पर्वत – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति, पर्वतले महान जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
कुश्मास्थित पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) पर्वत जिल्ला अध्यक्ष सन्तोष चापागाईंले गर्नुभएको थियो। कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पर्वत जिल्ला इन्चार्ज कमरेड सुदीप कुँवर प्रमुख अतिथि रहनुभएको थियो भने प्रदेश कमिटी सदस्य कमरेड लीला दवाडी, विद्यार्थी उपमेयर कमरेड शोभा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदीप कुँवरले सहिदहरूले देखेका सपना पूरा गर्दै संगठनलाई थप सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा उपस्थित नेताहरूले सहिदहरूको बलिदानको सम्मान गर्दै बेपत्ता तथा घाइते योद्धाहरू र सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गरे।
त्यस्तै अखिल क्रान्तिकारी पर्वत जिल्ला अध्यक्ष सन्तोष चापागाईंले अखिल (क्रान्तिकारी) का तत्कालीन महासचिव पूर्णबहादुर खड्का र प्रथम सहिद दिलबहादुर रम्तेलले देखेको सपना पूरा गर्ने जिम्मेवारी आजको युवापुस्तामा काँधमा आइपुगेको बताउनुभयो। उहाँले संगठनलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
