काठमाडौँ, ३ फागुन : राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ वार्षिकोत्सवका अवसरमा रासस कर्मचारी सङ्घले ‘प्रतिभा प्रस्फुटन’ कार्यक्रम आयोजना गरेको छ । रासस परिसरमा आज आयोजित कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहित राससका विभिन्न महाशाखा र विभागीय प्रमुख, पत्रकार कर्मचारीले आ–आफ्ना प्रतिभा प्रस्तुत गर्नुभयो । कार्यक्रममा कविता, हाइकू, ‘क्यारिकेचर’, गीत र नृत्य प्रस्तुत गरिएको थियो । त्यस अवसरमा कार्यकारी अध्यक्ष झाले राससको समाचार सेवालाई, विश्वसनीय र गुणस्तरीय बनाउने प्रयास गरिएको बताउनुभयो । विगतमा राससका अग्रजहरुले हरेक कालखण्डमा नयाँ कामको थालनी गर्नुभएको र वर्तमान व्यवस्थापनले पनि फरक ढङ्गले राससलाई अझ गतिशील बनाउने प्रयासमा आफू लागेको बताउनुभयो । कार्यकारी अध्यक्ष झाले राससको ६३ वर्षे आरोह अवरोहमा सीमित स्रोत, साधन र विभिन्न चुनौतीकाबीच पनि संस्थाले अपेक्षित परिणाम हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी सङ्घसङ्गठन जति सक्रिय हुन्छन् संस्था पनि उत्तिकै गतिशील हुन्छ । संस्थाको प्रगति र हितका लागि भइरहेका सिर्जनात्मक कामले संस्थालाई जीवन्त राख्न यस्ता कार्यक्रम उपयोगी हुन्छन् । ” महाप्रबन्धक राईले राससको श्रीवृद्धिका लागि राससमा क्रियाशील सङ्घसङ्गठनले सक्रिय भूमिका निवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राससको समाचार सेवालाई गुणस्तरीय बनाउन हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । सङ्घका अध्यक्ष पवित्रा गुरागाँईले कार्यक्रमको उद्देश्यबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा नायब महाप्रबन्धकद्वय श्यामप्रसाद रिमाल र सोमनाथ लामिछाने, प्रधानसम्पादक एकराज पाठक, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दिपराज सन्याल, अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका प्रमुख दिलीप अधिकारी, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का, पत्रकारहरू मदन गौतम, प्रकाश सिलवाल, उमा शर्मा, लक्ष्मी सापकोटालगायत राससकर्मीले कविता र हाइकू प्रस्तुत गर्नुभएको थियो ।