गएपछि हामी पनि सुस्ताउन थाल्यौँ । बेलुकाको खाना रेल्वेले नै सर्भ ग¥यो । आरामदायी रुपले सात घण्टाको यात्रा निदाउने बिँउझिने गरेर बित्दै गयो ।
    लखनऊमा ट्राभल्सका मोहितजीले स्वागत गर्नु भयो हाम्रो । हाम्रोलागि स्तरिय होटलमा बसोवासको ब्यबस्था गर्नु भएको रहेछ । उहाँले हाम्रो यात्राको बारेमा जानकारी लिनु भयो । भोलिपल्ट लखनऊ घुमघामको ब्यबस्था गरी उहाँ फर्किनु भो । बिहान हामी ब्रेकफास्ट गरी होटलबाट चेकआउट गरी भ्यानमा लगेज राखेर बजार डुल्न गयौँ । छोटा इमामबाडा, बडे इमामबाडा, हजरतगंज र भुलभुलैयाबजारको अवलोकन सरसर्ति गरियो । यी पुराना संरचना मुगलकालका रहेछन् । भुलभुलैयामा भने रमाईलो लागेर आयो । लामो समय गोमतीनगरमा रहेको बाबा साहेब भिमराव अम्बेडकर पार्कमा बितायौँ । मानव निर्मित यो पार्कमा हात्तीहरुका विशाल प्रतिमा आकर्षक लागे । भारतका संविधान निर्माता भीमराव अम्बेडकरको प्रतिमा पनि रहेछ । उनको सम्मानमा मायावतीले उत्तर प्रदेशको मुख्यमन्त्री हुँदा निर्माण गरेकी रहेछिन् यो पार्क । धेरै स्थान घुम्न नसकेपनि केही स्थान घुमियो । 
    चौध दिनको यात्राले शरीर थाकेको भए पनि मनको जिज्ञासा भने चैतन्य नै छ । भोलिपल्ट त यात्राको बिट मार्नु छ । यात्राको तालिका अनुसार खानपिन गरी बेलुका गोरखपुर जान भनेर रेल्वे स्टेशनतर्फ लाग्यौँ । स्लिपर रेलको पनि अनुभव गरियो । बिहान ट्राभल्सको गाडीले स्टेसनबाट पिकअप गरी सुनौली ड्रप गरिदिए । नेपालको सिमाना पुगेपछि घर पुगे झैं मन फुरुङ्ग भएर आयो । गोरखपुरमा गोरखनाथ बाबाको दर्शन गर्ने ईच्छा थियो । रुट फरक परेकोेले त्यो अवसर मिल्न सकेन ।
    सुनौली ममता होटलमा केहीबेर सुस्ताई हाम्रो जोडी पोखरातर्फ लाग्यो । दाजु भाउजुहरु र भाई बुहारीका जोडीहरु काठमाडौतर्फ लाग्नु भयो । घर पुग्दासम्म चारधामका दृष्यहरु मष्तिस्कमा डुलिरहे । हाम्रा पुर्खाहरुले आर्जेको भूमी अनि सुगौली सन्धिमा गुमेको पीडाले पनि चिमोटिरहे । केदारनाथ र यमोनोत्रीमा श्रद्वालुको भीड । पैदल यात्रा अनि घोडाको सवारी । पिठ्यु र पाल्कीको सवारीमा बजेको नेपाली गीत सँगीत । नेपाली श्रमिकको आँसु र पसिना । नेपालमा गठन भएको नयाँ सरकारप्रति उत्तराखण्डमा काम गर्न गएका नेपालीहरुको आशा र भरोसा । जीजिविषाको म्याराथुन दौड । यी सबै कुरा चलचित्रका दृश्यझैँ रिल बनेर उर्लिरहे मनभित्र । 
    बालेन सरकारप्रतिको उनीहरुको भरोसामा पालुवा पलाओस् । यही प्रार्थनाका भाव राख्दै भगवान श्रीकेदारनाथ र श्रीबद्रीनाथका चरणमा कोटीकोटी प्रणाम गरेर नवविवाहित जोडिजस्तै भएर घर फर्कियौँ म र शान्ता ।
     
    —०—
    (पोखरा)
     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend