कथा

स्पर्श

स्पर्श

भुइँ पाटी
आइतवार, बैशाख १४ २०८२
  •                              कथाकार : रामचन्द्र आचार्य ‘आर सी ’                                

                                कथा : स्पर्श
    ‘काकालाई फोन गर्नु भयो ?’ 

    आज बिहानैदेखि दबिकाले सोधेको सोधे थिइन । बेडमा जब यताउता फर्किन्थिन । उही कुरा दोह¥याई रहेकी थिइन । 
    शान्त रहन सकेकी थिइनन । बेचैनी बढिरहेको देखिन्थ्यो । छटपटी थियो । चिसो वातावरणमा पनि निधारका पसिना पुछिरहेकी थिइन । 
    ‘फोन भयो ? के भन्नु भयो ? कहिले आउँछु भन्नु भयो ? छिटो आउने भन्नु न ।’ 
    यो अस्पतालमा आएको धेरै दिन पनि भएको थिएन । उनी बढी नै ढिपी गरिरहेकी थिइन । सत्तरीको नेटोमा पुग्नु भएको काकालाई गाउबाट राजधानीमा बोलाउन कुरुवा आएका पतिलाई पटक्कै मनै थिएन । गाउँबाट तल बजारसम्म जीपको यात्रा अनि राजधानीसम्म बसको यात्रानै दिनभरको  हुन्छ । बुढेशकालको जीउ गाडीको यात्रा त्यसै पनि थकानपूर्ण हुन्छ । गाउँमै रमाएर बस्नु भएको काकालाई बोलाएर किन दुःख दिने । त्यसैले उनले फोन गरेकै थिएनन । कतिखेर फोन व्यस्त भैराखेको छ भन्थे भने कतिखेर रिसिभ नै भएन भनेर टारिरहेका थिए । आखिर कतिन्जेल यसरी 
    टारिरहन सकिन्थ्यो र ? देविकाले झर्किदै ‘खै ! ल्याउनु फोन, मै कुरा गर्छु ’ भनेपछि उनले रोक्नै सकेनन । डाक्टरले कुनै तनाव नदिनु भन्नु 
    भएको छ भन्दै उनले फोन दिए । देविकाको यस्तो ढिपी बानी अस्पतालको बेडसम्म पनि कायमै थियो । आजितनै थिए । टाउको पनि तातेर आयो तर, आफूलाई सामान्य भएको भान पारेर बसे । बिरामीको अगाडि क्रोध सुहाउने कुरा पनि थिएन । अग्निको अगाडि उनी सधँै पानी नै भएर रहन्थे । मनभित्र त ग्लानी भैरहन्थ्यो । कुँडिएर बस्नु बाहेक अरु उपाय 
    थिएन ।  देविका र काकाको फोनमा लामो कुराकानी चलिरहेको थियो । कुरा गराई हेर्दा बिरामी मान्छे पनि स्वस्थ भए 
    झैँ देखिन्थिन । शरीरमा उर्जा सञ्चय भएको जस्तो अनुहारमा चमक बढेको देखिन्थ्यो । पति टवाल्ल परेर हेरिरहेका थिए । काकालाई नै अस्पतालमा नभेटि नहुने के,छ त्यस्तो कुरा उनी अलमलमा थिए । मनमा काँडाले कोपे झैँ चस्स केही भेउको शंका पसेझैँ भयो । तर, छैन होला भन्दै उनले मन फर्काए । यिनै काका त हुन जसले जग्गेबाट देविकालाई कन्यादान गरेर जिम्मा लगाएको । गृहस्थी बसाइदिएको े । बिहेको दिन देखिका दिनहरु मनोमय हुँदै उनको मानसपटलमा 
    घुम्दै आउन थाले । यिनै काका सरकारी कर्मचारी हुँदा भेट भएको थियो । उहाँ र म एउटै जिल्लामा काम गथ्र्यौ । उहाँ भने हामी भन्दा अग्रज हुनुहुन्थ्यो । घरदेखि टाढा काकाको डेरामा बसी यिनले पनि कलेज पढन थालेकी थिइन । त्यही क्याम्पसमा पढदै सानो तहको जागिर मेरो पनि थियो । फरकफरक कार्यालय भए पनि कर्मचारीमा चिनजान र भेटघाट भैरहन्थ्यो । कर्मचारी मिलन केन्द्रका कार्यक्रमले भेटघाट गराइरहन्थ्यो । देविकासंग क्याम्पसमा आक्कलझुक्कल भेट भए पनि बोलचाल भएको थिएन । मेरो डिग्री, उनका क्याम्पसका आरम्भका वर्ष थिए । एकदिन काम विशेषले काकाको डेरामा जाँदा भेट भएको थियो उनीसंग । कलेजमा टक लगाएको मानिस भेट हुदा उत्सुकता र अनुराग बढनु स्वभाविक नै थियो । पछि कलेजमा बोलचाल आरम्भ हुदै गयो । मन पनि साटिदै गयो । देविकाबाट नै थाहा भएको थियो उहाँ काका हुनुहुन्छ भन्ने कुरा । तर परिवारको बारेमा खासै कुरा उनले गरेकी पनि थिईनन । 
    एकदिन कर्मचारी मिलन केन्द्रको कार्यक्रमपछि मैले उहाँलाई प्रस्ताव गरेको थिए । मेरो बारेमा सबै कुरा बुझेर उहाँले भन्नु भएको थियो ‘हेर है देवराज ! यो भतिजीको बाउ भने पनि, आमा भने पनि मै हो । माइती भने पनि बिहे पछिको ससुराली पनि मै हो । केही कुरा बुझ्नु छ भने बुझ । भतिजीको घर, परिवार, बाबा, आमा त छन । मैले सबै जिम्मा लिएको छु । मेरै निर्णयमा सबै हुन्छ । बरु एउटै कुराले खटकिए जस्तो लाग्यो ? एउटा पूर्वको अर्को पश्चिमको !’ 
    मनभित्र टक बसेको मान्छे । माया भन्ने जात पनि कस्तो हुने रहेछ  ? मननै यसरी डोलिएको आउने रहेछ । आजै आफ्नो बनाईहाँलु ढिलो नगरुँ भन्थ्यो मनले । हरेक पल बर्ष दिन जस्तो लागेर बितेर गए जस्तो । पाउनको रहर थियो । ढिलो गर्दा कतै गुमाइन्छ कि ! बरु त्यसकै डर थियो मलाई । काकाको दृष्टिमा खरो उत्रिएँ । भरोसा जितेँ । बचन पनि दिनुभयो, भूमिका पनि निभाउनु भयो । त्यस दिन म भने खुसीले सिमलभुवाँ उडेँ झै भए । सबै खुसी पोल्टामा परेझैँ । शुभ मुहुर्तमा मन्दिरमा उहाँले बिहेवारी पनि गरिदिनु भयो । बिहेपछि जीवनका लय पखेँटा फिँजाएर अमृतकालमा बितेर 
    गए । टाढाको माइती उनी पनि खासै गइनन । एक दुई पटक हामी छोटो अन्तरालमा पुगेर फर्कियौ ँ । अत्यास लागे काकासंग सम्पर्क भेटघाट भैरहन्थ्यो । आजको जस्तो यातायात र फोन सम्पर्क थिएन त्यतिबेला । समयक्रममा परिवार बढदै गए । जीवन पनि ब्यस्त बन्दै गयो । हुर्किदै गएका छोराछोरी उच्च अध्ययन भन्दै दूरदेश लागे । पेन्सन पछि काका गाँउमै रमाएर बस्नु भयो । जागिरमा हुँदाको भेटघाट पनि पेन्सन पछि लगभग ठप्प भयो । कहिलेकाहीँ फोनमा सम्पर्क मात्र रह्यो । हामी भने पेन्सन पछि राजधानीमा बसाई स¥र्यौ । सुख र खुसीमा रमाएको हाम्रो परिवारमा ग्रहणको कालो दाग लाग्यो । उनलाई रोगले गाँजेर ल्यायो । नियतिले आज अस्पतालमा जीवन र मृत्युको दोसाँधको लडाईमा छिन उनी ।  देविका लामो समय टाउको दुख्ने, हातगोडामा कमजोरी र स्वासप्रस्वासको समस्याले पिडित थिइन । अघिल्ला अस्पतालहरुमा गरेको उपचारले रोगको निदान हुन सकेको थिएन । चिन्ता, एलर्जी र ईनहलर औषधिले केही दिन राहत दिए पनि रोग उस्तै थियो । यो अस्पतालमा आइसकेपछि गहन परिक्षण पछि ब्रेन टयूमर भएको पहिचान भएको थियो । 
    टयूमरमा कोशिका बढने खालको म्यालिग्नेन्ट प्रकारको क्यान्सर भएको बायोस्पीको रिपोर्ट पछि थाहा हुन आयो । कोशिकाहरुको ग्रेडिङ गर्दा चौथो स्टेजमा पुगेको थाहा भएको थियो । रेडियोथेरापीको माध्यमबाट उपचार विधि आरम्भ गर्ने तयारीमा थियो डाक्टरको टिम । न्यूरोलोजिष्ट र न्यूरोसजर्न बिचमा छलफल भैरहेको छ भन्दै थिए । क्यान्सर पनि धेरै प्रकारको हुने रहेछ । गहिरो अध्ययन चाहिने रहेछ खुटयाउन । सामान्यतया बिरामीहरु पहिले त डाक्टरकोमा पुग्दैनन । फार्मेसीको भरमा औषधी सेबन गर्छन । पेनकिलरको भरमा सहेर बस्छन । अति भएपछि अस्पताल पुग्छन । अनि बिस्तारै ठुलाठुला ठाउँका सुविधायुक्त अस्पताल पुग्ने क्रम आरम्भ हुन्छ । सहि रिर्पोट र त्यसको सहि बिश्लेषण गर्न सक्ने विशेषज्ञको सुविधा पाउनु पनि भाग्यमानी भएझैँ हुन्छ । सहि 
    डाईग्नोसिसमा औषधी पनि खासै लाग्दैन । नत्र त जति माथि पुगे पनि, जति खर्च गरे पनि, नफर्किने गरी धेरै माथि पुगिन बेर पनि लाग्दैन । हाम्रो समाजको बिडम्बना, उपचार गर्दागर्दै सडकपेटीमा बास हुन्छ । यसै गरी हाम्रा परिवार समाज विघटनको मार्गमा बगीरहेका छन । 
    ‘अँ ! सुन्नोस न ? काका दुई तीन दिनमा आउने रे ।’ देविकाले प्रफुल्ल मुद्रामा फोन दिदै भनिन । ‘ काकालाई बेकारमा दुःख दियौ ।’ भन्दै श्रीमतीको खुसीमा पतिदेव पनि मुस्काए । धेरै दिनपछि खुसीको साटासाट भयो । एकछिन रोग र रोगी कतै हराए जस्तै भयो । एक मिनेट खुसी हुन सक्दा त यस्तो आनन्द हुन्छ । यदि मानिस जीवनभर खुसी हुन सक्यो भने जीवन कति सार्थक हुने थियो होला ? खुसीले सुखी बनाउँछ भन्ने कुरा मानिसलाई थाहा त छ । तर चेत पसेको छैन । मार्ग अबलम्बन छैन । मार्गमा जो छन अरवौँको भीडमा एकाध छन । कोही पुगेर दौडेका छन । कोही नपुगेर दौडेका छन । जीवन जिउन त्यति कठिन त छैन जति मानिसले सोचेको छ । त्यसैले लगामबिनाको घोडा भै रहेको छ मानिस । डाक्टरको राउण्ड शुरु भएछ । नर्स र इन्टर्न सहित डाक्टरको गु ्रप क्याबिनभित्र पसे । मुख्य डाक्टरले ‘कस्तो छ ? आमा’ भन्दै उनको निधार छामे । खाना रुचि भए नभएको बारेमा सोधपुछ गरे । देविकाले डाक्टरको अनुहारमा डोलिएर हेरिरहेकी थिइन । डाक्टरका औँलाहरुको स्पर्श आज पनि मुटुलाई झङकृत पार्ने गरी तरङ्ग ल्याउने खालका थिए । देविकालाई पनि अचम्मै लाग्यो । शायद यिनै कुराहरु शेयर गर्नलाई होला, काकालाई खोजिरहेकी थिइन । ‘ल अब आमाको उपचार सुरु गर्ने हो है । चिन्ता गर्नु पर्दैन । रोग खुट्टीई हालेको छ ।’ भन्दै टोली अर्को क्याबिनतर्फ लाग्यो । जानु अगाडि असिस्टेन्टलाई सङिक्षप्त निर्देशन पनि दिए ।  
    —                         —                        —                           — 
    केही दिनपछि आजै बिहान काका पनि आइपुग्नु भयो । देविका र काका लामो समय क्याबिनमा कुराकानी गर्दै थिए । देविका भन्दै थिइन ‘काका ! एकजना सिनियर गौरव नामको डाक्टरको हातको स्पर्शले अनौठो अनुभुतिको तरङ पैदा गर्छ । चालिस बर्ष अघिको त्यही घटनाको झझल्को आइरहन्छ । लोकलाजको डरले नवजात शिशु जिम्मा लगाउँदाको उही औँलाको स्पर्श अनुभुत भै रहन्छ । कृपा गरी तपाईले यी डाक्टर कहाँका हुन ? कसका छोरा हुन ? जानकारी लिनु न । हामीले जसलाई बच्चा दिएका थियौ । त्यो परिवारमा पुगेर अहिलेको अवस्था पत्ता लाएर आउनु न । आखिरमा त्यो परिवारको बारेमा तपाईलाई बाहेक कसैलाई थाहा पनि छैन ।’ ‘हामीले त्यो परिवारलाई त्यही दिनदेखि कुनै सम्पर्कमा आउने छैनौ भनेका थियौ ँ । हाम्रो वचन फिक्का हुन्छ । यो कुरा देवराजलाई पनि थाहा छैन । यो कुराले ठूलो भुमरी लिएर आँउछ देविका ।’ लामो सुस्केरा हाल्दै भन्नुभयो काकाले । काकाको शरिर एकपल सम्भावित त्रास र भयले कम्पन हुन थाल्यो । यत्तिका बर्ष लुकेको कुरा खोलिदाँ बबण्डर त आईहाल्छ । काका हुन्छ र हुन्नको दोधारमा एकछिन हराईरहे । चकमन्नता छाएर आयो ।  लामो चकमन्नतालाई चिर्दै देविकाले भन्दै गइन — ‘म कुमारी दोजिया थिए । बिश्वासघातीको आशामा बसेँ । उसको मन फर्काएर जसरी पनि ल्याउँछु भनेर पर्खिएँ, हेरँे । लाछी रहेछ । पहिलेपहिले भरोसा दिलायो । अन्तिममा कता हरायो । भाग्यो । मेरो संसारै अँध्यारो बनायो । उसैको पर्खाइले दिन कति छिटो बिते छ  थाहा नै भएन । छ महिने गर्भ न फाल्न सकिने न पाल्न सकिने । सकसमा थिए  । बेसहारा थिएँ म । आमा बाले थाहा पाएपछि भएको साहस पनि हराएर गयो । जन्म दिनेहरुले इज्जत खोलामा फालिस कलंक लगाइस भन्ने । घरै नबस भन्ने । आमाले फरालेर मर मात्र भन्ने । बाले पनि मर जा भन्ने । तिरस्कार पनि हदै थियो । कतैबाट आधार देखिन । भरोसा घरबाट पनि पाइनँ । तीन वटा मात्र विकल्प देखे । कि बिष पिउने ! कि फाल हाल्ने ! नभए पासो लगाउने । पासो नै रोजे । घरकै दलानको । कति सेकेण्ड बाकी थियो र ? घाटीँमा पासो पसेर कसिद थियो । कताबाट देवदुत आएझै तपाईले ‘ए ! देविका भन्दै आउनु भयो ।’ तपाईको काखमा म कति रोएँ । मलाई अझै याद छ, तपाइँले भनेका कुरा । ‘ज्यान रहे लाख हुन्छ देविका । सानो मन नगर । म सबै मिलाउँछु ।’ पछि बा आमाले ‘ घरमै मर्न पर्ने ! टाढा गएर मर्न सकिनस ? मर्न दिनु पथ्र्यो,टन्टै साफ हुन्थ्यो  ।’ भन्नु भयो । शान्त्वनाको भाव थिएन । आँखाभरी क्रोध थियो । हामी दुबै अवाक थियौ । कस्तो समाज बचाउनेलाई पनि दोष ! तपाई 
    मेरो काका मात्र होइन । त्यो भन्दा माथि दुई बटा ज्यान बचाउनेलाई के भन्छन त्यही हो । विधाता हो । 
    मझधारमा राख्नु भएन । भरोसा दिनुभयो । आजैका मितिदेखि यो देविका मेरो छोरी भई भन्नु भयो । तपाईको परिवारमा एक सदस्य भै थपिएँ । छोरीको रुपमा संगै आएँ । एकदिन तपाईले भन्नुभयो । ‘ मेरा चिनजानका एक दम्पत्ति निःसन्तान छन । बच्चा उनैलाई सुम्पिने है । जन्मेको बच्चा आमाले मुख नहेरी दिनुपर्छ भनेका छन । मुख हेरे आमाको मन पग्लिन्छ । माया पलाउँछ । पछि अफ्ठारो पर्छ भन्छन ।’ मैले सहमति जनाएँ । अरु उपाय पनि थिएन । उनीहरु को थिए ? कहाँका थिए ? तपाइँले कहिले पनि खोल्नु भएन । मैले पनि सोधिन । क्लिनिकमा जब जन्मेको बच्चा रोयो । मैले मन थाम्न सकिन । एक पटक काखमा दिनु न भनेको थिएँ । स्टाफले काखमा राखिदिए । बच्चाले मेरो हातको औला बेस्करी समायो । आँखाबाट दुई थोपा आँसु झ¥यो । मन बिग्रेला भनि बच्चा स्टाफलाई फिर्ता दिएँ । त्यो स्पर्श मनको कुन्तरमा कतै बसेको रहेछ । बल्झेर आयो । म पापी होइन काका । न यौन पाप हो । बयस्क हुदै जाँदा यस्ता घटना हुन सक्छन । केटाहरु सहज अवतरण हुन्छन । कन्यालाई भार पर्छ । अनि मलाई परे झेँै यस्ता घटना अरुलाई पनि घटेका होलान । विधी र संस्कृतिको महत्व आफ्नो ठाउँमा छदैछ । तर यस्ता घटनालाई दुर्घटनाको रुपमा लिनुपर्छ । दुर्घटना हो भनि बचाउनपटिट लाग्नु पर्छ । यस्ता दुर्घटनामा परेकालाई सम्मानित जीवन जिउन सिकाउन पर्नेमा उल्टै खेदो खन्छ समाजले । कानुनले के भन्छ ? खै केही थाहा छैन मलाई । कानुन र समाजको जालोले अवरोध गर्छ भने, त्यो जालो धुरधुर च्यात्न मन छ मलाई । कहिलेसम्म किशोरीहरु विष पिउन बाध्य हुने हो ? गलोमा पासो लाउन बाध्य हुने हो ? घरकै अभिभावकले े मरे जाती भन्न पर्ने हो ! राम, कृष्ण, बुद्व, महाविर जस्ता कैयौँ महामानव जन्माउने कोख हैनन र यी ! कुन्तीले जन्मदै गला घोटेको भए के कर्णको महिमा हुन्थ्यो आज ? के कुन्ती त्याज्य भइन त त्यो युगमा ?  गल्ती  भयो । मान्छेबाटनै गल्ती हुन्छ । उमेर बढे सँगै होस नपुगेर गल्ती हुन सक्छ । म बाट पनि गल्ती भयो । घर परिवारको ईज्यतमा कलंक लाग्यो । महशुस छ मलाई । तर चरित्रहीनको दाग लगाउँछ समाजले महिलालाई मात्र । चरित्रहीन बनाउँछ कसले ? पुरुषको स्पर्श बिना संभव छ,र ? छैन भने कुमारीलाई मर्न त बाध्य पार्न हुदैन ,नी ! अहिले अस्पतालको बेडमा छु । खै कति दिनको पाहुना हो म आफैलाई थाहा छैन । यही मोवाइल हेरेर मेरो रिपोर्ट जान्न सक्छु । के औषधि खाँदैछु ? कुन रोगको खादैछु ? थाहा पाउन सक्छु । यतिका सुबिधा भएका बेला, कुन अवस्थामा छ त्यो बच्चा आजको समय । त्यत्ति जान्न चाहेको हो । मैले अधिकार जताउदिन । वचनमा अडिग छु । देविका कुमारी आमा हो भन्ने कुरा फैलिए पनि अब मलाई कुनै डर छैन । सहन सक्ने सामर्थ छ म सँग । समाज धेरै अगाडी बढेको 
    छ । म भिडन सक्छु,। कमजोर छैन छोरी । 
    त्यत्ति बुझेर आइदिनुहोस काका !’ 
    देविकाको कुराले काकाको मनमा साहस बढेर आयो । सहासिलो भइछ छोरी गर्व बढेर आयो । भोलि बिहानै साइत गर्छु भनि वचन दिनुभयो । कोठाबाट बाहिर निस्कदै गरेका काकालाई हेर्दै देविका मुसुक्क मुस्काईन । मनमा काका प्रतिको 
    पितातुल्य भाव हर्लक्कै बढेर आयो । 
    —                      —                     —   
    केही दिनपछि साँझपख काँधमा झोला भिरेका काका सौम्य मुद्रामा क्याविनभित्र पसे । देवराज कुर्सीमा झुमिरहेका थिए । देबिका कोल्टे फर्केर निदाई रहेकीथिइन । काकाको आभास पाएर होला देवराज सामान्य अवस्थामा आए । ‘तपाइँ हिँडेपछि डाक्टरले रेडिएसन थेरापी शुरु गरे । टयूमर ठुलो छ । संकुचन गर्न पर्ने भयो भने । त्यसपछि सर्जरी गर्ने हो भनेका छन । आजैदेखि गला पोल्न थालेको छ भन्दै थिइन । बरु काका कता जानु भएको थियो ?’ काकाले आफन्त कहाँ गएको कुरा भन्दै मौन रहनु भयो । मौनतालाई तोडदै ‘ अस्पतालमा कति दिन बस्न पर्ने हो ? थाहा हुदैन ।  कुरुवा दुईतीन जना हुन पर्छ । एक्लै सकिदैन । बिरामी परिन्छ । छोराछोरीलाई खबर के कसो भयो ? बोलाउनु प¥यो ? सन्तान चाहिने बेला यस्तैमा हो ।’ भन्नुभयो ।

    ‘ भर्ना भएको सबैलाई खबर भएको छ । अष्ट्रेलिया हुने छोरीले बिदा मिलाएर आईहाल्छु भनेकी छन । अमेरिका हुने छोराले प्याक छु भनेको छ । खै ! आउदैन होला । खर्चको चिन्ता नलिनु उपचार राम्रो संग गराउनु भनेको छ । दिनमा आफन्त छरछिमेक आईरहन्छन । बेलुका गाह्रो छ,के गर्ने ? छोराछोरी पाएर बिदेशीलाई भए । पैसाको कुरा त हाम्रै पेन्सन र वचत पनि छ । रोग, भोक र प्यासमा दवाईमुलो दानापानी दिने सन्ताननै अगाडि नभए के अर्थ रह्यो र ! हेर्नु न अस्पतालमा धेरैको कुरुवा महिला पुरुष पचासको नेटो कटेका छन ।’ बिरक्तिएको भावमा भने । 
    देविकाको निद्रा खुलेछ । आँखा मिच्दै चारैतिर लामो आँखाले हेरिन । काका भएको मौकापारि देवराज पनि खानाको जोहो गर्न भनि बाहिर निस्किए । काका अगाडी सर्दै बिरामीको नजिकै बसे । बिरामीको हात समाउदै ‘साझँपख उनीहरुको गाउ पुगेँ । घरमा अरुनै बसेका रहेछन । गाउँ छाडेर राजधानी सरेका रहेछन । खेतीपाती बस्नेले समालेका रहेछन । तरकारी खेती, भैसी बाख्रा पालेका । रोल्पातिरका मगर रहेछन सारै जागरिला । साँझका पाहुना देउता सरह झैँ मान मनितो गरे । फोन नम्बर र ठेगाना लिएर राजधानी फर्किए । सोधपुछ गर्दै घरवास पत्ता लाग्यो । लामो समयपछिको भेट अन्सारले नै चिनजान भयो । शुरुमा झस्किए जस्तो दच्किए जस्तो भए । पछि कुराकानी गर्दै गएपछि सामान्य लयमा फर्किए । नौ 
    दश बर्ष उमेरका नातिनातिना बुढाबुढी रमाएर बसेका । नातिनातिनाको कुरा सुन्दा देविकाले टाठो नजर लगाउँदे ै लामो स्वास फालिन् । बेलुका बस्न सारै कर गरे । कुराको बिट पनि मरेको थिएन । उहीँ बसेँ । आज बिहान खानापछि बुढाबुढीसंग एकान्तमा बसियो । कुरो उठयो । उनीहरुले उठाए । तिम्रो रगत त डाक्टरनै रहेछन । त्यो पनि यही अस्पतालको । तिमीलाई उपचार गर्ने डां गौरव । कसरी ? अनुमान ग¥यौ देविका तिमीलाई माने मैले । हुन त आमाको मन न हो ! आमाको मन र भगवानको मन उस्तै हुन्छ भन्छन । समय आयो थाहा दिन पर्छ पनि भनेका छन । हामीले नै उपयुक्त समयमा भेद खोल्छौ । अब भेद नखोल्दा छोराप्रति अन्याय र धोका हुन्छ भनेका छन । तिम्रो बारेमा पनि सोधेका थिए । मैले सबै 
    बताएँ ।’ यी कुरा सुन्दै गर्दा देविकाले आँखाका पलक बन्द गरी लामो स्वास लिइरहेकी थिइन । यी कुराहरुको बिट नमरे हुन्थ्यो जस्तो उनको मनमा भैरहेको थियो । हरेक स्वासमा यस्तो उर्जा बगेको थियो कि ! शरिरलाई रोमहर्षक स्थितिमा लगेर पुलकित बनाइरहेको थियो । जुरुक्क उठी छोरा भन्दै अँगालो हाल्न जाँउ झैँ भैरहेको थियो । उनको मस्तिष्कमा गौरबको अनुहारको झझल्को झिल्का पर्दै घुमिरहेको थियो । अन्तस्करणमा हर्षले भावविभोर बनाईरहेको थियो भने कतिखेर अवसादपुर्ण भावमा माफ गर छोरा भनिरहेको थियो । त्यो हृदय आधा प्रफुल्ल थियो । आधा ग्लानीले रोईरहेको थियो । जलिरहेको थियो । आँखाबाट आधा आँसु हर्षका झरिरहेका थिए । आधा आँसु खेदका थिए । रङ्गभने उस्तै देखिन्थ्ये । 
    छटपटिदै लामो मौनता चिर्दै देविकाले भनिन । ‘काका हजुर मेरो लागि पितातुल्य, मातातुल्य भन्दामाथिदेवतुल्य हुनु भयो । आभारी छे छोरी । यो ऋण मैले कसैगरी तिर्न सक्दिन । के ले तिरुला र खै ? आभारको भावनै हो मैले दिने । जुन दिन गौरबलाई थाहा हुन्छ, त्यो दिन उ खौज्दै आउने छ । मलाई नभेटे तपाइँलाई भेटने छ । त्यो दिन एउटा नासो दिनु है काका । एसएलसी दिँदा खिचेको चुल्ठी बाटेको फोटो छ । त्यो दिनु है ।’ 
    ‘किन नि ऊ बेलाको ?’ 
    ‘त्यही बेला त ऊ मेरो कोखमा आएको । म गुरास झै फक्रेको बेला । लाली चडेको बेला । त्यही बेलाको कडीदेखि जोडन चहान्छु मैले उसलाई । त्यो रूपलाई नै आमा..... ! भनेर सम्बोधन गरोस । यो रूपले आमाको कर्मै गरेन । आफ्नै कोखबाट जन्मेको सन्तानले ,‘कस्तो छ आमा ? तपाइँलाई’ भनेर टाउको छाम्दा मैले छोरा.... ! भनेर हात समाउन 
    सक्दिन । म आमा हो ! भनि अँगालोमा बेरेर रुन सक्दिन । नियतिले कस्तो चक्रब्युहमा राखेको छ मलाई । बोल्न खोज्दा मुख थुनिदिएको छ । हातले सुम्सुम्याउन खोज्दा  बाँधिदिएको छ । आँखाको भाषा उसले बुझ्दैन ।  सायद प्रारब्ध होला ! 
    म कति अभागी आमा ! है काका !’ 
    मूल फुटेझैँ काकाका आँखा पनि रसाएर आए । बस्नै सकेनन । बाहिर निस्किए । 
    —               —                 —               —      
    आज शनिवार बिदाको दिन । मध्यान्हको बेला डा गौरव टेबुलमा खाना खादैँ थिए । उनको बुबाले नजिकै आएर सोधे  ‘अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी देविका भन्ने बिरामीलाई कस्तो छ आजभोलि ? उनको राम्रो हेरविचार गर्नु है !’ 
    गौरवले केही सम्झिदै भने — ‘ए टयूमरको बिरामी ! क्यान्सर पुरै फैलिसकेको रहेछ । रेडियोथेरापी दिएको केही दिन प्रोग्रेस भएन । सँकुचन नै आएन । सर्जरी गर्नु प¥यो । एमआइसियुमा राखेर उपचार भैरहेको थियो । सक्सेस भएन । 
    हिजो राती डेथ भयो ।’ 
    ‘हैन के भन्छ यो !’ आमा चाहीले झस्केर मलिन अनुहारमा सोधिन ।  
    ‘हिजो अस्तिनै भनौला भनेको ?’  
    ‘के भनौला भनेको ?’ 
    ‘उही तिमीलाई जन्मदिने अभागी आमा हुन भनेर ! ’ 
    एकपल सबैको अनुहार हेराहेर भैरह्यो । 
    त्यसपछि बाबुले सबै बेलिबिस्तार लगाए । 
    देबिका.................  .काका.......    
    .....गौरव................। 
    हत्तेरिका ! भन्दै उठेर उनी बाहिर निस्कीए ।  
    आर्यघाटको दुई नम्बर चौकोमा भर्खरै अस्तु सेलाएर मलामी फर्केका थिए । चौको बाहिर रहेका केही अँगारबाट बाफिलो धँुवा पुत्ताईरहेको थियो । नदी पारीपट्टीको पेटीमा बसेका बुढाबुढीहरु दक्षिणतिरका घाटमा जलिरहेका चिताग्नि एकटकले हेरीरहेका थिए । उनीहरुको मनले अन्तिम सत्य यही हो भनिरहेको थियो । यूवायूवतीको जोडीहरु बेखवरझैँ आफैमा मस्त देखिन्थ्ये । मन्दिरको परिसरमा बजेको घन्टको ध्वनीले कोलाहल चिर्दै काकाको मौनतालाई भङग बनाईरहेको थियो । उनी सत्तलको डिलमा बसेर कसैको प्रतिक्षामा आँखा डुलाइरहेका थिए । गौरवलाई नजिकै आइरहेको देखेर उनले भने — ‘आऊ गौरव म तिम्रो प्रतिक्षामा थिए । म काका !’ काकाको छातिमा टाउको राखेर धेरैबेर रोईरहे गौरव । पीडाले बिलाप गरिरह ,पश्चाताप गरिरहे । काकाले पीठयुमा हातले थुमथुमाई रहनु भयो । 
    ‘मैले धक खोलेर एक पटक पनि आमा भन्ने मौका पाईन काका ! 
    आमालाई थाहा रहेछ नी ? ’      
    ‘उनले नी धक खोलेर छोरा भन्न मौका पाइनन । 
    आमा छोरा दुबै अभागी ।’ 
    ‘कसले बनायो काका यस्तो ?’ 
    ‘समाजले ....! लोकलाजले..।’ 
    ‘ आमाछोरा दुवै हजुरको ऋणी हौं । यो संसार देख्ने भोग्ने देन हजुरको हो । तपाईको विचारलाई ग्रहण गर्छु । कुमारी आमा हुनु दुर्घटना हो । समाजले दुत्कार्न मिल्दैन । स्वर उदघोष गर्छु । उचाईमा लैजान्छु ।’ उनी अगाडी बढे र टक्क रोकिदै काकातर्फ हेरे । काकाले भर्खरै जन्मिएको एउटा अभियन्तालाई मनमनै आशिर्वाद दिनु भयो । 
    ‘ आमाले केही भन्नु भएको थियो की ? ’ 
    ‘ नासो छोडेर गएकी छिन । नासो लिएर जाउ ।’ 
    उनको हातमा फोटो दिदै काका नदीमा स्नानको लागि उठे । 
    अश्रुपूुरित नेत्रले हेर्दै गौरवले ‘आमा..’ भनी पुकारे । उनको पुकारको ओज र घनत्व यस्तो थियो कि नदीको पानी पनि स्थिर भएझै लाग्दथ्यो । काकाले पहेँलो टालोमा पोको पारि सेलाएको अस्तु नदीमा ढलपल ढलपल गरीरहेको देखे । काकाको दृष्टिले घाटको चौका, अस्तु र गौरवलाई एकै पटक देख्यो । त्यो त्रिकोण समानान्तर रुपमा अनुपम देखिन्थ्यो । गौरव ओझेल परेपछि अस्तु पनि बग्न थाल्यो ।  काकाले मनमनै गुने देविका पनि छोराको प्रतिक्षामा बसेकी रहेछिन । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend