पोखरा ।
चलचित्र ‘द्रौपदी’ को टोलीले पोखराका पत्रकारहरुसँग भेट गरेको छ । चैत ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार अभियान अन्तर्गत पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको हो।
चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्यका अनुसार, चलचित्रले मौलिक कथा प्रस्तुत गर्नेछ। डोल्पाका सुन्दर भू–दृश्यहरू समेट्दै छायांकन गरिएको यो फिल्म महिला सशक्तीकरणको कथामा केन्द्रित रहेको बताइएको छ। निर्देशक आचार्यले विभिन्न स्थानबाट दर्शकहरू चलचित्र हेर्न उत्साहित रहेको बताए। दर्शकहरूको माया र समर्थनले चलचित्रले उत्कृष्ट व्यापार गर्नेमा आफूहरू विश्वस्त रहेको टिमले जनाएको छ । करिब २ करोड लगानीमा चलचित्र निर्माण भएको निमार्ण पक्षले जनाएको छ । ४८ दिन लगाएर छायाँकन गरिएको सिनेमा अन्तर्राष्ट्रिय अवार्डका लागि समेत छनोट भएको बताइएको छ । मौलिक कथालाई आत्मसात् गरिएका कारण पनि दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टीम आशावादी छ ।
चलचित्रका निर्माता तथा कलाकार प्रकाश ज्ञवालीले कन्टेन्टले आफूलाई तानेको बताए। अस्पताल व्यवसायमा संलग्न भए पनि राम्रो कथाले आफूलाई यो फिल्म निर्माणमा संलग्न गराएको बताए। निर्देशक ऋषिराज आचार्य आफ्नो पुरानो साथी भएको र कथाको विषयवस्तु मन परेका कारण नै आफु लगानीका लागि तयार भएको भनाई उनको छ । चलचित्रमा कलाकारको भूमिकामा उनी पनि देखिएका छन् ।
पत्रकार सम्मलेनमा चलचित्रका टिजर, गीत तथा ट्रेलरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको र चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनोट भइसकेको जानकारी गराइएको थियो।
