• राजनीति
  • नेपाली जनताले सरकारको विकल्प खोजिरहेका छन्...

नेपाली जनताले सरकारको विकल्प खोजिरहेका छन् : नेपाल

नेपाली जनताले सरकारको विकल्प खोजिरहेका छन् : नेपाल

मंगलवार, माघ १५ २०८१
  • काठमाडौं, १५ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

    मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताएका छन् ।

    वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको उनको भनाइ छ । उनले जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत उल्लेख गरे ।

    प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरुलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

    उनले भने, ‘संसदमा रहेका विपक्षी पार्टीहरुलाई पनि हामी गोलवद्ध गरौं । त्यो जिम्मेवारी पनि हाम्रो काँधमा रहेको छ । त्यसको लागि हामीले बोलायौं पनि कति जना आउनु भएन । कसैकसै पार्टीलाई मनले भन्छ समाजवादी मोर्चामा जुट, तनले भन्छ पख पख । केही पार्टीहरु समाजवादी मोर्चामा आउन चाहेर पनि आउन सक्नु भएको छैन । हामी एकतावद्ध हुने कुरामा पर्खिन तयार छौं । कतिपय प्रतिपक्षी पार्टीहरुलाई पनि हामीले बोलाउने सन्दर्भमा चित्त नबुझेको र केही परिस्थितको कारण सहभागि हुन सक्नु भएन । यो सरकारको कामबाट उहाँहरु निराश हुनुहुन्छ । जनता निराश छन् । जनतामा कुनै आशा जाग्न सकेको छैन । परिणाममुखि कुनै काम हुन सकेको छैन । वर्तमान सरकार गफमा निकै अगाडि र परिणामा निकै पछाडि छ । यो स्थिति भएको हुनाले वास्तवमा मानिसहरुमा विकल्पको खोजि जारी छ । अहिले होइन । त्यसो भएको हुनाले हामी २०८४ को कुरा गरिरहेका छौं । ८४ को चुनावको शिलशिलामा जनताको माझमा प्रत्येक पार्टीहरु, समाजवादी अभियानका अभियान्ताहरु अगाडि बढ्नुपर्ने आवश्यकता छ । हामीले दशौं महाधिवेशन सम्पन्न गरेर वैज्ञानिक समाजवादको कार्यक्रम अगाडि सारेको छ ।’

    समाजवादी मोर्चा समाजवादी विचारको आधारमा निर्माण गरिएको उल्लेख गर्दै सबै मिलेर मोर्चाको औचित्य पुष्टि गर्नुपर्ने उनले जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend