• समाचार
  • सम्झौता सकिएको दुईवर्षपछि मिलनचोक–धाइरिङ सडकमा कालोपत्र...

सम्झौता सकिएको दुईवर्षपछि मिलनचोक–धाइरिङ सडकमा कालोपत्र सुरु

सम्झौता सकिएको दुईवर्षपछि मिलनचोक–धाइरिङ सडकमा कालोपत्र सुरु

भुइँ पाटी
आइतवार, चैत्र १८ २०८०

  • पर्वत, १८ चैतः गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’ अन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ । 
    पर्वत क्षेत्र ‘क’ का निवर्तमान सभासद एवं गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको रोजाई एवं पहलमा  २०७६ मंसिरमा रु २८ करोड १३ लाखमा सम्झौता भएको उक्त आयोजना २ वर्ष अर्थात २०७८ मंसिरमा सकिइसक्नु पर्ने थियो । सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि कालोपत्र गर्ने कार्य शुरुआत भएको छ । निर्माण कम्पनी हिमदुङ एण्ड थोकर निर्माण कम्पनीका आयोजना व्यवस्थापक दीपेन्द्र श्रेष्ठलले सल्ल्यानबाट मिलनचोकतर्फ कालोपत्र गर्न सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार मिलनचोक देखि ठोट्नेरीसम्मको १० कि.मि. मध्ये तीन दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न लागिएको हो । यो खण्डमा एक साताभित्रै कालोपत्रको काम पूरा हुने श्रेष्ठको भनाई छ । 

    kalopatra 2.jpg


    यस्तै धाइरिङको पहिरोभन्दा माथिदेखि घाखेत–ठोट्नेरीतर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने तयारी गरेको श्रेष्ठले बताउनुभयो । 
    यसअघि ठेकेदार कम्पनीले कामलाई बिट मार्ने गरि तयारी गर्न नसक्दा हिउँदमा भएका कामहरु वर्षातमा भत्किने गरेका थिए । अलपत्र बाटो र ढलको उपयुक्त निकास नहुँदा स्थानीय वासिन्दाहरु प्राकृतिक प्रकोपको सामना गर्दै आइरहेका थिए । पटक–पटक आन्दोलित हुँदै आएका स्थानीय वासिन्दा र जनप्रतिनिधिहरुको निरन्तर पहलपछि गत मंसिरबाट निर्माण कम्पनी काममा फर्किएको हो । 
    यस्तै अफ्ठ्यारो भुगोल र जोखिमयुक्त ठाउँ भएकोले बाटो कालोपत्र हुँदैमा दङ्ग परिनहाल्ने स्थानीयको भनाई छ । ढल तथा नालीको बनावट र निर्माण सामाग्रीको गुणस्तरीय प्रयोग नभएमा केही समयमै ‘पिच’ उप्कने गरेका उदाहरण दिँदै गुणस्तरमा सम्झौता हुन नदिन जनप्रतिनिधि र सरोकारवालाहरुलाई स्थानीय नारायण आचार्यले सुझाव दिनुभयो । गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले जनताको माग गुणस्तरीय सडक भएकोले यसबारेमा आफुहरु चनाखो रहेको बताउनुभयो । 
    निर्माण कम्पनीका प्रतिनिधिसमेत रहनुभएका जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत चुनौती सामना गर्दै  जिम्मेवारी पूरा गर्न लागेको बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend