नेता र सचेत नागरिक

नेता र सचेत नागरिक

बिहिवार, फाल्गुण १५ २०८१
  • - राम नेपाली (आर्यन)

    नेपालमा जति शासन प्रणाली, संविधान, नीति, र नियम बने पनि जबसम्म नेताहरूको आचरणमा आमूल सुधार आउँदैन, तबसम्म मुलुकमा सकारात्मक परिवर्तन सम्भव छैन। "बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखे पनि निकाल्दा बाङ्गै" भनेझैं, ठोस नीति, योजनाबद्ध कार्यक्रम, स्पष्ट लक्ष्य, र दूरदृष्टि बिना सरकार सञ्चालन गरियो भने अल्पकालीन विश्वास जित्न सकिएला, तर समय बित्दै जाँदा आलोचना र असन्तुष्टिले घेर्नेछ। सचेत नागरिकहरूका लागि नेताहरूको मूल्यांकन भाषणबाट होइन, उनीहरूको नीति, कार्यशैली, र कार्यान्वयन क्षमताबाट गर्नुपर्छ। इतिहासले सफल नेताहरूको मूल्यांकन उनीहरूले बोलेका कुराले होइन, गरेका कामका आधारमा गर्छ। यदि नेताहरूले इमानदारीपूर्वक कडा परिश्रम गर्छन् भने, उनीहरूको प्रचार आफैं सफलताले गर्नेछ। तर नेपालको राजनीतिक परिपाटी हेर्दा नेताहरू तत्काल सुध्रने पक्षमा छैनन्। अब गाली-गलौज गरेर मात्र हुँदैन, नागरिक स्वयं सचेत बन्नु आवश्यक छ। प्रत्येक चुनावमा उम्मेदवारहरूसँग ठोस प्रतिबद्धता लिनु हाम्रो कर्तव्य हो। भोट माग्न चुनावअघि एक महिना मरिहत्ते गर्ने तर जितेपछि क्षेत्रको विकास त के, जनतासँग भेट्न समेत नआउने नेताहरूलाई जवाफदेही बनाउन निम्न प्रक्रिया अपनाउनु अत्यन्तै महत्त्वपूर्ण हुनेछ।

    चुनावपूर्व उम्मेदवारहरूसँग गरिनुपर्ने प्रतिबद्धता -

    १) पूर्वाधार विकास बाटोघाटो, बिजुली, पानी, गुणस्तरीय शिक्षा, र स्वास्थ्य सेवाको सुनिश्चितता। विद्यालय र अस्पतालहरूको भौतिक संरचना तथा सेवा सुधारमा ध्यान दिने।

    २) युवाका लागि अवसर सिर्जना क्षेत्रका युवाहरूको तथ्याङ्क संकलन गरी रोजगारी सिर्जना गर्ने पहल। खेलकुद प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिने।

    ३) सामाजिक कल्याण कार्यक्रम गरिब, वृद्ध, दलित, मुस्लिम, थारु, असहाय, महिला, र सीमान्तकृत समुदायका लागि लाभदायक कार्यक्रम सञ्चालन गर्ने।

    ४) कृषि प्रवर्द्धन किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै विषादीयुक्त आयातित खाद्य वस्तुको निर्भरता कम गर्ने।

    ५) पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षण क्षेत्रका पुरातात्विक तथा पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने। कृषि तथा खाद्य उत्पादनमा आधारित आर्थिक योजना अघि बढाउने।

    ६) स्थानीय उत्पादनको बजार प्रवर्द्धन कृषि उत्पादन तथा अन्य स्थानीय सामग्रीको उचित मूल्य निर्धारण तथा बजार सुनिश्चित गर्ने।

    ७) सरकारी सेवा सुधार सरकारी कार्यालयहरूमा सेवाप्रवाह सहज बनाउन पहल गर्ने। भ्रष्टाचार न्यूनीकरणका लागि नियमित अनुगमन गर्ने।

    ८) दुर्घटना तथा प्राकृतिक प्रकोप व्यवस्थापन आकस्मिक विपत व्यवस्थापनलाई प्राथमिकता दिने। क्षेत्रीय विपत व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने।

    ९) जनतासँग प्रत्यक्ष सम्पर्क चुनाव जितेपछि प्रत्येक ३ महिनामा एकपटक जनताको बीचमा आएर कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्ने। विकास योजनामा भएका समस्याबारे पारदर्शी जानकारी दिने।

    १०) संसदमा प्रभावकारी भूमिका संसदका सबै बैठकमा उपस्थित भई क्षेत्रका समस्याहरू सरकारसामु उठाउने।

    ११) सरल र आत्मीय जनसम्पर्क भव्य स्वागत, फूलमाला, अबिर, बाजागाजालाई निरुत्साहित गर्ने।

    १२) वैदेशिक भ्रमणको पारदर्शिता आधिकारिक वा व्यक्तिगत भ्रमण गर्दा क्षेत्रीय जनतालाई जानकारी दिने।

    निष्कर्ष -

    नेताहरूका लागि सबैभन्दा ठूलो डर चुनाव हार्ने डर हो। त्यसैले अब जाग्ने पालो नागरिकहरूको हो। आलोचना मात्र गरेर हुँदैन, विवेकपूर्ण ढंगले एकजुट भएर उम्मेदवारहरूसँग लिखित प्रतिबद्धता गराउने, बेलाबेला सम्झाउने र प्रतिवद्धता पूरा नभए मिडियामार्फत सार्वजनिक गर्ने अभियान चलाउन सकिन्छ। यदि नागरिकहरू सचेत बने भने, नेताहरूलाई जिम्मेवार बनाउन सकिन्छ र समृद्ध नेपालको परिकल्पना साकार पार्न टेवा पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend