शैल शिखर कालञ्जरमा पाइला पछ्याउँदै

शैल शिखर कालञ्जरमा पाइला पछ्याउँदै

भुइँ पाटी
बुधवार, जेठ २९ २०८२


  •  
                                                                                                   -रामचन्द्र आचार्य (आर.सी.)

      स्कुले जीवन देखिनै नाम सुनेको आफ्नो गाउँठाउँको शिर हम्पालको पर्वतमा साठीऔँ बसन्तको सँघारमा  पुग्ने अवसर जुटेर आयो । केटाकेटी उमेरमा सुनेका धेरै मिथकहरु मस्तिकबाट डिलिट भएका थिएनन् । जाने मौका पहिले जुटेको थिएन । यही जेठ महिनाको २२ गते बेलुका मल्लाज पोखरा सम्पर्क समाजको तर्फबाट सात बजे प्रेम सापकोटा जी ले फोन गरी —‘ भोलि बिहान पाँच बजे अगाडीनै तयार भएर बाटोमा बस्नु होला । हामी जीप लिएर पोखराबाटनै कालञ्जर ( हम्पाल) पुगेर बेलुका फर्कने योजना बन्यो । ’ मैले एकै शब्दमा –हुन्छ ,भनिदिएँ । लामो समय देखि म त्यो ठाउँ पुग्ने जमर्को गरिरहेको थिँए । तर अवसर जुटेको थिएन । पोखरा देखि फोरहिल गाडीको ब्यबस्था गरी मन मिल्ने साथीहरु जाने योजना बन्दै जाने र भत्कदै जाने भैरहेकोले दिक्क पनि लागेको थियो । केही दिन अगाडी जलजला गाउँपालिका प्रमुख राजु आचार्य सहित कृष्णप्रसाद पराजुली शिशु संगको भेटमा कालञ्जर पर्वतमा भागवत कथा परायण भैरहेको र पोखराबाट मल्लाज समाजको तर्फबाट पनि सहभागिता जनाउन आग्रह भए पछि ग्रुपमा जाने अवसर जुटेको थियो । २३ गते बिहान ईभी गाडीमा दशजना पोखराबाट लाग्यौँ । मल्लाजमा रहेका समाजका साथीहरु त्यहीबाट गाडी ब्यबस्था गरी जाने सहमती भयो । पोखराबाट हिँडेको गाडीले आफ्नै रफ्तारमा राजमार्गको बाटो तताउँदै तीन घण्टामा बेनीमा पु¥यायो ।

    image001.jpg
    वारीबेनी बाट त्यही रुटमा चल्ने कुमार रेग्मीको जीप बेनीबाट कालञ्जर पर्वत पु¥याई बेनी फिर्ता ल्याउने शर्तमा प्रति ब्यक्ति एक हजार भाडा दिने गरी रिर्जवमा उकालो लाग्यौँ । बेनीबाट हिँडेको गाडी लेखफाँट सम्म पिच बाटोमा सलल यात्रा हुन्छ भन्ने लागेको थियो । अस्पताल चोकमा आएपछि थाहा भयो गुफामा पहिरोले बाटो अवरुद्व भएकोले पुर्णगाउ तर्फको बैकल्पिक कच्ची बाटो प्रयोग गर्नु प¥यो । एक हिसावले मलाई ठिकै भयो । लामो समय पछि ती ठांउ हेर्ने अवसर जुटेर आयो । तर यात्रा करिव एक घण्टा लामो भयो । पीचबाटो छोडी जीपले साममारेबाट स्यालदुला,कामीडाडा,रखालबिसौना,भिमपाईला हुँदै पुर्णगाँउमा रोकियो । पुर्णगाउँमा ंघर्ती कार्कीहरुको कुल मन्दिर र बराह ताल छ । कुल मन्दिरमा मष्टको पुजा अर्चना हुन्छ । बराहताल यस क्षेत्रको धार्मिक सांस्कृतिक आस्था संग जोडिएको प्राचिन ताल हो । गर्ग गोत्रिय घर्ती क्षेत्रीहरु जुम्लाबाट बसाई सर्ने क्रममा बाह््रौ शताब्दीतिर यहाँ बस्ती बसालेको मानिन्छ । उनीहरुले नै यस तालमा भगवान् बराहको पूजा आरधाना गर्ने परम्परा चलाएका थिए । तालको बीचमा भगवान् बराहको कलात्मक थान निर्माण गरिएको छ । अहिले माथिल्लो भागमा आएको भूस्खलनले ताललाई पुरेको रहेछ । पहिले देखिने सौन्दर्यमा धेरै क्षति पुगेको रहेछ ।
     

    image003.jpg


    तालको उत्तरमा एउटा लोभलाग्दो  चिट्ट परेको सुन्तलाको बगैँचा देखियो । कसको रहेछ भनि सोधखोज गरेको याम बहादुर कार्कीको रहेछ । घरमा पुगी भेटघाट गरी भलाकुसारी सहित फोटो खिच्यौँ । गतसाल सुन्तला बोटबाटै प्रतिकिलो एक सय पन्ध्रमा बिक्री भएको रहेछ । बोटबाटै भन्नाले टिप्ने,जोख्ने,प्याकिङ,यातायात खर्च सबै खरिदकर्ताको हुने रहेछ । सत्र लाख कमाउन सफल हुनुभएको रहेछ । जलजला बडा नं २ मा सुन्तलाबाट आम्दानी गर्नेमा पहिलो भएकोमा बधाई दिई पारिवारिक कुरा गर्दै बिदा भयौ । यो ठाउँमा करिब तिस बर्ष पछि गएको हुँदा नौलो अनुभूती भैरहेको थियो । त्यहाँबाट कोटडाँडा,मुलघडेरी,सल्लाघारी हुदैँ जीपले ढोलढुँगा पिचबाटोमा ल्यायो । पिच बाटो हुँदै गाडी सहस्रकमाए, पयँरपात्ले,खेतहेर्ने डिल,गैरिगाउँ ,लाखुडाडा, देउपुजे हुँदै फुस्रेखोला पुग्यो । यहाँसम्म बाटो पीच रहेछ । यहाँबाट कच्चीबाटो गडेखोला (गण्ोश खोला), ओख्रेनी,सालिजा,पातलखर्क,खर्सुवा,ठुलाचौर हुदै जीप अगाडी बढ्यो । बाटोमा लटरम्म एैसेँलु पाकेको रहेछन । गाडी रोकी ऐसेँलु टिप्न लाग्यौ । टिममा एकजना बैनी बिष्णु पोैडेलले बाटोका हरेक रुख बिरुवा जडीबुटीको नाम र बिशेषता बताउदै जानु भयो । उहाँको ज्ञान देखेर म छक्क परेँ । पछि थाहा भयो ,उहाँको यो स्थान माईती रहेछ । यो माटोको चेली हुनुहुँदो रहेछ । नेपाली कागज बनाउने बरुवाको –(लोक्ता) बोट त्यही देख्ने अवसर पाएँ । २०५५ सालतिर कृषि बिकास बैँकको खनियाघाटमा प्रवन्धक भै काम  गर्दा नेपाली कागज बनाउने किसानको समुहलाई कर्जा उपलब्ध गराउने काम साना किसान बिकास आयोजनाले गर्दथ्यो । सेवानिवृत भैसके पछि पनि जागिरको याद ताजा गरायो । घरघरै नेपाली कागज बनाउने ती उधमीहरु, त्यो सिप, शैलीको हात र दिमाग खै ! आज कता हरायो ? हरायो । ती कागज भक्तपुर हस्तकला उधोग मार्फत जापान निकासी हुन्थ्ये । मनमनै स्थानिय सरकारलाई स्मरण गराउन मन लाग्यो । ती उद्मोगहरु पुन संचालन गर्न ।

    image004.jpg


     ऐसेँलुले मनपेट भरिएछ । गाडी अगाडी बढ्यो । बिस्तारै घना जङ्गल शुरु हुन थाल्यो । हिलो ,साँघुँरो कच्चीबाटो जीपले धेरैनै हल्लाउने रहेछ । चालक अनुभवी रहेछन । भगवान र चालकको भरोसामा जीप भित्र बेस्करी हल्लिदैँ कालञ्जर पर्वतको काखमा रहेको मृगसरोवरमा पुगियो । यो स्थानमा आँउदा यही रुटमा चल्ने गाडीमा सुरक्षित र उपयूक्त ठानियो ।
     मृग सरोवर एक सिमसार क्षेत्र रहेछ । सिमसार पनि कस्तो भने तालु नपुरिएको शिशुको तालु जस्तो थलथल गर्ने । यही जलजला सिमसार क्षेत्रको नामबाट साबिक बासखर्क,माँझफाट,लेखफाँट,सालिजा,धाईरिङ,नाग्लीबाङ र बनौ गाविस मिलाएर जलजला गाउँपालिका बनेको यूक्तिसँगत देखियो  । कालीगण्डकी प्रसवण क्षेत्र अन्तर्गत उत्तरी भागमा पर्ने यी क्षेत्रको शिखर यही जलजला हम्पालमा ( कालञ्जर) जोडिने रहेछ । यहाँ तिनचुले भन्ने स्थानमा भगवान् नीलकण्ठेश्वरको मन्दिर रहेछ । साक्षात भगवान शिव शंकरको नीलकण्ठेश्वरको रुपमा वास रहेछ । उत्तर दक्षिणमा उतुङ्ग पहाडहरु बिचमा पुर्व र पश्चिममा सरोवरको जल निकास हुने डोल परेको भाग रहेछ । पुर्व तर्फबाट पानी निकास भै मोदी (माधवी) खोलामा र पश्चिम तर्फबाट पातीचौर खोलामा र मार्केन्य खोलाको पानी लुङ्दी खोलामा मिसिने रहेछन । जलजला र मोदी गाउँपालिकाका अन्य नदी झरना,खोलाको जलश्रोत हम्पाल पर्वतका सिमसार क्षेत्र भएको थाहा भयो ।

    image005.jpg


     
     यो मृगसरोवर अति पवित्र सरोवर मानिदो रहेछ । राजर्सी भरतको मृगजन्म यही भएर बिचरण गर्दै पुलहाश्रम तर्फ गएको । उनको तीन जन्म यही भएको र मोक्ष प्राप्त गरेको । कौशिक ऋषिका छोराहरु गौ हत्याको पाप पखाल्न मृगरुपमा घुमेको । मृगकुण्डको जल पिएर मोक्ष प्राप्त गरेको । श्वेत नामका राजर्षिले शतरुद्रीय मन्त्र जप गरी कालपास बाट मुक्ति पाएको । महाभारतकालमा पुलस्त्य ऋषिले भिष्म पितामह र पाण्डवलाई कालञ्जर मृगतिर्थको महिमा बर्णन गरेको आदि पुराणमा बर्णित रहेछ । अक्षयतृतिया,मातातिर्थ औँसीका दिन यहाँ श्राद्व तर्पण गर्दा पितृहरुले मोक्ष पाउने ,पटक पटक श्राद्वकर्म गर्न नपर्ने जन बिश्वास रहेको पाईयो । यो गुप्त तिर्थमा हामीकेहीले जल अन्जुलीमा लिदै पितृहरु संम्झदै अर्पण गर्यौँ । आफैलाई धन्य सम्झियौँ ।
    ‘एतेषु च तथान्येषु स्नानं दानं जपस्तथा ।
    पूजा श्राद्वं पिण्डदानं सर्व भवति चाक्षयम् ।।
    गोकर्ण परमं तीर्थ तीर्थ माहिष्मती पुरी ।
    कालञ्जर महातीर्थ शुक्रतीर्थमनुत्तमम् ।।
     गरुणपुराण आ. का ८१।१४,१९ मा उल्लेख रहेछ ।
     मनैभरी पेटैभरी यहाँको सौन्दर्यपान पछि कालञ्जरको शिखर चुम्न उकालो लाग्यौ । जीपका चालकले यहाँभन्दा माथि सवारी जान मिल्दैन भने । आधा घण्टा भन्दा बढी समय लाग्दो रहेछ । जीप जाने बाटो खनेको रहेछ । त्यही बाटो हुँदै अगाडी बढ्यौँ । खै ! उनले किन भनेँ त्यसो ? पछि बुझ्दा सामान लोड गाडीलाई मात्र अनुमती रहेछ । तपस्थली क्षेत्र, मनै लठ्ठै पार्ने हावापानी, जङ्गल नै मङ्गल भैरहेको थियो । पाखा पखेरा चुम्दै हिँडु जस्तो उमङ्ग अनुभूतीले सबै तनाव र तरङ्ग भुलिने रहेछ । शिखरमा पुग्ने बेला दुईबटा बाटा रहेछन । उकालो बाटो शिखर चुम्ने बाटो र ओह््रालो बाटो तपस्थली क्षेत्र जहाँ महायज्ञ भैरहेको छ, त्यहाँ जाने रहेछ ।

    image006.jpg


     शिखरमा पुगेर पहिलो पटक विहङ्गम दृष्यको अतृप्त पान भैरह्यो । कालीगण्डकी किनार र बेसीँको भागबाट निकै अग्ला देखिने पहाडहरु सबै बाउन्ने देखिए । यी बाउन्ने पहाडलाई चोरऔँला देखाउँदै खुच्चिङ भनौँ झैँ भयो । पुर्वतर्फ बाट हाराहारीमा काश्की पर्वतको सिमाको पवित्र पन्चासे शैल पर्वत देखियो । काश्की,पर्वत,बागलुङ,म्याग्दी ,स्याङ्जा जिल्लाका जे जती पहाड पर्वत देखिए ती सबै साना र पुड्का देखिए । त्यसैले रहेछ कालञ्जरलाई पर्वतराज भनेको ,महशुस भएर आयो । मैले सुनेको थिँए । अर्को माटे भन्ने भागबाट तेह््रबटा जिल्लाको भाग देखिन्छ । फेवाताल पनि प्रस्ट देखिन्छ । हम्पालको परिधी छिचोल्न केही दिन बस्नु पथ्र्यो,त्यो समय थिएन । माटे जान सकिएन ।

    यहीँबाट एक पटक नजर दौडाएँ । कार्कीनेटा,ज्ञाँदीको फाँट,कुश्मा बजार,बलेवाको फाँट,बागलुङ पन्चकोट र बजार,कण्ठराजको स्थान र गौस्वाँरको चुचुरो ,बेनी बजार,पुलत्स्यआश्रम र ढोलठान ,जलजलाको गाउँपालिकाको क्षेत्र,अनि कालीगण्डकी र मँगला नदीको नागबेली स्वरुप र अन्य अद्विप्तीय दृष्यले निकैवेर मनलाई विभोर बनाई रह्यो । यो ३३०० मिटर माथिको उचाईमा केहीबेर ध्यानमा लीन भैरहेँ । उठेर उत्तरतर्फ हेर्दा दाँतका ताँतीझै हाँसेका हिमालका चुचुरा सँग हास्दै महायज्ञ भएको तपस्थली क्षेत्रतर्फ लागेँ । कालाञ्जर चुम्दा त यो आनन्द छ, सगरमाथा चुम्ने आरोहीहरुलाई कती आनन्द हुन्छ होला ? दिमागमा एकछिन मथिङ्गल भैरह्यो ।
    तपस्थली क्षेत्र पुग्न पन्ध्र मिनेट जती समय लाग्यो । ठुलो ओडारको आड लिएर तीन चार कोठाको एक तले घर रहेछ । पहाडको भित्तामा एक तपश्वीको मुर्ती रहेछ । लक्ष्मीधर पौडेल फलाहारी बाबाको मुर्ती रहेछ । उनी यही ठाउँमा तपस्यामा रहेकोे र पार्थिव शरिर कतै नभेटिएको भन्ने रहेछ । तपश्वीको बिग्रह अगाडीे धुप बाली श्रद्वा सुमन अर्पण गरियो ।  सत्बिजको रुपमा जौ र तील छरियो । भागवत पाठ परायणको अस्थाई मन्दिर र श्रद्वालु बिश्राम गर्ने,फुल प्रसाद तथा भेटी लिने स्थान पाल टाँगीे ब्यबस्था गरीएको रहेछ । मल्लाज पोखरा समाजको तर्फबाट सामुहिक तीसहजार भेटी अर्पण गर्यौँ । मन्दिरमा फल प्रसाद भेटी अर्पण र भगवान्को दर्शन पश्चात परिसरमा भजन गायौँ ।
     दक्षिणतिर एउटा घर निर्माणधिन अवस्थामा रहेछ । हाल त्यहाँ पाहुनालाई भोजन र बासको ब्यबस्था गरिएको रहेछ । आलु र घिरौँलाको झोल संगको खाना अतिनै मिठो भयो । अलि माथिल्लो स्थानमा श्रद्वेय स्वामी कमलनयनाचार्य ज्यूको एक कोठे आवास रहेछ । कच्ची बाटो, बिजुली पानीको सुविधा सहितका सिमित पुर्वाधारमा रहेको यो गुप्त तिर्थस्थल आजसम्म ओझेल परेको र स्वामीज्यू को दृढ संकल्पमा  देशदेशावर परिचित हुदै गएको जानकारी भयो । स्वामी ज्यू संग छोटो भेटघाट उहाँको आवासमै भयो । मैले मेरो परिचय पिताजीको नाम सम्बोधन गरी दिएँ । उहाँले ‘ हरिदत्त जी हँुदा मैले धेरै सहयोग पाएको थिँए ,’ भन्नुभयो । मैले पिताजीको पाईला पछ््याउँदै छु भनि आभार ब्यक्त गरेँ । स्वामी ज्यु सँग फोटो पनि लिएर बिदा भै तल झर्यौँ ।
    यो स्थान दुई पहाडको बिचमा थोरै मैदानी भाग रहेछ । कडा चट्टानी भीर भै दक्षिण पश्चिम भाग पर्दा खुलेझैँ खुलेको रहेछ । जहाँबाट पर्वत,बागलुङ र म्याग्दीको धेरै भाग खुला रुपमा देखिने रहेछ ।  मोवाईलमा दृष्य कैद गर्न र टिकटक रील बनाउन लालायित हुने स्पटनै रहेछ । धेरै श्रद्वालु फोटो खिच्नमै लामो समय झुम्मिरहेका थिए । हुन पनि स्थान शब्दमा बर्णन गर्न नसकिने अनुभूतीमा रमाउने थियो ।
    डा.जगन्नाथ रेग्मी संग छलफल हुँदा र उहाँको प्रकाशित कृति कालञ्जर क्षेत्र र गलेश्वर धाम पौराणिक बिमर्श अध्ययन गर्दा केही जानकारी पाएको थिएँ । आज निलकण्ठेश्वर मन्दिरका संस्थापक अध्यक्ष तथा यस क्षेत्रको बारेमा लेख रचना प्रकाशन गर्नु भएका अध्येता कृष्णप्रसाद पराजुली र बिष्णु आचार्य संग कालञ्जरको बारेमा भलाकुसारी गर्ने मौका मिल्यो ।

    image007.png
     यो स्थान मोक्षभूमी, साधनाभूमी,तपोभूमी,पुण्यभूमी र कर्मभूमी रहि आएको रहेछ । अग्नीपुराणमा पुष्कर,गया,काशी,कुरुक्षेत्र,नर्मदा,नैमिषारण्य जस्ता तिर्थहरुको गणनामा कालञ्जरको पनि नाम रहेछ ।  स्कन्दपुराणमा कालञ्जर तीर्थको महिमा र यहीँबाट नीलकण्ठेश्वर भगवान् काशी पुगेको बर्णन रहेछ । पध्मपुराणमा पितृहरुको सद्गति र उद्वारको लागि तपर्ण तथा श्राद्वकर्मको निमित्त निर्देश गरिएका तीर्थहरुमा पितृतिर्थका रुपमा उल्लेख रहेछ । बाराहपुराणमा शिवको प्रिय निवासस्थल रहेको बर्णन रहेछ । गरुणपुराणमा अन्य तीर्थहरुझै कालञ्जर तीर्थमा गरिएका पुण्यकर्महरुको अनन्तफल मिल्ने बर्णन रहेछ । कूर्मपुराणमा भगवान् बेदब्यासले यात्रा गरेको र श्वेत नाम राजर्षिलाई रुद्रले कालपासबाट मुक्त गरेको बर्णन रहेछ । शिवपुराणमा यस पर्वतमा भगवान् शिव लिङ्गरुपमा रहनुहुन्छ र यहाँ स्नान गर्दा पापबाट मुक्ति मिल्दछ भन्ने उल्लेख रहेछ । यसै गरी लिङ्गपुराण, मत्स्यपुराण, भागवत पुराण,बृहन्नारदीय पुराण,महाभारत ग्रन्थमा समेत कालञ्जर तीर्थको महिमा बर्णित रहेछ ।
    हरिहरक्षेत्र,बराहक्षेत्र,पाशुपतक्षेत्र,मुक्तिक्षेत्र जस्तै पौराणिक र पवित्र क्षेत्रमा कालञ्जर क्षेत्र पनि पर्ने रहेछ । अन्य क्षेत्रको महिमा ब्यापक देखिन्छ तर यो क्षेत्र ओझेलमा परेको रहेछ ।
    यही क्षेत्रमा गिद्वेश्वर शिवालय,चन्द्रेश्वर शिवालय,शिवालय गुफा, शुक्लेश्वर शिवालय, मल्लाज देवी मन्दिर,धाईरिङ भुमे ठाकुर,बेँकटेश मन्दिर,कालिका शक्तिपिठ हम्पाल ,सहस्रधारा,सिर्पु रहेका छन । वराह तालमा नागी वराह, बराहताल पुर्णगाउ, सहस्रधारा वराह,ज्येष्ठ बराह रहेका छन ।
    बिभिन्न कालखण्डमा फुतुङ्गे महाराज, दण्डीस्वामी,नारायण गिरी,नित्यानन्द गिरी,तपसी महाराज,सीताराम बाबा,खड्ग गिरी,केशवदास ब्रह्मचारी हरु जस्ता सन्त महापुरुषले अध्यात्म साधना गरेको भूमी रहेछ । नगिजै पाङ पर्वतमा पार्वती गुफा रहेको । पाङमा पार्वती जन्मेको बिश्वास रहेको कारणले पनि कालञ्जर क्षेत्रनै समग्रमा एक शिवालय क्षेत्र रहेको बुझ्न सकिन्छ ।
      जैविक बिविधता भएको यो स्थान पर्या पर्यटन धार्मिक पर्यटनको साथसाथै आजसम्म थाहा नभएका गर्भमा रहेका धेरै रहस्यको उत्खनन् केन्द्र रहेछ । हम्पाल हुँदै शिखघार, पुनहिल, मोहरेडाडा ,अन्नपुर्ण बेस क्याम्प जाने रुट रहेछ । बाटो नखुल्दै धेरैले यो छोटो पदमार्ग प्रयोग गर्दा रहेछन । पहिले नुन लिन भोट जाँदा पुर्वी भेकका बटुवा यतैबाट भोट जाने रहेछन । यहाँ ढुङ्गा तथा अन्य पथ्थरको खानी भएको र गुँरासको तेईस प्रजाति समेत पाईने जानकारी पायौँ । यति धेरै महिमा सुन्दा नै लठ्ठै परियो । तर यो  स्थान आजसम्म ओझेलमा परेकोमा मन कटक्कै खाएर आयो । त्यसैले युगपुरुषको रुपमा स्वामीज्यू अगाडी बढ्नु भएको रहेछ ।
    उहाँहरुबाट स्वामी ज्यूको संकल्पको धेरथोर जानकारी पनि भयो । सरोकारबाला निकाय र जनमानसमा अधिकतम प्रचार प्रशार गर्ने । छाँयामा परेको यो स्थानलाई उज्यालोमा ल्याउने । फाल्गुण महिना सम्म भागवत महायज्ञ संचालन गरिरहने र देश बिदेशका श्रद्वालुलाई ल्याउन प्रेरित गर्ने । तत्कालिन रुपमा पक्की बाटोको निर्माण गरी बाह््रै महिना यातायात सुचारु गर्ने । लक्ष्मीनारायणको भब्य मन्दिरको निर्माण गर्ने । गौमाता,नेपाल आमाको प्रतिक निर्माण गर्ने । आवासिय यात्रु आवास बनाउने । औषधीजन्य जडिबुटीको प्रशोधन केन्द्र बनाउने । तपस्थली र अध्यात्मिक केन्द्र बनाउने । हेलीप्याडको निर्माण गर्ने जानकारी हुन आयो । दिर्धकालिन रुपको रणनिती बिस्तारै खुल्दै जाने छ भन्ने आशा राख्दै उहाँको संकल्पमा हैसँे गर्ने अठोट सहित नमन गरेँ ।
     
    कालञ्जर अथवा कालं मृत्यु जरयति,काललाई मार्छ वा काललाई जीर्ण बनाउँछ वा थकाउँछ भन्ने यस शब्दको ब्युत्पादन भएको देखिन्छ । पौराणिक मतमा कालाञ्जर महातीर्थ हो । यहाँ पुण्य कर्म स्नान आदि गर्दा भगवान् शिव प्रसन्न हुनुहुन्छ ।  आफ्ना भक्तहरु प्रति रुद्र भगवान्को कृपादृष्टि छाईरहन्छ । जुन कुरा प्राचीन कालका श्वेत नामका राजर्षिको कथामा बर्णन भएको पाइन्छ । कालले चाहेर पनि श्वेतलाई लैजान सक्दैन । रुद्रले बचाउँछन । यस संस्कृतको श्लोकले प्रस्ट पार्दछ ।
    ‘ कालञ्जर महातीर्थ लोके रुद्रो महेश्वरः
    कालं जरितवान् देवो यत्र भक्तप्रियो हर ः।
    पौराणिक रुपले कालञ्जरको अर्थ पुष्टाई गरेकोमा आधुनिक नयाँ बिचारले पनि यस अर्थलाई ब्याख्या गर्न सकिन्छ जस्तो लाग्छ । यस क्षेत्रमा स्वस्थ हावापानी उपलब्ध छ । औषधीजन्य खर्सु,बोझो,सतुवा,ब्राह्मी,खएर,पदमचाल्नु,जेठीमधु,पाषाणभेद,टिम्मुर,सिल्टीम्मुर आदी जडीबुटी प्रचुर छन । फलजन्य बनस्पती धेरै प्रकारका पाईन्छन ।  सिमसार क्षेत्र भएकोले तल्लो भेगमा माधवी नदी,पातीखोला,डम्मुखोला,लस्तीखोला,लुङ्गदी खोला,पुम्दीखोखा बग्दछिन । पवित्र कृष्ण गण्डकीले सधैँ सिंचित छ । जलश्रोत्रले तल्लो भेगमा अन्नबाली राम्रो उत्पादन हुने हुनाले अनिकाल नपर्ने बुझिन्छ । जिजीविषाको लागि सवै चिज पुर्ण भएपछि अकाल मृत्युको संभावना पनि रहदैन । बिना भोजन काल पनि जिर्ण रहन्छ भन्न सकिन्छ ।
    सिंगो कालञ्जरको सिमित भागमा पछ्याउँदै गएका पाइलाहरुले ती कणहरुको स्पर्श पक्कै गरेका होलान । जुन कणहरुमा पक्कै स्वर्गीय पिताजीका,तपश्वीहरुका,राजर्षी भरतका,हिमालय पर्वतमा बास गर्ने आशुतोष भगवान्का सकल परिवारको पाइला परेका होलान । नत्र यात्रा यति मिठो स्वादिलो मनमोहक र आत्मिक कसरी हुन्थ्यो ? मन चैतन्य तर्फ उन्मुख कसरी भैरहेको हुन्थ्यो र ? कृपा नमिलेको भए कहाँ संभव थियो र !
    पोखरा फर्कनु थियो । त्यसैले पाइला पनि फर्काउनु थियो । फेरी एकपटक आउने बचन हैन, मौका मिले पटक पटक आउने बचन मनमनै गरी पर्वतराजलाई नमन गरी समाजका सबै सदस्य मादलको सुरमा भजन गाउँदै फर्कियौँ ।

    जय कालञ्जर !!

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend