• राजनीति
  • मओवादी स्थायी समिति बैठकमा विशेष महाधिवेशनबारे...

मओवादी स्थायी समिति बैठकमा विशेष महाधिवेशनबारे चर्चा

मओवादी स्थायी समिति बैठकमा विशेष महाधिवेशनबारे चर्चा

भुइँ पाटी
शनिवार, पौष २० २०८१

  • २० पुस २०८१ 
    काठमाडौँ, नेकपा माओवादी केन्द्रभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयलाई लिएर घनिभुत छलफल भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा महाधिवेशनको तयारी गर्नुपर्ने भन्दै आफ्ना धारणाहरु पेश गरेका थिए । 
    उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण, विचार संश्लेषण गर्दै विधान अधिवेशनले दिएको म्याण्डेट अनुसार आगामी असोज वा कात्तिकसम्म विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा राख्नुभएको स्रोतले बतायो ।
    त्यस्तै माओवादीका वैचारिक र प्रवाभशाली उपमहासचिव वर्षमान पुनले पनि महाधिवेशनको तयारीमा लाग्न सुझाएको बैठकमा उपस्थित एक नेताले बताए । 
    यस्तै उपमहासचिवहरु गिरिराजमणि पोखरेल तथा हरिबोल गजुरेलले पनि बैठकमा आफ्ना धारणाहरु राखेका थिए । गजुरेलले पार्टीलाई बलियो बनाउन पूर्वी क्षेत्र(सहरी) क्षेत्रमा संगठन विस्तार, ठुल्ठुला कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए भने पोखरेलले यथास्थितिबाट पार्टी अगाडि बढ्न नसक्ने धारणा राख्दै जनता केन्द्रित योजना ल्याउनुपर्नेमा जोड दिएक बताइएको छ ।
    सचिवद्वय देवेन्द्र पौडेल र चक्रपाणी खनालले पनि बैठकमा धारणाहरु पेश गरेका थिए । पौडेलले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत दस्तावेजको समर्थन गर्दै केन्द्रीय समिति बैठकमा लिखित रूपमा पेस गर्न सुझाउँदै मध्यपूर्व, रसिया–युक्रेन युद्ध, अमेरिका र चीनबिच हुनसक्ने तनाव, इजराइल–प्यालेष्टाइन तनाबबारे पार्टीले स्पष्ट नीति ल्याउनुपर्ने तथा  समाजवादी आन्दोलनलाई अगाडी बढाउन नेताहरुको जिम्मेवारी बाँडफाँड गर्नुपर्ने बताए । यस्तै पार्टीले वैचारिकभन्दा व्यावहारिक विषय खोज्नुपर्ने, उत्पादनमा जोड दिनुपर्ने पौडेलको सुझाव थियो ।
    सचिव चक्रपाणि खनालले विगतमा श्रममात्रै विदेशमा पलायन हुने गरेकोमा अहिले श्रम र पुँजी दुवै पलायन हुने गम्भीर स्थिति रहेको भन्दै यसलाई सम्बोधन गर्नेगरी प्रतिवेदन ल्याउन उनले सुझाव दिएका थिए । 
    बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सबैको जोड समाजवादी धाराको विकासमा रहेको स्पष्ट पारे । यस्तै पार्टीले अगाडि सारेको दुई वटा अभियानलाई सफल बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको सापकोटाले बताए । बैठकको सुरुमै प्रचण्डले आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक दस्तावेजबारे संक्षिप्तमा नेताहरूलाई जानकारी गराएका थिए । 
    समसामयिक विषय, पार्टी रूपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा नेताहरूले धारणा राखेको सापकोटाले बताए । शुक्रबारको बैठकमा ३० जना स्थायी समिति सदस्यले धारणा राखेका थिए । शनिबार २ बजे बस्नेगरी बैठक स्थगित भएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend