कथा : मीत बा !
-कथाकार : युवराज बगरे
इर्ष्याले तिनका नजर जलेका थिए । आरिसले तिनका मुहार मुर्मिएका थिए । सके निलौंला झैं गरि बाघ बनेका तिनका मौन गर्जनले हाम्रो मिलनको घाँटी निमोठ्न आतुर थिए । भावीले जुराएको हाम्रो अटल भरोसालाई कसैका श्रापले छेक्नेवाला थिएन । हाम्रो बाटो अनि हाम्रो यात्रा गण्डकीको कञ्चन पानी झैं सलल बग्दै–बग्दै थियो ।
घर छाडेको पनि सातौं वर्ष बितेछ । कलेज पढाउन थालेको पनि दुई वर्ष भइसकेछ । वितेका यि सात वर्ष मलाई सात दिन जस्तै लाग्दैछ । सोच्छु यि दिन र घण्टाहरु नभइदिएका भए पनि त हुन्थ्यो ? मिल्ने भए घडीको सुइ पनि रोकौं–रोकौं लाग्ने गरि जिन्दगीमा यति धेरै माया पाइयो कि ! व्यक्त गर्नको लागि मसँग शब्दहरु नै छैनन् ।

अध्ययनका लागि भनेर गाउँबाट पोखरा आइपुगेपछि डेरा गरेर बस्ने घर नै आफ्नो हुन्छ भन्ने के थाहा ? स्याङ्गजाबाट नजिक पर्ने भएकोले छोरेपाटन चोकमा डेरा लिएको थिएँ । माथि ..... क्याम्पसमा पढ्न जान्थे । लुखुर–लुखुर क्याम्पस जाने आउने बस् यस्तैमा दिन बित्दै थियो । घरबेटी आमाले निकै चाख राख्नुहुन्थ्यो । ‘बाबु खाना खायौ .....?’ ‘अर्को हप्ता घर जान्छौ कि नाई ....?’ फर्केर आउँदा ‘घरमा बाबा आमालाई सञ्चै छ .....?’ घरभेटी आमाले मेरो सँधै यसै गरि ख्याल राख्नुहुन्थ्यो । अनिस र अनिसा घरभेटीका छोरा–छोरी अनुशासित र लगनशिल थिए । घरभेटी बा ‘रिटायर्ड आर्मी’ अनुशासन र अर्थको राम्रो प्रवन्ध मिलेको त्यो घरमा निकै शान्त र आनन्दित वातावरण थियो ।
समय बित्दै गयो अनिस र मेरो उमेरवय मिल्ने विस्तारै घनिष्टता बढ्दै गयो । घरभेटी बा र आमाले पनि मलाई अनिसलाई जस्तै व्यवहार गर्न थाल्नुभयो । अनिसा बहिनी पनि मोहन दाई भनेर मसँग झ्याम्मिन थाली । यसरी बढ्न थालेको हाम्रो मायाले पुर्व लाहुरे अर्थात घरभेटी बा लाई पनि निकै मन छोएछ । एक दिन हामिलाई बोलाएर उहाँले भन्नुभयो ‘क्या नाम यस्तरी मिल्ने मन्छेहरुले त मीत लाउनु पर्छ यार !’ त्यसै पनि मन मिलेको झन् बुढाले नयाँ नाता गाँस्न आग्रह गरेपछि हामी राजी नहुने कुरै थिएन । त्यस दिनपछि म डेरा घरको पक्का छोरो भएँ । मीतको साइनो भन्दा पहिल्यै आमाले धेरैजसो तरकारी, अचार ल्याइदिने गर्नुहुन्थ्यो । कहिले काहिं अनिसा आउँथी र ‘मोहन दाई आज खाना पकाउने दुखः नगर्नु होला है उतै आमाले बनाईसक्नु भएको छ ।’ भनेर समाचार ल्याइपुर्याउँथी अब घरको पक्का छोरो भएपछि मेरो खाना मात्रै होइन बासै मीत ज्यूको कोठामा हुन थाल्यो ।
बा ले हामी दुइ मीतलाई सँगै राखेर अर्ति उपदेश दिनुहुन्थ्यो । व्यवहार,स्वभाव लगायत कुनै पनि दृष्टिकोणबाट मीत बा ले मलाई अर्कै छोरो भनेको कहिल्यै अनुभुति भएन । अनिसा बहिनी र मितिनी आमाको त झनै कमलो मन कहिल्यै खस्रो बोली सुन्नै परेन ।
जिन्दगीको गोरेटोमा सँगालिएका याद,हर्ष र विस्मात वा रोमाञ्चकता क्षणिक रहेछन् । कहाँबाट कहाँ पुर्याउँदोरहेछ नियतीले थाहै नहुने । गल्ती र भुलहरु सच्चाउन पनि नपाइने । मौका र परिस्थिति आँफुले चाहे अनुसार नहिँड्ने रहेछन् जिन्दगीमा । सम्बन्ध,मिलन र प्रेम आफुले चाहे जसरी कहाँ सजाउन सकिने रहेछ र ? कुरा काट्नेहरु र इष्र्या गर्नेहरुको दुनीयाँमा प्रेमले हार्न पर्ने रहेछ । कसले फुटाइदियो, सुन्दर संसार सजाइएको त्यो दुर्लभ फ्रेम ? धेरै चोटी खोजेँ, मौनतामा घोत्लिएँ अनि रोमाञ्चकताका पुराना यादहरु ताजा गराउने भरमग्दुर प्रयत्न गरेँ, तर सकिन, अहँ सक्दै सकिन
मीत ज्यूले एम.बि.बि.एस सकाएपछि थप अध्ययनका लागि छात्रा वृत्तिमा अमेरिकी कलेजमा नाम निकाले । त्यो दिन हामी सबै परिवारको खुसीको सिमा रहेन । देश छोड्नु पर्दा पनि खुसी मान्ने हामी नेपालीहरुको पहिचानले हामीलाई अछुतो राख्ने त कुरै भएन । तै पनि अब मीत ज्यूसँग टाढा हुनुपर्ने विषयले मनभित्र नरमाइलो लागिरहेकै थियो । मीत ज्यू अमेरिका प्रस्थान गर्ने दिन पनि नजिकियो । पोखराबाट हामी पाँचैजना काठमाण्डौ गइयो । विमानस्थल पुगेर मीत ज्यूलाई बिदाई गर्ने क्रममा भने अमेरिकाको हजुर बा ले पनि मनको बेदना थाम्न नसक्ने रहेछ । सबैका आँखा रसाए । मितिनी आमा त डाँकै छोडेर रुनु भएको थियो । मीत बा ले आमालाई सम्झाउँदै गाली गर्नु भएको थियो, ‘तिमी पाको मान्छे भएर पनि, के सारो रोएको ? अनिस सँधैको लागी उता बस्ने त हैन नि, पढाई सकाएर आइहाल्छ नि ।’ ‘अनिसा छे, मोहन हामीसँगै हुन्छ । अनलाइनको यो जमानामा उता गए पनि रात दिन कुरै कुरा त हो नि, कस्तो चिन्ता गरेको तिमिले ?’ यसरी हामी भारी मन लिएर पोखरा फिर्ति भइयो ।
त्यसपछिका दिनमा मीत ज्यूको अभाव असाध्यै खड्कियो । सामाजिक सञ्जालको जतिसुकै उपलब्धता भए पनि बिछोडको पिडा यत्तिकै सहन कहाँ सकिँदो रहेछ र ! बिहानै उठेर दौडिन जाने, व्याडमिन्टन खेल्ने र साँझको लेकसाइड टहलिन जाने हाम्रो दैनीकीमा पुर्णविराम लाग्यो । आमा, बा र बहिनिले भने अनिसको अभाव खासै महसुस गर्नु भएन कि जस्तो लाग्थ्यो । मलाई भने उसको याद यति खड्कियो कि ! न्यास्रो मेटाउने कुनै बहाना नै भेटिएन ।
बगर तिर एउटा कलेजमा ‘फिजिक्स टिचरको भ्याकेन्सी ’ खाली छ रे, भन्ने सुनेर आवेदन दिएको थिएँ ठ्याक्कै नियुक्ति मिल्यो । जागिर शुरु गरेँ । त्यसपछि विद्यार्थी र नयाँ साथीहरुको आगमनले भारी मन बुझाउनलाई केही राहत मिल्यो । घर फर्किँदा अनिसा बहिनि र बा आमाको प्यार त मलाई यथावतै थियो । कहिले काँही मित ज्यूसँग गरिने भिडियो कलले टाढा अनुभुतिलाई बिर्साउँदै गयो । जिन्दगीमा फेरी नयाँ अध्याय प्रवेश भयो ।
जागिरसँगै शिक्षक युनियन र संघ संगठनमा आवद्धता हुने अवसर मिल्यो साथीहरुको जोडबल र आग्रहले कुनै शिक्षक संघको जिल्ला सचिव भएर आएँ । त्यस दिन घरमा निकै खुसियाली छायो । मीत बा ले नाकको टोटा फुलाउँदै ‘क्या नाम, हाम्रो मने पनि राजनीति गर्ने भयो यार ! भविष्यमा मन्त्री नै बन्छ कि क्या हो ?’ भन्नु भएको थियो । अनिसाले जिस्किँदै ‘ल है मोहन दाई, मन्त्री भएपछि यो बहिनिलाई चटक्कै माया नमार्नु नि, फेरी !’ भन्दै थिई । क्रमैसँग संघ संस्थाहरुमा समय दिँदा दिँदै घर जाने आउने ठेगानको टुङ्गो हुन छाड्यो । अक्कल–झुक्कल घर आउँदा अनिसा खुसीले लाडिइन्थी, नाना भाँती गिजाएर हौसिन्थी । जे होस् अनिसा निकै कोमल मन भएकी केटी थिई, दाई भन्दा निकै हुरुक्क हुन्थी । उमेरवय अनुसार म मा पलाउने माया प्रेमका कुरा उसलाई शियर गर्थेँ । उसले पनि चुलबुले यौवनले आफुलाई कुत्कुत्ताएका घटनाक्रम सविस्तार लगाउँथी । हामीमा एउटा दाई र बहिनीविचको आत्मियता अद्भुत थियो ।
एकदिन बहिनीले यु.के. मा रहेको आफ्नो ‘व्वाय फ्रेण्ड’ बिना आफु बाँच्न नसक्ने कुरा मलाई बताएकी थिई । सँधै हाँसो–ठट्टा गर्ने बहिनिले ख्याल गरेकी होली भन्ठानेर मैले त्यसलाई गम्भिर रुपमा लिइन । तर ऊ त यति गहिरिएर लागेकी रैछे कि त्यो त अवास्तविक रहेनछ । पछि मीत ज्यूलाई यो कुरा बताएँ । बा आमासँग पनि मीत ज्यू र मेरो सल्लाह भयो । बहिनीलाई उसैसँग बिहे गरिदिने निधो गर्यौं ।
बहिनिको बिहे पनि गरियो बहिनी ज्वाइँ साहेबसँगै यु.के. प्रस्थान गरिन् । अब घरमा म, बा र आमा मात्रै बाँकी थियौं । मेरो परिस्थिती नै त्यस्तै जागिर अनि संघसंस्थाका कामहरुले प्राय घर बाहिर नै रहन्थे । घर बाहिर रहेता पनि मीत ज्यू र बहिनिसँग नियमित जस्तै कुराकानी भैरहन्थ्यो । बा आमाको माया छोरालाई भन्दा छोरीलाई निकै धेरै हुँदो रहेछ । यो कुरा मैले अनिसा बहिनिबाट थाहा पाएँ । उसलाई म घर बाहिर रहेको खासै निको लाग्दैन्थ्यो । ‘आज पनि घर जानुभएन मोहन दाई ? ’ हरेक चोटी कुरा हुँदा उसले दोहोर्याउने प्रश्न यही हुने गर्दथ्यो । बहिनिलाई म घर नबसेको र बा आमालाई समय नदिएकोमा निकै खेद लाग्थ्यो । मेरो पनि परिस्थिति उस्तै । ‘यो केटीलाई मेरा प्रति कति खस्–खस् हो गाँठे खाली चियो र चर्चा मात्रै गर्छे, हाम्रो प्राइभेट जिन्दगी पनि त हुन्छ नि यार’ मनमनै बहिनीका प्रति रिसिन्थें कहिलेकाँही ।
पल्ला घरकी रोसनी जो अनिसाकी निकै मिल्ने साथी हो । एकदिन उसले मलाई मन पराउँछे भन्ने समाचार ल्याएकी थिई अनिसाले । पछि–पछि रोसनी मेरो अघोषित प्रेमिका हुन पुगेकी छे । उसले मलाई हरेक प्रेमिकाले प्रेमीलाई गर्ने व्यवहार देखाउँथी र देखाउँदै छे । आजभोली बहिनिले उसै रोसनी मार्फत मेरा कुरा काट्ने रहिछे । ‘त्यो पकलण्ठु अनिस, हाम्रो आफ्नै दाई कहाँ होर ? दाई भएका भए त बा आमाको ख्याल राख्थ्यो नि ! एक दिन घरमा बस्दैन । हामी होइन्जेल त निकै चेपारो पाथ्र्यो । अहिले हेर त त्यसको पारा ....’ आदि इत्यादी । बहिनिले मेरा बारेमा काटेका कुरा रोसनीले नसुनाइदिएका भए पनि हुन्थ्यो नि ! सुनेपछि मन कटक्क खाने । पुराना दिनहरु सम्झन्थें, अनिसाले गर्ने माया र व्यवहारमा खडा भएको विश्वास नटुटोस् भनेर आफुलाई सम्हाल्न खोज्थें । तर धैर्यताले साथ दिएन । त्यसपछि घर जाने मन पनि मर्न थाल्यो ।
निकै धेरै दिनसम्म पनि घर नजाँदा मीत बा र मितिनी आमाले फोन गरेर बोलाउनुहुन्थ्यो । सञ्चोबिसञ्चो सोध्नुहुन्थ्यो । तर उता अनिसाले भने मसँग दुरी बढाउँदै लान थाली । यसै क्रममा हामी विचको फाटो सायद मितिनी आमाले थाहा पाएर चिन्तित हुन लाग्नुभएछ । एक दिन मलिन स्वरमा फोन गरेर ‘छोरो तिमी कहाँ छौ ? कामले हो कि ? यत्तिकै बाहिर छौ ? घर आउने गर बाबु ल ....’ भन्नुभयो । मैले ‘काममै व्यस्त भएर हो आमा... फुर्सद हुँदासाथ आइहाल्छु नि आमा ...’ भनेर टारेँ । त्यसपछि एउटा–एउटा बहाना बनाएर घर जानै छाडेँ । यसविचमा मितिनी आमाले धेरैचोटी फोन गरेर मलाई बोलाई रहनुभएको थियो । तर म जाँदै गइन ........
एकदिन अचानक मीत बा ले फोन गर्नुभयो ‘मोहन कहाँछस् ? तुरुन्त काठमाण्डौ न्युरो हस्पिटल आइज, भरतपुरले रिफर गरेपछि यहाँ ल्याएर आइसियुमा राखिएको छ आमालाई.... ’ तत्काल प्लेनबाट काठमाण्डौ पुगें । आमा बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन । आँखा भने ट्वाल्ल हेरिरहनु भएको थियो । हठात् जिउभरी ४४० भोल्टको करेण्ट लागेझैं झड्का लाग्न थाल्यो । भुमरीले बेरेर छाँगाबाट खसेझैं हुन थाल्यो । अनुहारभरी चिट्चिट् पसिनाको खोलो बग्न थाल्यो । सुन्ने र सुनाउने जो–जो भए पनि आखिर आमाको चिन्ता बढाएर यो हाल बनाउने दोषी मै हुँ । पश्चाताप र ग्लानीले मन हुँडलेर ल्यायो । आमाले खुवाएको खाना, गुन्द्रुक साँदेको अचार र जम्मु झानेको मासको दाल आहा ! सम्झेर पुराना दिन रोमाञ्चित हुने छुट थिएन मलाई । थचक्क भुइँमा बसेर टाउको ठोक्न थालेँ । मीतबाले पाखुरो समातेर ‘आमालाई निको हुन्छ, बाबु, भगवान हुनुहुन्छ नि हाम्रो साथमा आत्तिनु हुँदैन....’ भनेझैं लाग्थ्यो ।
जिन्दगीको गोरेटोमा सँगालिएका याद,हर्ष र विस्मात वा रोमाञ्चकता क्षणिक रहेछन् । कहाँबाट कहाँ पुर्याउँदोरहेछ नियतीले थाहै नहुने । गल्ती र भुलहरु सच्चाउन पनि नपाइने । मौका र परिस्थिति आँफुले चाहे अनुसार नहिँड्ने रहेछन् जिन्दगीमा । सम्बन्ध,मिलन र प्रेम आफुले चाहे जसरी कहाँ सजाउन सकिने रहेछ र ? कुरा काट्नेहरु र इष्र्या गर्नेहरुको दुनीयाँमा प्रेमले हार्न पर्ने रहेछ । कसले फुटाइदियो, सुन्दर संसार सजाइएको त्यो दुर्लभ फ्रेम ? धेरै चोटी खोजेँ, मौनतामा घोत्लिएँ अनि रोमाञ्चकताका पुराना यादहरु ताजा गराउने भरमग्दुर प्रयत्न गरेँ, तर सकिन, अहँ सक्दै सकिन ।
धेरै चोटी मीत बा को अनुहार पढिरहेँ । आमालाई गुमाएको भावले अघाइसक्नुभएको थियो । पीर र वेदनाले भक्कानिएको अनुहारले एकोहोरो मतिर हेरिरहनुभएको थियो । मैले भने मन थाम्ने छुटै पाइन । घरी–घरी मनमा बिझाइरहन्छ सुनाउनेका कुरा नसुनेका भए सायद नभत्किन सक्थ्यो जिन्दगी ! अब हरेक क्षण एउटा भाला रोपिइरहने भयो मुटुमा, एउटा काँडा बिझिरहने भयो मनमा । कहाँ जाउँ कसलाई सुनाउँ यो दर्दनाक पिडा ! केही छैन संसारमा, कोही छैन संसारमा । फर्केर मीत बा को अनुहार हेर्नै सकिन ।
आँखाभरी काला छिटाका बाछिटा मडारिएर निष्पट्ट अँध्यारो छायोे । वरिपरि हेर्ने खुवै प्रयत्न गरिरहेँ केही देख्नै सकिन । दाह्रा किटेर चिच्चाउन खोजेँ, आमा हजुरको यो हाल बनाउने दोषी म हुँ ....... तर मेरो आवाज हावामा बिलिन भएर गयो । आमाले सुन्दै सुन्नुभएन ......अहँ सुन्नुभएन .......... ! ! ! ! ! ! ! ! ! ! ! ! !
