कुश्मा २७ साउन
नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले फरक प्रस्ताव पेश गरेका छन् ।
बैठकमा उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पृष्ठको र फुटबारे चलाइएका हल्लाु शीर्षाकमा थप २ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए । ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माले लेखेका छन् । शर्माले पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको र कम्युनिस्ट मूल्यमान्यताअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुगेको आफ्नो निष्कर्ष सुनाएका छन् । ‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो,’ उनले भने ।
शर्माले माओवादी फुटाउन लागेको आरोप आफूमाथि लगाइएको समेत बताए । ‘पार्टीभित्र मुद्दा विशेषका कमीकमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइयो,’ उनले बैठकमा भने, ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔंभन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो । अझ थप दुरुत्साहन गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभास भयो ।’
सरकारमा रहँदा बालुवाटारबाटै कहिले आफू त कहिले अर्का उपमहासचिव पुनविरुद्ध दुश्प्रचार गरिएको, प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्ति प्रयोग गर्न खोजेको, पार्टीभित्र विभिन्न तहका नेताहरूलाई फुटाउन खोजेको समेत शर्माले बताए ।
