सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला

सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला

भुइँ पाटी
आइतवार, फाल्गुण २० २०८०

  • गोरखा, २० फागुन : सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर महिला पशुपालन, तरकारीखेती लगायतमा जोडिएर आर्थिक आयआर्जन गर्न सुरु गरेका हुन् ।
     सहिद लखन–७, मास्कीछापकी रिता थापामगरले अहिले घर छेउमा बङ्गुरपालन सुरु गरेर वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । गाउँपालिकासँगको समन्वयमा ‘एड्वान’ नामक गैरसरकारी संस्थाले प्रदान गरेको तालिम लिएर व्यावसायिक बङ्गुरपालन सुरु गर्नुभएकी थापामगरले अहिले यही व्यवसायबाट नियमित घरखर्च टरेको छ । 
     “कृष्ण पशुपन्छी फार्म दर्ता गरेर बङ्गुरपालन सुरु गरेको छौँ”, थापामगरले भन्नुभयो, “अहिले फार्ममा तीन माउ र ११ पाठापाठी छन्, पाठापाठी बेचेर पनि राम्रो आम्दानी हुने गरेको छ ।” बङ्गुरका पाठापाठी ३५ दिन हुनेबित्तिकै एउटाको रु छ हजारदेखि रु छ हजार पाँच सयसम्ममा सजिलै बिक्री हुने भएकाले आयआर्जन राम्रो हुने गरेको उहाँले बताउनुभयो । 
     व्यावसायिक तालिम लिएपछि बङ्गुरमा लाग्ने रोग, दानापानी खुवाउने तरिकालगायत बारेमा जानकारी प्राप्त भएकाले पाठापाठी हुर्काउनसमेत समस्या नभएको थापामगरले बताउनुभयो । एउटा बङ्गुरले वर्षमा दुई पटकसम्म बच्चा जन्माउँछ । एकपटकमा १२÷१३ सम्म बच्चा पाउने भएकाले तीन बङ्गुरपालन गरे पनि वर्षमा रु चार लाखभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । 
     थापामगर मात्र होइन उक्त गाउँपालिका–९ नाम्जुङकी रुपा सिंखडा पनि तालिम लिएर अहिले व्यावसायिक बाख्रापालन सुरु गरेर आयआर्जनमा जोडिनुभएको छ । गाउँपालिकासँगको समन्वयमा नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले प्रदान गरेको व्यावसायिक तालिम लिएर बाख्रापालन सुरु गर्नुभएकी सिंखडाले अहिले उन्नत जातका बाख्रापालन सुरु गर्नुभएको हो । 
     “बाख्रा पहिलेदेखि नै पाल्दै आएको हो, तर बाख्रा मर्ने नहुर्कने समस्या भएपछि अब पाल्दिन भनेर पनि छाडे”, उहाँले भन्नुभयो, “पछि वडामै बाख्रापालन तालिम आएपछि तालिम लिएर फेरि पाल्न सुरु गरेको हो, अहिले राम्रो भएको छ ।” बच्चालाई पढाउनेलगायत सबै घर खर्च अहिले बाख्रापालन व्यवसायबाट नै चलाउँदै आएको सिंखडाले बताउनुभयो । 
     “एड्वानले महिलाका लागि वडामै आएर तालिम दिएपछि मैले १५ दिनको तालिम लिएकी हुँ”, उहाँले भन्नुभयो, “त्यहीँ तालिमले अहिले मलाई व्यावसायिकरुपमा बाख्रापालन गर्न सहयोग पुगेको छ ।” व्यावसायिक तालिमले आफूहरुलाई आर्थिकरुपमा विस्तारै आत्मनिर्भर बनाउने गरेको सिंखडाको भनाइ छ ।
     सो गाउँपालिकाभित्रका सबै वडामा एड्वानले अतिसिमान्तकृत, एकल तथा विपन्न महिलालाई सीपमूलक तालिमसँगै क्षमता अभिवृद्धि र नेतृत्व विकासका तालिम दिएपछि महिला आर्थिक आयआर्जनका लागि कृषि पेसामा जोडिन थालेका हुन् । एड्वानले सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकाभित्र २४ कृषक महिला समूह गठन गरी उनीहरुको आयआर्जन वृद्धिमा सहयोग पु¥याउन कार्यक्रम सञ्चालन गर्दै आएको फिल्ड संयोजक कमल बसेलले जानकारी दिनुभयो । –रासस

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend