पर्वतमा फोहोर व्यवस्थापनको बढ्दो समस्या

पर्वतमा फोहोर व्यवस्थापनको बढ्दो समस्या

शनिवार, फाल्गुण १७ २०८१
  • प्रनिश गिरी

    कुश्मा,पर्वत फागुन १७ गते ।

    पर्यटकीय जिल्लाको रुपमा चिनिदै गएको पर्वतमा दैनिक जसो उत्पादन हुने घरायसी, व्यावसायिक र चिकित्सा लगायतका फोहोर व्यवस्थापनको समस्या बढ्दो देखिएको छ ।  जिल्लामा रहेका कुश्मा र फलेवास दुई नगरपालिका सहित पाँच गाउँपालिकाहरु

    गरी सातवटै स्थानीय निकायमा बढ्दो जनसंख्या र बजारीकरणसँगै फोहोर उत्पादनको मात्रा बढ्दो छ । 

    जिल्लाका गाउँघरमा बसाईसराईबाट मानववस्ती रित्तिदिै गए पनि संघीयता लागू भएपछि बनेका स्थानीय गाउँपालिका केन्द्र आसापास बजार बन्ने क्रम बढ्दो छ । पालिकाहरुमा बजारीकरण हुँदा फोहोर व्यवस्थापनको चुनौती थपिएको हो । पोखरा–बाग्लुङ राजमार्गसँगै सटेको डिमुवा र पातीचौर बजार मोदि गाउँपालिकामा पर्दछ । मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा छ । बजार क्षेत्रबाट दैनिकजसो  उत्पादन हुने एक ट्याक्टर फोहोर व्यवस्थापनको चुनौती पालिकालाई थपिएको छ । 


    मोदी गाउँपालिकाले मोदीखोला नजिकै नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको जग्गामा डम्पिङ साइट बनाएर फोहोर फाल्ने गरेको छ । गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार प्राधिकरणले ६ महिनाभित्र हटाउन तोकता गरेपछि उपयुक्त जग्गा र प्रविधिको खोजी पालिकाले गर्दैछ । यसअघि पालिकासहित बजार क्षेत्रको फोहोर पोखरा–बाग्लुङ राजमार्गसँगै मोदीखोलाको किनार महभीर साइडमा फालिने गरिन्थ्यो । जिल्लामा कुनै पनि स्थानीय निकायले फोहोर व्यवस्थापनको दिगो तरिकाहरु फोहोरबाट उर्जा रुपान्तरण गर्ने, फोहोर घटाउने, रिसाइकल गर्ने काम गरेका छैनन् । 


    फोहोरजन्य पदार्थहरु प्लाष्टिक, बोतल, कागज, शीशा, गिलास, इलेक्ट्रिक फोहोर, चिकित्सक फोहोर, धातुलाई खोल्साखोल्सी, भिर, नदी, घाट, सामुदायिक वन लगायतका क्षेत्रमा अव्यवस्थित तरीकाबाट फालिएको देखिन्छ । प्रदेश अस्पताल पर्वतले चिकित्सा फोहोर आफैले आधुनिक प्रविधिको प्रयोग मार्फत् व्यवस्थापन गर्दै आएको अस्पताल संचालक समिति अध्यक्ष शंकर गिरी बताउँछन् । फोहोरको यत्रतत्र अवैद्य डम्पिङ साइट बनाइदा वातावरणीय प्रभाव र जनस्वास्थ्यको चिन्ता स्थानीयलाई परेको छ । 
    जिल्लाको सदरमुकाम बजार रहेको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेड) नामक गै¥हसरकारी संस्थालाई सुम्पेर फोहोर व्यवस्थापनको सम्झौता आर्थिक वर्ष २०७५÷०७६ मा ५ वर्षलाई गरिएको थियो । सम्झौता अनुसार उक्त संस्थाले फोहोर व्यवस्थापनबाट नगरपालिकालाई पाँच वर्षमा हुने आम्दानी भनी १ करोड ९१ लाख ५० हजार उल्लेख गरेको भए पनि विचमै संस्थाको पदाधिकारी संम्पर्कविहीन भएपछि नगरपालिकालाई लाखौ रकम नोक्सानी भएको छ । नगरपालिकाले संस्थालाई ल्याण्डफिल र ट्रिपर उपलब्ध गराएको थियो । 


    नगरपालिकाले स्थानीयबासीसँग शुल्क लिएर फोहोरको व्यवस्थापन गरेको छ । सामुदायिक जंगल क्षेत्रभित्र डम्पिङ साइट निर्माण गरेको कुश्मा नगरपालिकाले व्यवस्थित तरीकाले फोहोरको विसर्जन गर्न सकेको छैन । फोहोरमैला कामदारले आफूहरुलाई स्वास्थ्य जोखिम रहेको गुनासो गरेका छन् । 


    जलजला गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले उद्योग वाणिज्य संघ पर्वतको वारिवेनी शाखासँग सहकार्य गरी फोहोर व्यवस्थापन गरेको बताए । पालिकाको केन्द्र रहेको फर्से बजारबाट उत्पादन हुने फोहोरको व्यवस्थापन व्यवस्थित डम्पिङ साइटमा हुन नसकेको र कालीगण्डकी नदी किनारमा फोहोर फाल्दा नदी प्रदुषित बन्दै गएको स्थानीयको गुनासो छ । 


    पर्वतको कालीगण्डकी किनारमा रहेको मालढुंगा बजार क्षेत्र साथै सहस्रधारा आसपासका व्यवसायी र स्थानीयबासीले नदी किनारमा नै फोहोर फालिदिदा नदी क्षेत्र प्रदुषित बन्दै छन् भने वन्यजन्तुलाई समेत जोखिम छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने फलेवास नगरपालिकाको फलेवास बजार, विहादी गाउँपालिका लगायत महाशीला गाउँपालिका क्षेत्रमा पनि व्यवस्थित डम्पिङ साइटको निर्माण हुन सकेको छैन । 


    पैयुँ गाउँपालिकाका सूचना अधिकारी अनिल कमल न्यौपानेले पालिकाको भुर्तेलथाके खोलाखर्कमा १ करोड ३० लाख खर्चिएर फोहोर व्यवस्थापन केन्द्रको निर्माण गरिएको बताउनुभयो । सूचना अधिकारी न्यौपानेका अनुसार फोहोर वर्गीकरण गरी नकुहिने फोहोर विक्री हुन्छ । वालिङ नगरपालिकासँग फोहोर व्यवस्थापनका लागि सहकार्य गरेको पैयुँ गाउँपालिकाले फोहोर विक्रीबाट वर्षमा ३ देखि ४ लाख आम्दानी गरेको जनाएको छ ।


    जिल्लामै फोहोर व्यवस्थापन गरी आम्दानी गर्ने पालिका पैयुँ गाउँपालिका मात्रै रहेको छ ।  स्वच्छ र दिगो वातावरण कायम गर्न फोहोर व्यवस्थापन गर्नु पर्ने हुन्छ भने फोहोर व्यवस्थापन गर्नु स्थानीय निकायको महत्वपूर्ण कार्य भए पनि महत्व दिएको पाइदैन ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend