• राजनीति
  • माओबादी  पार्टी २०६४ अगाडीको लयमा फर्किने...

माओबादी  पार्टी २०६४ अगाडीको लयमा फर्किने दाबी

माओबादी  पार्टी २०६४ अगाडीको लयमा फर्किने दाबी

भुइँ पाटी
आइतवार, भाद्र ९ २०८१

  • काठमाण्डौ - नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी २०८४ को निर्वाचनमा  २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताउनु भएको छ । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्नु भएको छ । शनिवार पार्टीको नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै उहाँले माओबादी बलियो हुने दाबी गर्नु भएको हो ।
    अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै हाराहारीमा पुर्‍याउने सूत्र पनि कार्यकर्ताहरूलाई सुनाउनुभयो । ‘अब हामी २०६४ को निर्वाचनमा मत दिने जनताको घरघरमा जानेछौँ, हामीले गर्न सकेका र नसकेका कामको आत्मसमीक्षा गर्दै विभाजन भएर गल्ती गर्‍यौँ अब नयाँ भएर आएका छौँ भनेर प्रतिबद्धता व्यक्त गर्ने छौँ’– उहाँले भन्नुभयो । ‘२०६४ को निर्वाचनमा मत दिने जनताका छोराछोरी देशभित्र वा बाहिर कहाँ छन् खोजी गरेर उनीहरूको देश र पार्टीप्रतिको बुझाई अनि आफ्नो भविष्यबारे के सोचिरहेका छन्, गहिरो छलफल गर्न हामी सबै लाग्ने छौँ।’
    त्यस्तै जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरूका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालनका लागि पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले आफू देशव्यापी अभियानमा निस्कन थालेको बताउनुभयो ।
    परिवर्तनको महत्त्वपूर्ण आधार जनयुद्धको महत्व स्थापित गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘जनयुद्ध दिवसलाई राष्ट्रिय बिदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामी अघि अघि बढाएका छौँ । चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौँ ।’
    पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएर गएका पार्टीहरूसँग पनि एकता प्रक्रिया चाँडै सुरु हुने बताउनुभयो । ‘तीन प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको बैठक सकिएको छ’– उहाँले भन्नुभयो– ‘पार्टी पूर्णरुपमा एकताबद्ध छ । हाम्रो पार्टीलाई कसैले फुटाउन सक्दैन बरु फुटेर गएका शक्तिलाई पनि केही समयभित्रै  एक बनाएर लगिने छ, एकता वार्ता चलिरहेको छ, छिट्टै एकता हुनेछ ।’

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend