हिन्दु मान्यता अनुसार युद्ध र अपराध कर्ममा समेत धर्मको पालना अनिवार्य रुपमा गर्नुपर्ने उल्लेख छ । समाजमा सँधै सत्य र असत्यका बीचमा द्वन्द्व हुने र जित सत्यका पक्षमा हुनेमा हिन्दु धर्मावलम्बीहरुले विश्वास राख्छन् । सत्यका प्रर्वतक देवता र असत्यका प्रर्वतक असुर वा दानवहरुलाई लिने गरिन्छ । मान्छे वा प्राणीको आत्ममा रहेको खराव तत्वलाई पराजित गरेर असल तत्वलाई प्राप्त गर्न भनेर हिन्दु संस्कारमा विभिन्न विधि–विधान र मान्यताहरुको विकास गरिएको हुन्छ । शारिरिक र मानसिक रुपमा तन्दुरुस्त हुन तथा प्राणी मात्रको हित एवं परोपकारमा तल्लीन हुनलाई हिन्दु समाजमा विभिन्न खाले व्यवस्था मिलाइएको पाइन्छ । जस अन्तर्गत प्राणायाम,तन्त्रमन्त्र, साधना तथा विभिन्नखाले दर्शन र लेखोटहरु पर्दछन् । तुलनात्मक रुपमा अन्य धर्मावलम्बी भन्दा धेरै सामाग्री र वैज्ञानिकताले भरिपुर्ण ‘हिन्दुज्म’मा विविधखाले साहित्य र कथाको समेत उत्तिकै दबदवा रहेको पाइन्छ । जहाँ माया,प्रेम,करुणा, दया आदि जस्ता मानवीय संवेदनालाई छुने विविधखाले कथानाकले मान्छेहरुलाई सत्कर्ममा लाग्न प्रेरणा दिइराख्छ ।

हामीले यहाँ चर्चा गर्न चाहेको विषयवस्तु धर्मयुद्धका नामले परिचित ‘महाभारत’को हो । नाम सुन्दा नै अनुमान गर्न सकिन्छ, महाभारत अर्थात जटिल युद्ध । लामो आख्यान र पात्रहरुको भूमिका बुझ्नलाई अल्ली धेरै मेहेनत गर्नुपर्ने भएकाले चलन चल्तीमा अफ्ठ्यारो परिस्थितिलाई महाभारत संज्ञा दिने प्रचलन समेत छ । विशेष गरी पाण्डव र कौरवका भाइ खलकको बीचमा अधिकारको विषयलाई लिएर भएको लडाइँले धर्मको परिपालना गर्न जोड दिन्छ । यही युद्ध आख्यान भित्रबाट अलग्गै शास्त्र गीताको समेत प्रार्दुभाव भएको छ । भगवान श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशलाई संग्रहित गर्दै रचिएको ‘गीता’ ले समग्र जीवन र जगतको यथार्थबोध गराउँछ । हिन्दु बाहेकका जनहरुको समेत प्रेरणाको श्रोत बनेको यसग्रन्थको महिमा हालसम्मकै वलशाली रहेको मानिन्छ । मान्छेले गर्न हुने र नहुने काम तथा समग्र सृष्टि रक्षाका लागि सांसारिक प्राणीहरुले गर्नुपर्ने समर्पण र त्यागका विषयमा यस ग्रन्थले निकै धेरै ज्ञान बाँड्दै आएको छ । यसभित्र अनुशासन,दया,प्रेम, सर्मपण,त्याग र छलकपट आदि जस्ता कुराहरुको क्रमबद्ध चर्चा गरिएको हुन्छ । गर्न नहुने तर नगरि नहुने क्रियाक्लाप समेतलाई यहाँ सविस्तार गरिएको छ । जस्तै सामान्यतया छलकपट र हत्या जस्ता पाप कर्म गर्न हुँदैन, यसलाई कुनै पनि धर्मशास्त्र र सामाजिक मान्यताले ठिक भन्दैन । यद्यपी धर्म रक्षा र सृष्टि निरन्तरताको खाँतिर विशेष अवस्थामा पापकर्म समेत गर्नुपर्ने भगवान श्रीकृष्णले अर्जुनलाई उपदेशका बखत बताएकाछन् । मुख्य बीर अर्जुन(नायक) र कर्ण (खलनायक)का वरी परि घुम्ने महाभारत युद्धका रचयीता भगवान श्रीकृष्ण तथा भीष्मपितामह जस्ता अन्य धेरै पात्र र योद्धाहरुको भूमिका र योगदान पनि उत्तिकै धरै भएको देखिन्छ । जे होस महाभारतबाट प्राप्त हुने दिव्य ज्ञान राजनीतिज्ञ,साहित्यकार,पेशाकर्मि र अन्य विविन्न सांसरिक व्यक्ति तथा प्राणिहरुलाई समेतलाई निकै उपयोगी छ भन्ने गरिएको छ ।
अब हामी शिर्षक मुताविक महाभारत युद्ध र यसका योद्धाहरुमध्येका एक अभिमन्यु र ‘चक्र व्युह’का बारेमा जानकारी राख्दैछौं ।
हिन्दुहरूको पौराणिक कथा महाभारतको एक महत्त्वपूर्ण पात्र अभिमन्यु पूरु कुलको राजा तथा पञ्च पाण्डवहरूमध्ये अर्जुनका पुत्र थिए । कथामा उनलाई छल गरेर कारुणिक तवरले मारिएको भनि उल्लेख गरिएको छ । अभिमन्यु महाभारतको नायक अर्जुन र सुभद्राका पुत्र तथा बलराम र कृष्णका भान्जा थिए । ‘अभी’ भनेको निर्भय र ‘मन्यु’ भनेको क्रोधी भएकाले उक्त बालकको नाम अभिमन्यु राखिएको थियो, भनिएको छ । उनलाई चन्द्र देवताको पुत्र समेत मानिन्छ । समस्त देवताहरूले आफ्नो पुत्रहरूलाई अवतारका रूपमा धर्तीमा पठाएका थिए । तर चन्द्रदेवले आफ्नो पुत्रको वियोग सहन गर्न नसकेपछि, उनको पुत्रलाई मानव योनिमा मात्र सोह्र वर्षको आयु दिइएको थियो । अभिमन्युले आफ्नो बाल्यकाल मामाघर द्वारकामा बिताएका थिए, भनिएको छ । उनको विवाह महाराज विराटकी पुत्री उत्तरासँग भयो । अभिमन्युको पुत्र नाम परीक्षित थिए । परीक्षितको जन्म अभिमन्युको मृत्यु पछि भयो । उनी कुरुवंश का एकमात्र जीवित सदस्य पुरुष थिए जसले युद्धको समाप्ति पश्चात पाण्डव वंशलाई अगाडि बढाए ।

कुरुक्षेत्र युद्धमा अभिमन्यु एक असाधारण योद्धा मानिन्छन् । उनले कौरव पक्षको व्यूह रचना चक्रव्यूहको भेदन गरेका थिए । कथा अनुसार अभिमन्युले आफ्नो माताको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए । तर सुभद्रा बिचैमा निदाएकोले उनी व्यूह भन्दा बाहिर आउने विधि सुन्न पाएका थिएनन् । अभिमन्युको मृत्युको कारण जयद्रथ थियो जसले अन्य पाण्डवहरूलाई व्यूहमा प्रवेश गर्नबाट रोकेको थियो । संभवतः त्यसैको लाभ उठाएर व्यूहको अन्तिम चरणमा कौरव पक्ष का सबै महारथी युद्धको मापदण्डहरूलाई भुलाएर उक्त बालक माथि बर्सिए, जसको कारण उनले वीरगति प्राप्त गरे । अभिमन्युको मृत्युको प्रतिशोध लिनको लागि अर्जुनले जयद्रथको वधको शपथ लिएका थिए ।
तेह्रौं दिन संशप्तहरूले अर्जुनलाई युद्धका लागि चुनौती दिए । अर्जुन उनीहरूसँग भिड्दै दक्षिण दिशातर्फ गए । निश्चित स्थानमा पुगेपछि अर्जुन र संशप्तहरूको घोर युद्ध भयो । अर्जुन दक्षिण तर्फ गएपछि द्रोणाचार्यले कौरव सेनाको चक्रव्युहमा फेरबदल गरेर युधिष्ठिरमाथि आक्रमण गरे । युधिष्ठिरका तर्फबाट भीम, सात्यकी, चेकितान, धृष्ट्द्युम्न, कुन्तीभोज, उत्तमौजा, विराटराज, कैकेय आदि जस्ता बिख्यात महारथिहरूले द्रोणाचार्यको आक्रमणको वेग रोक्नलाई भरमग्दुर प्रयत्न गरे । तैपनी द्रोणको वेगलाई उनीहरूले रोक्न सकेनन् । यस्तो देखेर पाण्डवतर्फका योद्धाहरु चिन्तित भए ।
अभिमन्यु बालकै थिए । तैपनि आफ्नो रणकुशलता र शूरतामा प्रसिद्ध भैसकेका थिए । मानिसहरू उनलाई कृष्ण र अर्जुनको बराबरी सम्झन्थे । युधिष्ठिरले ती वीर बालकलाई बोलाएर भने– “बाबू ! द्रोणाचार्यले हामीलाई निकै दुःख दिइरहेका छन् । हामीले हार्नुपर्यो भने त अर्जुनले हाम्रो निन्दा गर्ने छन्, धर्मको हार हुनेछ । द्रोणले रचेको चक्रव्यूहलाई हामीमध्ये अन्य कसैले पनि तोड्न सक्दैन । त्यसलाई तोड्न तिमीबाट मात्र सम्भव छ । त्यसैले तिमी द्रोणको आक्रमण परारस्त गर्नलाई तयार होऊ ।”
युधिष्ठिरको कुरालाई समर्थन गर्दै भीमसेनले भने–“ तिम्रो ठीक पछि पछि म हिड्ने छु । धृष्टद्युम्न, सात्यकी आदि वीर पनि आ–आफ्ना सेनाका साथ तिम्रो अनुकरण गर्ने छन् । एक पटक तिनीले व्यूह तोडिदियौ भने कौरव सेनालाई तहस नहस गरिदिने छौ । यस्तो सुनेपछि निकै उत्साहका साथ अभिमन्युले भने “म आफ्नो वीरता र पराक्रमद्वारा मामा र पिताजीलाई अवश्य प्रसन्न गर्ने छु ।”
आफ्नो सारथीलाई उत्साहित गर्दै अभिमन्युल द्रोणाचार्यको रथको ध्वजालाई पछ्याउन र त्यसैतर्फ चलाऊन आग्रह गरे । सारथीले आज्ञा पाएर त्यसै तर्फ रथ चलाए । रथको गतिमा सन्तुष्ट नभएर अभिमन्युले सारथिलाई अझै छिटो हिँडाउन उत्तेजित गराए । उत्साहमा आएर उनी बारम्बार रथ छिटो हिँडाउन सारथीलाई आग्रह गरिरहे । यसपछि सारथिले नम्रभावमा भने– “महाराज युधिष्ठिरले तपाईंमाथि यत्रो ठूलो जिम्मेवारी दिनु भएको छ । मेरो विचारमा तपाईँले अलिबेर विचार गरेर मात्र व्यूहमा प्रवेश गर्ने निश्चय गर्नुहोस् । द्रोणाचार्य अस्त्रविद्याको महान् आचार्य हुन् र महाबली पनि । तपाईं त अहिले केवल बालकमात्र हुनुहुन्छ ।” यस्तो सुनेर अभिमन्युले भने “सुमित्र ! मेरा मामा श्रीकृष्ण र पिता महारथी अर्जुन हुन् भन्ने कुरा तिमीले बुझ्नुपर्छ । शत्रु पक्षका सबै वीरहरूको शक्ति मेरो शक्तिको सोह्रौँ भाग पनि छैन । तिमी पिर नगर । रथ तेज सँग द्रोणाचार्यको सेना तर्फ लैजाउ ।” अभिमन्युको आज्ञा पाएर सारथिले उतैतिर रथ बढाए ।
अभिमन्युको रथ कौरव सेना नजिक पुगेपछि त्यतातिर हलचल मच्चियो । अभिमन्यु र उनको पछाडि पाण्डव वीर सेनाहरू आइरहेका देखेपछि कौरव सेनाको मन आत्तियो । तर द्रोणाचार्यले हेर्दाहेर्दै उनले बनाएको व्यूह भङ्ग भयो र अभिमन्यु व्यूहभित्र पुगे । कौरव वीरहरू एक–एक गरेर अभिमन्युसँग लड्न भनी आउँदै गए भस्म हुँदै गए । जो पनि अगाडि पर्थ्यो, उक्त वीर बालकको वाणले मारिन्थ्यो ।
बालक अभिमन्युको वीरता÷ पराक्रम देखेर कौरव–सेना हाहाकार मच्चियो । “पापी अभिमन्युको क्षण वध गर ।” भन्दै दुर्योधनले चिच्चाएर भने द्रोण, कृपाचार्य, कर्ण, अश्वत्थामा, वृहदबल, कृतवर्मा आदि छ महारथिले अभिमन्युलाई चारैतिर बाट घेरे । द्रोणले कर्णको नजिक गैएर भने – “यिनको कवच अभेद्य छ । ठीकसँग निशाना लगाएर यिनको रथको घोडाको लगाम काट र पछाडी बाट अस्त्र चलाउ ।” व्यूहको अन्तिम चरणमा कौरव पक्षको सबै महारथी युद्धको मापदण्डहरू विपरित उक्त बालक अभिमन्युमाथी खनिए, जसको कारण उनले वीरगति प्राप्त गरे । यसरी चक्र व्युह र अभिमन्युका बारेमा महाभारतमा सविस्तार लगाइएको छ ।
–सन्दर्भ सामाग्री : महाभारत ग्रन्थ र विभिन्न धार्मिक आलेखहरु
