विपदबारे सूचना लिनेदिने प्रविधिको परीक्षण

विपदबारे सूचना लिनेदिने प्रविधिको परीक्षण

भुइँ पाटी
शनिवार, भाद्र २२ २०८१

  • शनिबार, २२ भदौ २०८१
    काठमाडौँ – धादिङका तीन स्थानीय तहमा विपद््बारे सूचना आदान प्रदान गर्न सकिने नयाँ प्रविधिको परीक्षण सुरु गरिएको छ । 
    धादिङको नीलकण्ठ नगरपालिका, बैरेनी र बेनीघाट रोराङ्ग गाउँपालिकामा थाइल्यान्डमा रहेको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (एआईटी) विश्वविद्यालयका प्राध्यापक डा. इन्द्रजीत पलले प्रतिपादन गर्नुभएको विपद्को सूचना आदान प्रदान गर्ने क्रिस्टा एपको परीक्षण सुरु गरिएको हो । 
    विपद्् जोखिम न्यूनीकरण सञ्चार समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा त्यस प्रविधि लागू गर्ने परियोजनाकी कार्यक्रम अधिकृत युरिसा उपाध्यायले विपद््बाट हुने क्षति न्यूनीकरण गर्न आफूहरूले लागू गर्न लागेको प्रविधिले ठुलो सहयोग गर्ने दाबी गरिन । 
    क्रिस्टा एपको प्रयोग गरेर विपद््को सूचना जुनसुकै व्यक्तिले सम्बन्धित निकायमा दिन सक्ने र सम्बन्धित निकायले त्यसैका आधारमा प्रतिकार्य वा उद्धारका कार्य प्रभावकारी रूपमा सम्पादन गर्न सक्ने उनको भनाई छ । 
    उनका अनुसार यो प्रविधिको प्रयोग गर्न सम्बन्धित निकाय (स्थानीय प्रहरी कार्यालय वा पालिकाको कार्यालय) मा सामान्य सूचना प्रणाली जडान गरिन्छ । त्यसपछि सम्बन्धित क्षेत्रका बासिन्दालाई एप डाउनलोड गर्न लगाइन्छ । त्यसपछि सम्बन्धित क्षेत्रमा कुनै पनि विपद्का घटनाको सङ्केत, सूचना, जानकारी केही भएमा थाहा पाउनेले तत्काल फोटो वा भिडियो वा अडियो वा अक्षरमा एपमार्फत जानकारी गराउन सक्छ । थाहा पाउने व्यक्तिले ती विवरणहरू पठाउने बित्तिकै उद्धार टोली रहेको ठाउँमा आपत्कालीन सङ्केत जान्छ ।
    त्यही सूचना, सङ्केत, फोटो, भिडियो, अडियोका आधारमा उद्धार सामग्रीहरू सहित उद्धार टोली तत्काल घटनास्थलमा पुग्न सक्छ । फोटो वा भिडियोमा सूचना तथा जानकारी दिँदा घटनाको अवस्था र आवश्यक सामग्रीहरू के के चाहिन्छ भन्ने यकिन गर्न सजिलो हुने भएकाले पनि यसको प्रभावकारिता हुने देखिएको छ । 
    यो प्रविधिको प्रयोग गर्दा स्थानीय बासिन्दा वा प्रत्यक्षदर्शीहरूले विवरण पठाउन सजिलो हुने, प्राप्तकर्तालाई घटनाको वस्तुस्थिति बढी थाहा हुने, विवरणहरू विश्वसनीय हुने, विवरणहरूको परीक्षण गर्न सजिलो हुने, सूचनादाताले पठाएको फोटो वा भिडियोका आधारमा जिपिएस मार्फत घटनास्थल पनि सजिलै यकिनहुने, घटनास्थलको फोटो भिडियोका आधारमा उद्धार सामग्रीहरूको आवश्यकता पहिचान गर्न सजिलो हुने अन्तरक्रियामा सहभागी पत्रकार सुरेन्द्र पाण्डेले अनुभव सुनाए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend