पोखरा १२ कात्तिक
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तरगत सुत्ने सुविधा र सोफा सहितको बस सेवा सोमवारदेखि शुरु भएको छ । कम्पनीको मातहतमा रहेको कोईली ट्राभल्स प्रा. लि.ले यस्तो सुविधा सहितको बस सेवा सञ्चालनमा ल्याएको हो ।
पोखराको हेमजाबाट भक्तपुरसम्म उक्त सेवा हरेक राती प्रदान गरिने ट्राभल्सका संचालक अशोक कुमार चौधरीले बताए । उनका अनुसार अहिले दैनिक दुईवटा बसबाट सेवा प्रदान गरिनेछ । बस हेमजाबाट छुटेर पोखराको राष्ट्रबैंकमा रहेको पर्यटक बसपार्क हुँदै भक्तपुर पुग्नेछ ।
बसमा २१ वटा सोफा सिट रहेका छन् भने, ८ वटा सुत्ने विस्तारा रहेका छन् । बसको एकतर्फी भाडा १ हजार ६ सय रुपैंया कायम गरिएको छ । उक्त रकममा पानी, चिया र खाजा ट्राभल्सले उपलब्ध गराउनेछ । दुईवटा बसमा दुई करोड रुपैंया लगानी भएको चौधरीको भनाई छ ।
यस्ता बसमा स्थानीय यात्रुहरुलाई उकाल्ने र ओराल्ने गरिने छैन, पोखराबाट छुटेपछि निश्चित स्थान बाहेक सिधा गन्तव्यमा पुर्याईने दावी कम्पनीको छ ।
उक्त बस सेवाको सोमवार कम्पनीका संरक्षक तथा अग्रज यातायात व्यवसायी केशव अधिकारीले उद्घाटन गरे । सो अवसरमा उनले उपभोक्ता र समयको माग अनुसार कम्पनीले सुविधा सहितका गाडीहरु थप गरिरहेकोमा खुशी व्यक्त गरे ।
पृथ्वी रागमार्ग मातहत नयाँ नयाँ व्यवसायीहरु थपिनु भनेको लगानीकर्ताले पृथ्वीको संरक्षकत्वमा लगानी सुरक्षित भएको विश्वास भएको उनको भनाई थियो । यस्ता सुविधाले यात्रुले रातभरी निदाएर भोलीपल्ट काठमाडौंको काम सकेर पुन सुतेरै पोखरा फर्कन सक्ने उनको दावी छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्रबहादुर के.सी.ले पृथ्वी राजमार्गको यातायात सेवाको गुणस्तरको बारेमा गुनासो गरिरहँदा यस्ता सुविधायुक्त गाडी थपिनु भनेको गुनासा सम्बोधन गर्नु पनि भएको उल्लेख गरे ।
कम्पनी अन्तरगतको सेवामा अझै पनि कर्मचारीको व्यवहारमा सकारात्मक परिवर्तन, खाजा खाना खाने ठाउँमा हुने गरेका सिण्डिकेट हटाउने लगायतका विषयमा क्रमशः सुधार गर्न लागिएको उनको दावी थियो ।
