प्रनिश गिरी/कुश्मा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले पर्वत जिल्लाको जलजला गाउँपालिकामा पर्ने सुन्तला गाउँ भनेर चिनिने बाँसखर्क गाउँको बाटोको अप्ठ्यारोलाई प्रदेश सरकारले सम्वोधन गर्ने बताएका छन् । बाँसखर्कमा आयोजित एक दिने सुन्तला महोत्सवमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो आश्वासन दिएका हुन् ।
कृषि र पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भने, ‘कृषकहरुलाई अनुदान दिँदा उत्पादन गर्छु भन्ने नाममा हैन कि उत्पादन गरेकाहरुलाई अनुदान दिने हाम्रो नीति हो । गाउँमा सामुहिक रुपमा जे व्यावसायिक उत्पादन हुन्छ । उत्पादनलाई सरकारले बजारीकरण गर्छ । बजारीकरणका लागि सडक प्राथमिकतामा पर्छ । सडक व्यवस्थित नहुँदा ढुवानीका लागि जे अप्ठयारो स्थानीयलाई भएको छ । यो अप्ठयारोलाई अव छिटै नै सरकारले सम्वोधन गर्नेछ ।’
‘स्थानीयबासीलाई बाटो निर्माण गर्न सहयोग गर्ने आश्वासन दिदै मुख्यमन्त्रीले भने, ‘हाम्रा चाहना र आवश्यकताहरु धेरै छन् । सवै कुरा एकैचोटी पुरा हुन्छ भन्ने पनि होइन । क्रमिक रुपमा गर्न त्यसलाई प्रयत्न गर्दैछौ । यो वर्ष मात्रै पनि जलजला गाउँपालिकामा मात्रै पनि पूर्वाधार निर्माण योजनामा करीव ११ करोड प्रदेश सरकारले विनियोजन गरेको छ । बासखर्कमा आउने बाटोमा पनि यस वर्ष ३० लाख विनियोजन भएको छ । अझै अर्को छोटो पर्ने बाटो निर्माणका लागि १ करोड विनियोजन भएको छ । कमसेकम एउटा बाटोलाई बहुवर्षीयमा लैजान सक्ने हो भने ढुवानीको समस्या समाधान गर्छ ।’
बाँसखर्कलाई गण्डकी प्रदेश सरकारले सुन्तला जोनको रुपमा अगाडि बढाउने बताएको छ । पाण्डेले बाँसखर्कलाई सुन्तला जोनको रुपमा अगाडि बढाएपछि अहिलेको सुन्तला विक्रीको आम्दानीलाई वृद्धि गरी वार्षिक ४० करोड पुराउने सम्भावना रहेको बताए । प्रदेश सरकारले पूर्वाधार निर्माणमा पर्वत जिल्लामा मात्रै १ अर्व भन्दा बढी लगानी गरेको मुख्यमन्त्री पाण्डेको भनाई छ ।
