• समाचार
  • दुई लाख राशिको भलिबलको उपाधि गलकोट...

दुई लाख राशिको भलिबलको उपाधि गलकोट नगरपालिकालाई

दुई लाख राशिको भलिबलको उपाधि गलकोट नगरपालिकालाई

भुइँ पाटी
आइतवार, फाल्गुण २७ २०८०

  • पर्वत, २७ फागुन : तेस्रो राष्ट्रिय मगर महोत्सवअन्तर्गत यहाँ आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ । ४२औँ राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको पुन क्लबको आयोजनामा ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको भलिबल प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट विजयी बनेको हो । यससँगै गलकोटले रु दुई लाख दुई हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा चित्त बुझाएको कुश्माले रु एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । ‘वेस्ट अफ फाइभ’ को आधारमा भएको ‘फाइनल’ खेलमा चार ‘सेट’ खेलिसक्दा तीन ‘सेट’ गलकोटले जितेपछि पाँचौँ सेट नखेल्दै गलकोट विजेता बनेको हो । पहिलो, तेस्रो र चौथो ‘सेट’ क्रमश ः २५–१५, २५–१७ र २५–१८ मा गलकोटको पक्षमा पर्दा दोस्रो ‘सेट’ ३१–२९ को नतिजासहित कुश्माले हात पारेको थियो । प्रतियोगितामा पर्वतकै फलेवास नगरपालिकाले तेस्रो स्थान बनाएको छ । यससँगै उसले रु ५० हजार एक सय ११ हात पारेको छ । फलेवासलाई पर्वतकै बिहादी गाउँपालिकाले ‘वाक ओभर’ दिएको थियो ।
    यस्तै रु ७७ हजार पुरस्कार राशि रहेको खुल्ला पालिकास्तरीय पुरुष प्रौढ भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । शनिबार नै भएको फाइनल खेलमा पर्वतको कुश्मालाई पराजित गर्दै पोखरा भेट्रान्सले रु ७७ हजार सात सय ७७ प्राप्त गरेको छ । ‘वेस्ट अफ फाइभ’ मा भएको प्रतिस्पर्धामा पहिलो, तेस्रो र पाँचौँ सेट पोखराले जित्दा दोस्रो र चौथो सेट मात्रै कुश्मा नगरपालिकाले जितेको हो । पोखराले पहिलो सेट २५–१६ मा, तेस्रो सेट २५–१९ र पाँचौँ सेट १५–१० जित्यो भने कुश्माले दोस्रो सेटमा २५–१७ मा र चौथो सेट २५–१९ मा जितेको हो । उपविजेता बनेको कुश्माले पुरस्कारका रूपमा रु ४४ हजार चार सय ४४ पाएको छ । खुला महिला भलिबल प्रतियोगितातर्फ कुश्माको टोली विजेता बनेको छ । फाइनलमा पुन ट्रेनिङ सेन्टरलाई पराजित गर्दै कुश्माले उपाधि जितेको हो । जीतसँगै कुश्माले पुरस्कार स्वरूप रु ५५ हजार पाँच सय ५५ पाएको छ भने उपविजेता बनेको पुन ट्रेनिङ सेन्टरले रु ३३ हजार तीन सय ३३ पाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend