गण्डकी, २७ फागुनः श्री भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० पोखरेली युवा सांस्कृतिक परिवारलाई प्रदान गरको छ । समितिद्वारा शनिबार आयोजित एक कार्यक्रमकाबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रु एक लाख एक नगद, दोसल्ला र सम्मानपत्रसहित परिवारका अध्यक्ष उपेन्द्र पौडेललाई सम्मान गर्नुुभयो । शास्त्रीय सङ्गीत साधक तथा संस्कृतिकर्मी सर्वज्ञमान प्रधानाङ्गले संस्कृति र सङ्गीतको क्षेत्रमा सक्रिय संस्कृतिकर्मी, साधक, सेवी र संस्थाको सम्मान गर्ने उद्देश्यले आफू र आफ्नी धर्मपत्नीको नाममा आफू जीवित रहँदा नै सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०५५ सालमा नै स्थापना गरी सञ्चालनको अभिभारा श्री भैरव सांस्कृतिक संरक्षण समितिलाई दिनुुभएको थियो । पोखरामा देखाइने भैरवनृत्य सञ्चालनमा वाद्यबादक, राग गायक एवम् गुरुका रूपमा प्रधानाङ्गको भूमिका उल्लेखनीय थियो । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरेली युवा सांस्कृतिक परिवार आफैमा पोखराको ब्राण्ड भएको बताउँदै यसले पोखराको गरिमा उचो बनाएको बताउनुुभयो । वाङ्मयिक क्षेत्रको राजधानी पोखरालाई आगामी चैत ४ गते पर्यटनको राजधानी घोषणा गर्ने तयारीमा रहेको उहाँले बताउनुुभयो । महेन्द्रपुलमा रहेको सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी पृथ्वीचोकको ‘पोखरा घर’मा रहने जानकारी दिँदै उहाँले रु १० करोड लागतमा १८ महिनाभित्र पोखरा घर निर्माण हुने बताउनुुभयो । परिवारका अध्यक्ष उपेन्द्र पौडेलले भैरव समितिले पोखरा युवा सांस्कृतिक परिवारलाई भरोसा गरेको भन्दै आभार व्यक्त गर्नुुभयो । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले २०५५ सालमा स्थापित क्षेत्रीयस्तरको पुरस्कारबाट कृष्णबहादुर श्रेष्ठ, प्रज्ञारत्न बज्रांचार्य, चेतन कार्की सम्मानित भएको जानकारी दिनुुभयो । विस २०६३ बाट प्रत्येक तीन वर्षमा प्रदान गर्दै आएको यो पुरस्कारबाट यसअघि फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, जगमान गुरुङ सम्मानित भइसक्नुुभएको छ । पोखरालाई साहित्य, कला र सङ्गीतको राजधानी बनाउन विगत ४६ वर्षदेखि अविछिन्न क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारलाई सम्मान गर्न पाउँदा भैरव सांस्कृतिक संरक्षण समिति नै सम्मानित भएको महसुुस गरेको समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले बताउनुभयो । कार्यक्रममा समितिका सल्लाहकार कृष्णदेव प्रधानाङ्ग, पुरस्कारयोग्य प्रतिभा चयन समितिका संयोजक तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, सर्वज्ञमानकी सुपुत्री शारदा वैद्य, वडा नं २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग लगायतले बोल्नुुभएको थियो । विसं २०३४ मा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्य अध्यक्ष र साहित्यकार सरुभक्त सचिव रहेको पोखरेली युवा सांस्कृतिक परिवार गठन भएको थियो । ‘साहित्य, कला र सङ्गीतको उत्थान : हाम्रो प्रण’ को उद्घोषका साथ स्थापित पोयुसाँपले राजधानी बाहिर रहेर वाङ्मयिक क्षेत्रमा ४६ वर्षको योगदान दिएको छ ।