पोखरा । नेकपा (माओवादी केन्द्र) मुस्ताङ्ग–पोखरा सम्पर्क समन्वय समितिको भेला आइतबार पोखरामा सम्पन्न भएको छ ।
पोखरामा बसोबास गर्ने नेकपा (माओवादी केन्द्र) का सदस्य र समर्थकहरुको भेलाले आइतबहादुर बि.क.को अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार बि.क., बिमला परियार, सचिवमा सुरज बि.क., कोषाध्यक्षमा विष्णु अर्पण गुरुङ र सचिवमा सुरक बि.क. रहनु भएको नेकपा (माओवादी केन्द्र)का मुस्ताङ्ग जिल्ला संयोजक धिरेन्द्र बि.क.ले जानकारी दिनुभएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका गैरभौगोलिक सम्पर्क समन्वय समितिका ईन्चार्ज तथा केन्द्रिय सदस्य आशमान रोका (पवन), प्रदेश अध्यक्ष गायत्री गुरुङ (कुसुम), प्रदेश सदस्य ङुटुक गुरुङ (टाइगर) विश्वप्रेम गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रो पटक प्रधानमन्त्री हुँदा कालीगण्डकी करिडोरको म्याग्दी–मुस्ताङ्ग खण्ड स्तरोन्नतिको लागि बजेट स्रोत सुनिश्चित गराएर काम शुरु गराएको र पछिल्लो पटक प्रधानमन्त्री हुँदा चीन सरकारसँग समन्वय गरेर मुस्ताङ्गको कोरला लगायतका नाकाहरु संचालनमा ल्याएको बताउनुभयो ।
नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको माओवादीले अहिले सुशासन र सम्वृद्धिको मुद्दा लिएर जनतामा गएको बताउँदै उहाँहरुले मुस्ताङ्गको समग्र विकासमा माओवादीको भूमिकाको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा बिमला परियार, निर्जला परियार, सुरजक बि.क. लगायत १० जना माओवादीमा प्रवेश गर्नु भएको थियो भने समितिका निवर्तमान अध्यक्ष धनबहादुर बि.क.लाई सम्मान गरिएको थियो ।
