प्रविधि दुरुपयोगको चिन्ता !

खवर हराएको सूचना !

खवर हराएको सूचना !

आइतवार, मंसिर १६ २०८१

  •                                     –राम्जी आचार्य
    उनताका बम्बैमा रहेको ढुङ्ग्यारे ठूलाको चिठी आउँदा छिमेकमा पढ्ने मान्छे नभएर डाँडापारी मास्टरलाई बोलाएर ल्याइन्थ्यो । उताबाट कुनै लाहुरे आउँदै रहेछन् भने हाते चिठी आउँथ्यो नत्र छिमेकी जिल्लाको हुलाकहुँदै घरमा लाहुरेको चिठी आउन ठ्याक्कै तिन महिना लाग्थ्यो । महिनौं पछि आउने चिठी अरुले पढेर सुनाउँदा मनै हुरुक्क हुन्थ्यो । ‘म यहाँ सञ्चै छु, त्यहाँ पनि तपाइँहरु सञ्चै हुनुहोला भन्दै भगवान पशुपतिनाथसँग प्रार्थना गर्छु ।’ जस्ता शब्दहरुले मन खान्थे । त्यस्तै लाहुरेनीलाई सम्बोधनगर्दै ‘ प्रिय तिमिलाई रातो सारी र रातै रुमाल पठाइदिएको छु । ......सम्झनाको लागि’ जस्ता शब्दहरु सुन्न पाउँदा हामी केटाकेटीहरु लाजले टाउको निहुराउँथ्यौ । तर लाहुरेनी काकीले यादमा डुबेर रुन मात्र नसकेको अनुहार देखाउँदा हामीलाई पनि चसक्क हुन्थ्यो ।

    प्रविधि दुरुपयोगले बच्चा र वयस्कहरु बिग्रने भय त छँदैछ । त्यसमाथी सामाजिक सञ्जालमा व्यस्त मान्छेले कहिलेकाँहि ‘आइ लस्ट माइ मम, जस्ट नाओ’ जस्ता मार्मिक शब्दहरुलाई पनि सहजै पोष्ट गरिदिन्छन् । र सगौरव घाटमा चिता जल्दै गरेको दृष्यहरुलाई साझा गर्छन् । कहिलेकाँही ‘फेसबूक लाइभ’ गरेर आत्महत्या गरेका युवायुवतीको समाचारहरु पढ्दै गर्दा लाग्छ, अब मन पनि बाँकी छैन । यस्तै यावत दृष्टान्तहरु भोगिरहँदा आजको परिवेशले मान्छेहरुलाई धैर्य गर्न र दुरद्रष्टा बन्न सिकाउँदैन । मान्छे एकलकाटे र घमण्डीका साथै असामाजिक बनेर देश र दुनियाँलाई बिर्सँदै छ जस्तो लाग्छ । 


    घरभरी तिन बथान बाख्रा र दुईबथान गाइगोरु हुन्थे । एकैसाथ तिनचारवटा दुहुना भैंसी र गाई हुन्थे । ‘किचकलाई नमौलाएको दुध ख्वाउनु है ! आङा र गुडुराको भात ख्वाउनु नत्र बिमार हुन्छन् यिनीहरु’ बुढो बुवाले बुढी आमा र आमाहरुलाई अहर्याउनुहुन्थ्यो । शनिवार र विदाको दिन काका र दिदीहरुको साथ लागेर गोठालो गइन्थ्यो । हामीभन्दा ठुला दाईहरु पनि आफ्ना गाइबाख्रा लिएर वन आएका हुन्थे । वनभरी गोठाला–गोठालीहरुको ‘यानीमाया’  र ‘सालैजो’ गुञ्जिँदा लुकेर नाचिन्थ्यो । 
    माइला बुढो बा ! ले छैरेको चौतारीमा बसेर आँफु किशोर हुँदा लेकको गोठमा बसेर खिर खाएको, बटौली र पुत्लीखेतबाट नुन बोकेर ल्याएको, थाकखोला मुस्ताङ पुगेर चामलसँग नुन साटेको जस्ता पुराना कथाहरु सुनाउँदा आश्चर्य लागेर आउँथ्यो ।
    हामी आठ नौ जना केटाकेटी सहित २०–२२ जनाको परिवारलाई दशैं र तिजमा एकमुष्ठ लुगा आउँथे । एकाध वर्षमा आइपुग्ने नयाँ लुगा लगाउन पाउँदा मन फुरुङ्ग हुन्थ्यो । लुगा भिरेको दिन देखाउनलाई भनेर गाउँलाई तिन फन्का लगाइन्थ्यो । 
    पाखा–भिर चाहर्ने, आँप र अम्बा चोर्ने, स्कुलबाट भागेर खोलामा पौडिन जाने जस्ता बदमासी निकै गरिन्थ्यो । होमवर्क नगर्ने र ढाँटेर टारिदिने गरेपछि सरहरुका सिठाले डाढ निकै सोझिन्थ्यो । तर पनि आँफुले बदमासी गर्दा सरले कुटेको खवर घरसम्म पुर्याउन निकै डर लाग्थ्यो । 
    अल्लि किशोर भएपछि मनोरञ्जनको तौरतरिका पनि फेरिन थाल्यो । गीत संगित सुन्नलाई रेडीयो नेपालनै सुन्नुपर्ने । फिल्म हेर्नलाई बजारनै पुग्नुपर्ने । नजिकको बजार बाग्लुङमा पुजा चलचित्र मन्दिर थियो । दुइ महिना जतिमा नयाँ नेपाली फिल्म आइपुग्थ्यो । ओडारचौर कटेपछि उपल्लाचौर कटहरको रुखनेरको घरमा चलेको फिल्मको पोष्टर टाँसिएका हुन्थे । कहिले काही हलमा टिकट पाइएन भने त्यही पोष्टरका आधारमा स्कूलमा पुगेर साथीहरुलाई गफ दिइन्थ्यो । 
    मेलापात र घाँस काट्न जाँदा पनि रेडियो झोलामै बोकेर हिँडिन्थ्यो । किनभने मनपर्ने कार्यक्रमहरु छुट्न सक्थे । अनुरोध संगीत र गीतीकथा त छुट्नै नहुने । नवराज लम्सालले वाचन गर्ने कथा रातको नौ बजे पछि आइपुग्थ्यो, जति सुने पनि धितै नमर्ने । कहिलेकाँही आफैले लेखेको कथा वाचन भइँदिदा र आँफुले अनुरोध गरेको गीत बज्दा त भुइँमै खुट्टा हुँदैन्थे । झन् क्याम्पस जाँदा र चिनेका साथीभाइले साथीभाइले रेडियोमा तैंले लेखेको कथा र अनुरोध गरेको गीत बज्यो यार, भन्दा झनै फुरुङ्ग परिन्थ्यो । 
    जे होस ऊ बेलाको समय सन्दर्भ र परिवेशले गाउँमा अडिन जस्तो मज्जा अरुथोक थिएन । त्यो बेलाको प्रतिष्पर्धा, त्यो बेलाको सन्दर्भले जहान परिवार र केटाकेटीलाई अड्याई राख्न निकै सहज थियो । 
    त्यसपश्चात शुरु भएको बजारिया मोहले भने परिवेशहरु बिथोल्यो कि भनेझैं लाग्छ । छोराहरु विदेशमा,  बुहारीहरु शहरमा, केटाकेटीहरु बोर्डिङमा हुने दिन आए । गाउँका मात्रै होइन बजारकै बच्चा बच्चीहरु पनि भुल्नलाई र खेल्नलाई नयाँ प्रविधि र सन्दर्भहरु आइसके । 
    इन्टरनेट र सामाजिक सञ्जालको व्यापक विस्तारले बच्चा देखि व्यस्कहरु सम्मलाई गाँज्नु गाँजेको छ । उ बेलाका तन्नेरी र विद्यार्थीहरु फुर्सदमा धर्म, साहित्य र शास्त्र आदिका नीति कथा पढेर ज्ञान आर्जन गर्दथे । अनुशासन सिक्थे र सुसंस्कृत हुन्थे । अपवाद वाहेक उ बेलाको सन्दर्भले सामाजिकरण सहज बनाएको थियो जस्तो लाग्छ । तर अहिलेको सन्दर्भ र प्रविधिले सामान्य मानवीयता जगाइ राख्न पनि नसक्ने हो कि ? भनेझैं भएको छ । 
    “गुगल”, “ए आइ” र “च्याट जिपीटी” लगायतले सहजै उपलब्ध गराउने सामाग्रीहरुले मान्छेलाई दिमाग खर्चन परेको छैन । सामाजिक सञ्जालको उपलब्धताले मान्छेलाई चिनापर्जी र देखादेख गरिरहन सहज भएको छ । जमघट र सामाजिक कर्तव्यहरु निभाउनलाई घरभित्रै काफि छ । यस हिसावले नयाँ भित्रिएको प्रविधिले सहजता त भित्राएको छ । तर धेरथोर मात्रामा मानवीयता पनि हराउँदै गयो कि, भन्ने पनि छ । 
    प्रविधि दुरुपयोगले बच्चा र वयस्कहरु बिग्रने भय त छँदैछ । त्यसमाथी सामाजिक सञ्जालमा व्यस्त मान्छेले कहिलेकाँहि ‘आइ लस्ट माइ मम, जस्ट नाओ’ जस्ता मार्मिक शब्दहरुलाई पनि सहजै पोष्ट गरिदिन्छन् । र सगौरव घाटमा चिता जल्दै गरेको दृष्यहरुलाई साझा गर्छन् । कहिलेकाँही ‘फेसबूक लाइभ’ गरेर आत्महत्या गरेका युवायुवतीको समाचारहरु पढ्दै गर्दा लाग्छ, अब मन पनि बाँकी छैन । यस्तै यावत दृष्टान्तहरु भोगिरहँदा आजको परिवेशले मान्छेहरुलाई धैर्य गर्न र दुरद्रष्टा बन्न सिकाउँदैन । मान्छे एकलकाटे र घमण्डीका साथै असामाजिक बनेर देश र दुनियाँलाई बिर्सँदै छ जस्तो लाग्छ । 
     माया, प्रेम जस्ता भावनाका कुरामा होस् वा बौद्धिकता, सभ्यता र संस्कृति जुनसुकै कुरामा पनि उहिलेको र अहिलेको सन्दर्भ नियाल्दा लाग्छ नयाँपुस्तालाई धैर्य हुनलाई सिक्नुपर्ने निकै धेरै छ । बनिबनाउ युगका प्रविधिहरुले मान्छेलाई ‘रोबोट’ बनाउँदै गरेको यथार्थ देख्दा पनि इतिहास र परम्परा भुल्न नहुने कुरा थाहा लाग्छ । 
    राती सुत्ने बेलामा पनि र बिहान उठ्दै गर्दा जुनसुकै बेला युरोप रहेका बाबाले नेपालमा रहेका छोराछोरीलाई भन्छन् ‘बेटा बाथरुम छिरेको छु, एकैछिन पख !’ यो समय र र यो विश्वव्यापीकरणको सहजताले मान्छेहरुलाई गर्नु गरेको छ । र नगर्नु पनि गरेको छ । अनि घरिघरि उहिलेकै कुरा सम्झनामा आउँछ । ‘एन्ड्रोइड’ र ‘किबोर्ड’ का अक्षरहरुमा औंला खेलाउँदै गरिने ‘च्याट’ र ‘भ्वाइसमेल’ पनि पुरानो भएर अबत ‘भिडियो कल’ रे ! सूचना आदान–प्रदानको यो सहजताले कसलाई आनन्द नआउला ?  तथापी यतिधेरै सुखभोग गरेका मान्छेहरुमा मेहनत र धैर्यता गर्नसक्ने क्षमतामा भने पक्कै ह्रास आउँदै गएको देखिन्छ । 
    यिनै आरोह–अवरोह नियाल्दा उहिले प्रियजन र प्रेमी–पे्रमीकाले पठाउने सुखद खवरहरु पाउन महिनौ कुर्नु पर्दथ्यो । तै पनि कुराइको छुट्टै आनन्द अनुभुती हुन्थ्यो, अहिले त सेकेण्डमै आइपुग्ने खवरहरु पानीको फोका जस्तै । छिनछिनमै परिवर्तन भइरहने प्रविधिले सहजता त ल्याएको छ तर मन राख्न त नसक्दो रहेछ । अनि छोराछोरी झुण्डिरहने ‘म्यासेन्जर’ र ‘च्याट बक्स’हरुमा पुटुङटुङ बज्ने घण्टीहरु सुन्दा सम्झना आउँछ, उनताका महिनौमा आइपुग्ने खवरहरु कता हराए होलान् ...............! ! ! ! ! ! ! ! ! ! ! ! ! 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend