काठमाडौं १७ वैशाख : निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी) को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर रोगबाट ग्रस्त हुनुभएका लोहनीको निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।
काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लोहनीको निधन भएको हो । उहाँको पार्थिव शरिरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताउनुभयो ।
लोहनी गायक समेत हुनुहुन्थ्यो । रेडियो नेपालमा उहाँले केही गीत रेकर्ड गर्नुभएको छ । उहाँले ‘माइतीघर’का लागि गीत समेत गाउनुभएको थियो । पछिल्लो गीतको रुपमा उहाँले ‘पुनरागमन’ ल्याउनुभएको थियो । नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हा उहाँकी धर्मपत्नी हुनुहुन्छ ।
