पोखरा, २०८१ फागुन १५ – विद्यार्थीहरूको समस्या तथा सुझावहरू व्यवस्थित रूपमा संकलन गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस कमिटीले डिजिटल सुझाव पेटिका सञ्चालनमा ल्याएको छ। उक्त डिजिटल सुझाव पेटिकाको उद्घाटन पृथ्वीनारायण क्याम्पस प्रमुख प्रा. डा. हरि पाठकले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रा. डा. हरि पाठकले विद्यार्थीहरूका समस्या समाधानका लागि यो महत्वपूर्ण कदम रहेको उल्लेख गर्दै क्याम्पस प्रशासनले यसलाई सकारात्मक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) क्याम्पस कमिटीका अध्यक्ष नवीन अधिकारीले गर्नुभएको थियो। उहाँले डिजिटल सुझाव पेटिकाले विद्यार्थीहरू र क्याम्पस प्रशासनबीचको दूरी कम गर्ने तथा विद्यार्थीहरूको समस्या छिटो समाधान गर्न सहयोग गर्ने बताउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि विद्यार्थी कल्याणकारी शाखाका प्रमुख नरेश पौडेल हुनुहुन्थ्यो भने अन्य सहायक क्याम्पस प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थी नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका विभिन्न संकायका विद्यार्थीहरू उपस्थित थिए। विद्यार्थीहरूले यो डिजिटल सुझाव पेटिका आधुनिक प्रविधिको सही उपयोग भएको भन्दै यसको स्वागत गरे। उनीहरूले आफ्नो आवाज प्रशासनसम्म सहज रूपमा पुर्याउन यो प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे। साथै, विद्यार्थीहरूले क्याम्पस प्रशासनले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा राखेका छन्।
