• राजनीति
  • अपारदर्शी ढङ्गले बनेको गठबन्धन सरकारले देशलाई...

अपारदर्शी ढङ्गले बनेको गठबन्धन सरकारले देशलाई निकाश दिन सक्दैन : दाहाल

अपारदर्शी ढङ्गले बनेको गठबन्धन सरकारले देशलाई निकाश दिन सक्दैन : दाहाल

भुइँ पाटी
बुधवार, श्रावण ९ २०८१

  • काठमाण्डौ, ०९ साउन २०८१
    पुर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेको गठबन्धनबाट बनेको सरकारले देशलाई निकाश दिन नसक्ने बताउनुभएको छ । उहाँले षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको सरकारको उद्देश्य देशको हित भन्दा पनि बिचौलिया र भ्रष्टाचारमा मुछिएकाहरुको बचाउ गर्नेमा केन्द्रित रहेको टिप्पणी गर्नुभएको छ । 
    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको तथ्य छर्लङ्ग देखिएकोले यो सरकारबाट जनतामा आशा गर्ने ठाउँ बाँकी नरहेको उहाँको भनाई छ । उहाँले अब माओबादी पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको पनि बताउनुभयो ।
    ‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भन्नुभयो, ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लङ्ङ भएको छ बुझेका छन् ।’ 
    प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटरव्याज विरोधी  कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको बताउनुभयो। ‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का,भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सैह्य भएन’प्रचण्डको भनाइ छ ।
    उहाँले आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको उल्लेख गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने बताउनुभयो । ‘राजनीतिक रूपमा राम्रो आधार बनेको छ अव त्यसलाई सङ्गठनमा बदल्नुपर्ने अवसर प्राप्त भएको छ’, प्रचण्डले भन्नुभयोे, ‘अव मेरो पहल पार्टीलाई एकताबद्ध र नीति कार्यक्रम जनमुखी बनाउनेमा हुनेछ ।’

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend