गण्डकी, १८ चैतः पोखराको रेडियो अन्नपूर्णद्वारा हिजो शनिवार आयोजित बृहत् रक्तदान कार्यक्रममा दुई सय सात युनिट रगत सङ्कलन भएको छ । योसहित रेडियोले २२औँ पटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ‘स्वास्थ्यका लागि रक्तदान’को आदर्श वाक्यसहित आयोजित कार्यक्रममा एक सय ८४ पुरुष र २३ जना महिलाले रक्तदान गरेको रेडियोले जनाएको छ । तीमध्ये ८० नयाँ रक्तदाता रहेको कार्यक्रम संयोजक राजाराम पौडेलले बताउनुभयो । रेडियोले आफ्नो स्थापनाकालदेखि रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ । “रेडियोको वार्षिकोत्सवको सन्दर्भ पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “२२औँ संस्करणसम्म आइपुग्दा सात हजार सात सय तीन युनिट रगत सङ्कलन भएको छ ।” नयाँ रक्तदातालाई रक्तदानप्रति प्रेरित गर्ने उद्देश्यले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको रेडियोका महाप्रबन्धक नारायण पौडेलले बताउनुभयो । “रक्तदानलाई प्रवर्द्धन गर्न, रक्तदानबारे समुदायमा सकारात्मक सन्देश दिन रेडियोले भूमिका खेलिरहेको छ”, उहाँले भन्नुभयो, “रक्तदानसँगै यससम्बन्धी प्रचारात्मक र सन्देशमूलक कार्यक्रम पनि गर्दै आएका छौँ ।” रेडियोका अध्यक्ष विश्वशङ्कर पालिखेले रक्तदान कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने बताउनुभयो । रेडियोले नियमितबाहेक आकस्मिक रूपमा पनि रक्तदानको कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ । रेडियोले बहृत् रूपमा हरेक वर्षको चैत तेस्रो साता रक्तदान कार्यक्रम राख्दै आएको छ । पोखरा ब्लड बैंकका प्रमुख अर्जुन ज्ञवालीले उक्त कार्यक्रमले समुदायमा रक्तदान गर्नुपर्छ सन्देश प्रवाह गरेको बताउनुभयो । रक्तदान भनेको जीवनदानसरह भएको उल्लेख गर्दै रेडियोले रक्तदानलाई प्रवर्द्धन गर्न खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । “रेडियो अन्नपूर्णले गर्ने रक्तदान कार्यक्रम स्थापित भइसकेको छ, यहाँ एक दिनमा धेरै रगत सङ्कलन हुने गरेको छ”, अध्यक्ष ज्ञवालीले भन्नुभयो, “रक्तदानलाई प्रवर्द्धन गरेर रेडियोले सामाजिक दायित्व निर्वाह गरेको छ ।” पोखरामा अन्य सङ्घसंस्था पनि रक्तदान कार्यक्रम आयोजनामा सक्रिय रहेको भन्दै उहाँले सार्वजनिक बिदा या खास कुनै अवसरमा मात्र नभएर नियमति रूपमा रक्तदानको कार्यक्रम आयोजना हुनुपर्ने धारणा राख्नुभयो । “पोखरामा दैनिक ५० देखि सय युनिटसम्म रगत सङ्कलन हुने गरी रक्तदानको कार्यक्रम राख्नुपर्छ”, उहाँले भन्नुभयो । रक्तदानले अर्को व्यक्तिको जीवन बचाउने हुँदा रक्तदान गर्नु पुण्यको काम भएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।