• समाज
  • क्याम्पसको स्तरवृद्धिका लागि धान्याञ्चलबाट १२ करोड...

क्याम्पसको स्तरवृद्धिका लागि धान्याञ्चलबाट १२ करोड सङ्कलन

क्याम्पसको स्तरवृद्धिका लागि धान्याञ्चलबाट १२ करोड सङ्कलन

भुइँ पाटी
सोमवार, फाल्गुण १४ २०८०

  • २०८० फागुन १४
    बागलुङ – पछिल्लो समय गाउँ तथा सहरका समेत  सामुदायिक क्याम्पस धरासायी अवस्थामा पुगेका छन् । विद्यार्थी र आर्थिक स्रोतको अभावमा सामुदायिक क्याम्पस सञ्चालनमा समस्या भइरहेको हो ।  समुदायमार्फत सञ्चालित क्याम्पसमा अहिले विद्यार्थी टिकाउनै मुस्किल छ । आधुनिक शिक्षाको आकर्षण, वैदेशिक रोजगारी र अध्ययनका लागि विद्यार्थी पलायन भइरहेका छन् । जिल्लाको गलकोटमा भने विद्यार्थीलाई गाउँकै क्याम्पसमा आकर्षित गर्न र क्याम्पसको अवस्था सुधार गर्न महायज्ञ गरिएको छ । सो महायज्ञबाट रु १२ करोड सङ्कलन गरिएको छ । 
     विसं २०६१ मा धान्याञ्चल महायज्ञ सञ्चालन गरेर स्थापना गरेको बागलुङको गलकोट बुहुमुखी क्याम्पसलाई समयसापेक्ष स्तरवृद्धि गर्न फागुन ६ देखि १३ गतेसम्म धान्याञ्चल लगाएर रु १२ करोड सङ्कलन गरिएको हो । उन्नाइस वर्ष अगाडि धान्याञ्चल लगाएर रु एक करोड ७५ लाख सङ्कलन गरी स्थापना गरिएको गलकोट बहुमुखी क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर बढाउन धान्याञ्चल लगाइएको गलकोट बहुमुखी क्याम्पसका प्रमुख मुकुन्दसिंह भण्डारीले बताउनुभयो ।
     क्याम्पस स्थापना गर्दा धन्याञ्चलको रकमबाट जग्गा खरिद गरेर भवन निर्माणपछि क्याम्पस सञ्चालन गरिएको उहाँको भनाइ छ । उक्त रकम सकिएपछि आर्थिक अभावका कारण बन्द हुन थालेको क्याम्पसलाई विसं २०७३ देखि गलकोट नगरपालिकाले वार्षिक १० लाख उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख भण्डारी बताउनुहुन्छ । 
     महायज्ञमा धेरै दाताहरुले भेटी चढाउनुका साथै मन फुकाएर सहयोग गरेको उहाँको भनाइ छ । महायज्ञबाट सङ्कलन भएको रकमले क्याम्पसको जग्गा व्यवस्थापन गरी संरचना निर्माण गरेर गरिब विपन्न विद्यार्थीलाई आवासीय सुविधा एवं विशेष छात्रवृत्तिको व्यवस्था गर्ने क्याम्पस प्रमुख भण्डारीले बताउनुभयो ।
     “क्याम्पस सञ्चालनका लागि आर्थिक समस्या प¥यो, धान्याञ्चल महायज्ञ लगाएर सङ्कलन गरेको रकमले स्थापना गरेको क्याम्पस अहिले पुनःआर्थिक सङ्कटमा परेपछि विद्यार्थीको आकर्षण पनि कम हुँदै गयो, त्यसैले अहिले महायज्ञ सञ्चालन गरेर क्याम्पसलाई आर्थिकरुपमा मजबुद बनाउने र विद्यार्थी आकर्षित गर्ने गरी शिक्षालाई गुणस्तरीय बनाउने लक्ष्य छ” भण्डारीले भन्नुभयो । 
     क्याम्पसमा हाल व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायमा अध्यापन भइरहेको छ । क्याम्पसलाई स्तरवृद्धि गरी बढ्दो विद्यार्थी पलायनलाई कम गर्न बिएससी एजी, बिआइटी, बिएचएम, बिबिए सहित स्नातकोत्तर अध्यापन गराउने लक्ष्यसहित शैक्षिक ज्ञान महायज्ञ आयोजना गरिएको गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । 
     उहाँले महायज्ञबाट रु २० करोड रकम सङ्कलन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । अब क्याम्पसलाई प्रविधिमैत्री बनाउनुका साथै बाहिर गएर पढ्ने विद्यार्थी यहीँ आकर्षित गर्ने बताउनुभयो । हाल क्याम्पसमा दुई सय ९० विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend