विधिको शासनका पक्षमा पूर्वराष्ट्रपति यादव

विधिको शासनका पक्षमा पूर्वराष्ट्रपति यादव

भुइँ पाटी
आइतवार, जेठ १३ २०८१

  • पोखरा, १३ जेठ : कुुनै समय जन निर्वाचित सरकारले गरेको निर्णयलाई उल्टाएर संविधान विपरितको कदम चाल्नु भएका पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिनुभएको छ । “कटवाल काण्ड” का नामले परिचित तत्कालिन प्रधान सेनापतिलाई जोगाउन मात्रै कार्यकारीको अधिकारलाई  विवादित बनाउनुभएका  यादवले पोखरा पुगेर संविधान र विधिको शासनका पक्षमा आवाज उठाउनु भएको छ । शनिवार नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १७ औँ साधारणसभा तथा १२ औँ अधिवेशनको उद्घाटन गर्न पुग्नु भएका यादवले कान्तिपुरका मालिक सिरोहिया पक्राउ प्रति असन्तुष्टि जनाउनुभयो ।  उहाँले लोकतन्त्रमा मात्र सञ्चार क्षेत्रको विकास सम्भव हुने भन्दै त्यसका लागि सबैजना कटिबद्द हुनुपर्नेमा जोड दिनुभयो । 
    पूर्वराष्ट्रपति यादवले संविधानअनुसार स्वतन्त्र प्रेसको मर्मलाई सरकारमा रहेकाहरूले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशमा संविधान र कानुनअनुसार काम हुनु पर्छ । सञ्चार क्षेत्र आफ्नो धर्मअनुसार संविधानको पालनाका लागि अगुवा बन्नुपर्दछ ।”
    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्ने बताउनुभयो । उहाँले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रष्ट पार्दै एकोहोरो रूपमा लाग्दा एक रथका दुई प्राङ्ग्राको रूपमा रहेका दुवै क्षेत्र शङ्काको घेरामा पर्ने उहाँको भनाइ थियो ।
    मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “हामी कानुन र विधिका कुरामा एकताबद्ध भएर जान्छौँ, तर हामीलाई सचेत गराउनैपर्छ । सञ्चार क्षेत्र आवाजविहीनको आवाज माथि उठाउन, बिनापूर्वाग्रह, बिनापक्षधरता व्यावसायिक तरिकाले खरो उत्रनु पर्दछ ।”
    यस्तै साधारण सभामा उपस्थित राजनैतिक दलका प्रतिनिधि र अन्य व्यक्तित्वहरुले पनि प्रेस स्वतन्त्रता र श्रमजिवी पत्रकारहरुको पक्षमा आफ्ना भनाइहरु राख्नु भएको थियो । 
    साधारणसभामा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीलाई ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८०’ बाट पुरस्कृत गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाख ११ हजार एक सय ११ रहेको छ । यसैगरी आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुनुभयो । सो पुरस्कारको राशि रु २० हजार रहेको छ । यस्तै कार्यक्रममा पत्रकारहरू शिरोमणि बराल, सुरेन्द्र थापा मगर, बलराम उपाध्याय र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो । पत्रकार महासङ्घको संस्थागत विकासका साथै समग्र पत्रकारिता क्षेत्रको उन्नयनमा योगदान पुु¥याएको भन्दै उहाँहरूलाई सम्मान गरिएको आयोजकको भनाई छ ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend