सोलुखुम्बु, १० जेठ : सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गर्नुभएका उहाँ हाल ६१ वर्षको हुनुभयो । पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसक्नु भएका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ ।
भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका उहाँलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उहाँ विगत सम्झँदै भन्नुहुन्छ, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।”
पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उहाँसँग छ । उहाँ सम्झँदै भन्नुहुन्छ, “जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।”
पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण महासङ्घको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् ।
नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । उहाँ भन्नुहुन्छ, “हाल सोलुखुम्बुपछि सङ्खुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ । त्यसपछि खोटाङ, ओखलढुङ्गालगायत जिल्लाबाट पनि सहभागिता छ ।” -रासस
