नवलपुरमा १९ हजार बालबालिकालाई खोप लगाइने

नवलपुरमा १९ हजार बालबालिकालाई खोप लगाइने

भुइँ पाटी
शुक्रवार, जेठ ११ २०८१
  •  

    मध्यविन्दु (नवलपरासी), ११ जेठ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १९ हजार पाँच सय २९ बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । यही जेठ १३ देखि २५ गतेसम्म दुई चरणमा जिल्लाका आठ पालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभयो । “पहिलो चरण जेठ १३ देखि १९ गतेसम्म गैँडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा जेठ २० देखि २५ गतेसम्ममा कावासोती, मध्यबिन्दु र देवचुली नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा खोप लगाइनेछ ।” कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा तीन सय ९१ खोप केन्द्र निर्धारण गरी चार सय ९४ जनशक्ति परिचालन गरिएको स्रोत व्यक्ति खरेलप्रसाद चौधरीले बताउनुभयो । “खोप अभियान सफल बनाउन नौ सय ६६ स्वयंसेवक परिचालन गरिनेछ”, उहाँले भन्नुभयो, “जिल्लाका चार सय ३२ विद्यालयलाई आधार मानेर खोप अभियान सञ्चालन गरिनेछ ।” जिल्लाका आठवटै स्थानीय तहमध्ये गैँडाकोट नगरपालिकामा चार हजार तीन सय ३१, कावासोती नगरपालिकामा चार हजार आठ सय ५३, देवचुली नगरपालिकामा तीन हजार तीन ९८, मध्यबिन्दु नगरपालिकामा दुई हजार आठ ९८, विनयी त्रिवेणी गाउँपालिकामा दुई हजार ७३, हुप्सेकोट गाउँपालिकामा एक हजार एक सय १३, बौदीकाली गाउँपालिकामा चार सय ५८ र बुलिङटार गाउँपालिकामा चार सय ३४ गरी १९ हजार पाँच सय २९ जनालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने चौधरीले जानकारी दिनुभयो ।

    यो अभियानमा विसं २०७३ वैशाख १ देखि विसं २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने भएको छ । सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्य चौकीसँग आवश्यक समन्वय गरिसकिएको र सबै तयारी पूरा भएको चौधरीले जानकारी दिनुभयो । विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप अभियान सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई आइपिभी खोप लगाउने लक्ष राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend