२०८० फागुन २६
काठमाण्डौ – यसअघि तराईमा धान खेती गर्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले स्याउ खेतीमा पनि उपस्थिति जनाएको छ । उसले जुम्लाको चन्दननाथ २ हाडुल्लेमा शुक्रवारदेखि स्याउ खेती कार्यक्रमको थालनी गरेको छ । स्याउ रोपणको उद्घाटन गर्दै महासचिव विप्लवले ३ वर्ष भित्र पार्टीलाई चन्दामुक्त पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासचिव विप्लवले भन्नुभयो ‘क्रान्ति गर्नु मात्र ठुलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौ, आज क्रान्तिप्रति वितृष्ण छ, विचलन देखिएको छ, यसलाई चिर्न नेकपाले नवौँ महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको छ ।’
नेकपा तराईमा धान, तोरी तरकारी, पहाडमा फलफूल र हिमालमा फलफूल तथा जडीबुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताउनुभयो ।
कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकारात्मक भएको भन्दै यो नेकपा मात्र नभएर हामी सबैको योजना हुनुपर्नेमा जोड दिनुभएको थियो ।
