‘जून ओर्लेको रात’ बजारमा

‘जून ओर्लेको रात’ बजारमा

भुइँ पाटी
बुधवार, चैत्र १४ २०८०


  • गण्डकी, १४ चैत । युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।    
        
     कविता संग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध पक्ष समेटिएका ५७ ओटा कविता प्रस्तुत गरिएको छ । समाजको विद्यमान विकृति विसङ्गतिलाई उल्लेख गर्दैै ‘जून ओर्लेको रात’ को ‘शिक्षा’ शीर्षकको कवितामा उहाँ भन्नुुहुन्छ,    
        
     “मेरो छोरो    
     सन्तुलित आहार पढ्छ किताबमा    
     र भान्छामा    
     असन्तुलित आहारा खान्छ ।    
     मेरी छोरी    
     पढ्छे शारीरिक व्यायाम    
     तर    
     सुत्छे घाम तन्नेरी भएसम्म ।।”    
        
     कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायत साहित्यिक विधामा कलम चलाउने पौडेल समालोचनाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । पोखरेली साहित्यको विकासका लागि सञ्चालित ‘पुछारसिटे’ अभियानका संयोजकसमेत रहेका पौडेल नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको महासचिव हुनुहुन्छ ।    
        
     पौडेलको यो कृति अम्बर पब्लिकेसन, नयाँदिल्लीले प्रकाशन गरेको हो । नेपालमा पुस्तकको वितरण व्यवस्थापन माया पब्लिकेसनले गरेको छ । कूल एक सय पाँच पृष्ठमा समेटिएको कृतिको मूल्य रु दुई सय ७५ रहेको छ ।    

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend