४ कात्तिक, पोखरा । आफ्नो सभापती पक्राउको बिरोधमा उत्रेका रास्वपा कार्यकर्तामाथी प्रहरीले बल प्रयोग गरेको छ । रास्वपा सभापती रबी लामिछाने गोरखा मिडिया प्रा.लि.को हर्ताकर्ता भएका बखत दर्जनौ सहकारी ठगी गरेको आरोपमा शुक्रबार काठमाण्डौबाट पक्राउ परेका थिए । अनुसन्धानकै दायरामा रहेका उनलाई पक्राउपछि पोखरा ल्याइएको थियो । आज आइतबार अदालतमा उपस्थि गराइँदै गर्दा उनको समर्थनमा रास्वपा कार्यकर्ताहरु बिरोधमा उत्रिएका थिए ।
बिरोधमा उत्रिएका कार्यकताको भिड नाराबाजी सहित अनियन्त्रित हुन थालेपछि प्रहरीले सामान्य बलप्रयोग गरेको छ । त्यसक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।
पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेका छैनन् ।
अटेरी गरे थप बल प्रयोग गर्न बाध्य हुने प्रहरीले माइकिङ गर्दै चेतावनी दिइरहेको छ ।
शुक्रबार काठमाण्डौबाट ल्याइएका सभापति लामिछानेलाई शनिबार सार्वजनिक बिदा रहेकाले आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।
यस्तै लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन सहकारी पीडितहरुको समेत मुस्ताङ चोकमा प्रदर्शन भइरहेको छ ।
