प्रनिश गिरी /पर्वत
पर्वतको जंगल क्षेत्रलाई पकेट क्षेत्र तोकेर संरक्षण उपयोगको नीति अवलम्वन गर्न नसक्दा वनजन्य बहुमूल्य जडिबुटी चोरी निकासी भई मासिने खतरा बढेको छ । जिल्लाको आर्थिक विकासको मुख्य आधार मानिने जडिबुटी संरक्षण र प्रवद्र्धनमा कसैको चासो पुगेको छैन ।
उच्च पहाडी भेगमा पाइने धेरैजसो बहुमूल्य औषधीय गुणयुक्त जडिबुटीहरु अल्लो, सत्तुवा, नागबेली, पाखनवेद, रक्तमूल, भूतकेश, चिराइतो, पदमचाल, वज्रदन्ते पर्वतमा पाइन्छन् ।
त्यसैगरी सुनाखरी, चिराईतो, अर्गेली, टिमुर, ढकायो, चुत्रो, लोक्ता, सिल्टीमुर, धसिङ्रे, खोटो, हर्रो, बर्रो लगायतका महत्वपूर्ण जडिबुटी समेत प्रशस्तै पाइन्छ । डिभिजन वन कार्यालय पर्वतका अनुसार जडिबुटी पकेट क्षेत्र तोक्न नसक्दा कुन स्थानमा कुन जडिबुटी कति परिमाणमा पाइन्छ भन्ने कुरा यकिन हुन सकेको छैन भने चोरी निकासीकै कारण जडिबुटीको आनुवंशिक स्रोत नष्ट हुने खतरा त्यत्तिकै छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने ३ हजार मीटर उचाईसम्म फैलिएका सामुदायिक वनहरु सहस्रधारा सामुदायिक वन, खर्सुवास सामुदायिक वन, रेसापातल सामुदायिक वन, ठुला टाउका गैडाखर्क सामुदायिक वन, छिपछिपे सिलिङ्गे सामुदायिक वनहरुमा प्रशस्तै औषधीय गुणयुक्त जडिबुटी प्रजातिका वनस्पति पाइन्छन् । रेसापातल सामुदायिक वन लेस्पारका अध्यक्ष रहेका ७३ वर्षे टेकबहादुर पुनले महत्वपुर्ण जडिबुटीहरु मासिदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले जडिबुटीको प्रयोग गरी गाउँलेको उपचार समेत गर्दै आएका छन् ।
अध्यक्ष पुनले जडिबुटी चोरीनिकासी हुँदा अस्तित्व नै लोप हुन लागेको चिन्ता व्यक्त गर्दै भने, ‘सामुदायिक वनमा धेरै प्रकारका जडिबुटीहरु पाइने भए पनि अहिले उचित संरक्षणको अभाव र बाहिरबाट मानिसहरु आएर जथाभावि चोरेर लैजादा कतिपय नासिदै गाएका छन् ।’
उनी थप्छन्, ‘पहिले प्रशस्तै पाइने धेरै प्रकारका जडिबुटीहरु अहिले थोरै मात्रामा देखिन्छन् । केही वर्ष पहिलेसम्म प्रशस्तै पाइने सत्तुवा जातको वनस्पति पाइनै छोडेको छ । यो सत्तुवा मान्छे र गाईवस्तुको खानामा विष परेमा प्रयोग गरे विष पनि मार्ने गर्छ । चोरी गर्नेलाई पनि केही गर्न सकिदैन । गाउँका मान्छे सहर झरेका छन् । जडिबुटी संरक्षणकै लागि खट्ने र चासो दिने मान्छे पनि गाउँमा कोही छैन ।’
त्यस्तै खर्सुवास सामुदायिक वन उपभोक्ता समुह क्याङका अध्यक्ष नरसिं पुनले जडिबुटीको उचित संरक्षण हुन नसक्दा धेरै प्रकारका जडिबुटीहरु चोरी निकासी हुने र जंगलमै खेर जाने तर गाउँललाई कुनै लाभ नहुने गरेको चिन्ता व्यक्त गरे ।
डिभिजन वन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर वि.कले जिल्लामा वनजन्य जडिबुटी प्रशस्तै पाइने भएर पनि बजेट र कार्यक्रम नहुँदा यस क्षेत्रमा कुनै कार्य हुन नसकेको बताउँछन् । जडिबुटी उत्पादनको संम्भावनाबारे अधिकृत वि.क भन्छन्, ‘वनजन्य जडिबुटीबाट आर्थिक लाभ लिनका लागि सवैभन्दा पहिले कुन स्थानमा कुन जातिको प्रजाति कति मात्रामा पाइन्छ सोही अनुसार पहिले पकेट क्षेत्र तोकिनुपर्छ । जडिबुटीहरुको विस्तृत स्रोत सर्वेक्षण गरिनुपर्छ । पहिले पंचवर्षीय कार्य योजना लागू गरिदा समेत जडिबुटी संरक्षण गर्नका लागि कुनै खास पहल हुन सकेन ।’
डिभिजन वन कार्यालय, पर्वतको आ.व०८१⁄०८२ को स्वीकृत वार्षिक कार्यक्रममा समेत जडिबुटी संरक्षण र प्रवद्र्धन सम्वन्धि एउटै कार्यक्रम समेटिएको छैन । जिल्लामा वन उपभोक्ता समूह गठन भई १४ हजार ४२२ हेक्टर वन क्षेत्र करिब ४४ हजार १०४ घरधुरीका स्थानीय समुदाय वनसँग जोडिएको भए पनि अहिलेसम्म समुदायस्तरबाट समेत जडिबुटी संरक्षण र प्रवद्र्धनमा प्रत्यक्ष जोडिएर आम्दानी गरेको पाइदैन । पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख अशोक कुमार नेपालीका अनुसार जिल्लास्तरमा जडिबुटी प्रशोधनसँग सम्वन्धित एउटै उद्योग दर्ता भएको छैन ।
