-विकाश गौतम
सपना देखाएर हाँसेका,
भाषण सुनाएर विश्वास
जित्नेहरू,
तर कुर्चीको मोहमा आफ्नो
निष्ठा बेच्नेहरू।
हात फैलाएर जनता समात्ने
आश्वासन दिन्छन्,
तर भोकमरी, पीडा र
निराशा त्यहीँ पर्खिरहेका
हुन्छन्।
सुनिन्छ उज्यालो भाषण, तर
छाँयाँको अन्धकार लुकेको
हुन्छ,
शब्दहरू मिठा, व्यवहारमा
काँडा ।
कुर्चीको लागि उचालिन्छ
हात, वाचा धेरै,
काम कहिल्यै पुग्दैन।
जनता आँसु पोत्छ, आँखामा
आशा र निराशाको
मिश्रण,
सडकमा, बजारमा,
गाउँ–सहरमा गुनासो भरिन्छ।
तर सत्ता चुम्नेहरूले बुझ्दैनन्
त्यो पीडा,
सिर्फ आफ्नो पद,
आफ्नो शक्ति, आफ्नो गौरवको
पर्खालमा सुरक्षित छन् ।
भोटको दिन नजिक आउँछ,
भाषण फेरि मिठा हुन्छ,
जनता फेरि भरोसा गर्छ,
तर कुर्ची भने फेरि त्यहीँ छ।
सत्ता र लालसाले गर्दा
राष्ट्रिय हित
बिर्सिन्छ,
जनताको आवाज चुपचाप
दबाइन्छ, तर
आशा मरेको छैन ।
कुनै दिन युवा
उठ्छन्,
सचेत मनले
चेताउँछन्,
जनताको शक्ति
बुझ्छन्, र
कुर्चीको वास्तविक अर्थ
सम्झिन्छन्।
सत्ता केवल पद र
शक्ति होइन, तर
जनताको सेवा,
जनताको विश्वास र
राष्ट्रिय हित हो ।
कुर्चीको मोहले धेरैले
पिठ्यूँ फर्काए, तर
सच्चा नेता,
सच्चा हृदयले उभिन्छ
जनताको बीच ।
जनताको अधिकार,
न्याय र समानता
कायम राख्न,
कुर्ची केवल साधन हो,
लक्ष्य होइन।
जनता पर्खन्छन्, कथा लेखिन्छ,
इतिहास गुनासो र
आशाले भरिन्छ।
राजनीतिक कुर्चीको मोह
छिट्टै समाप्त हुन्छ,
तर सत्य, न्याय र
जनताको आवाज
सदैव बाँच्छ, बाँचिरहन्छ ……………..
- पोखरा
