• ज्ञानगंगा
  • बर्बरीक अर्थात महाभारतको साक्षी, जसले घमण्ड...

बर्बरीक अर्थात महाभारतको साक्षी, जसले घमण्ड त्याग्न अभिप्रेरित गर्छ ।

बर्बरीक अर्थात महाभारतको साक्षी, जसले घमण्ड त्याग्न अभिप्रेरित गर्छ ।

भुइँ पाटी
मंगलवार, फाल्गुण २२ २०८०

  • मान्छेहरुमा जब म अरुभन्दा बलियो छु , अरुभन्दा शिक्षित छु अर्थात अरुभन्दा धेरै कोणले अब्बल छु भन्ने विश्वास जाग्छ , तब उसले अभिमान पाल्न थाल्छ । मान्छेहरुमा पलाउने यस्तो खालको अभिमानलाई घमण्ड भन्ने गरिन्छ । मैले वाहेक अरुले गर्न सक्दैन भन्ने दम्भ मान्छेमा प्रकट हुन थालेपछि उसले नजिककाहरुलाई अपमान र अन्याय गर्न थाल्छ । यसरी मानवीय कौशलता अन्तर्गत पर्ने बल,चेतना,दिमाग, बौद्धिकता आदि सबै प्रकारका गुणहरु प्राकृतिक अर्थात वरदानबाट प्राप्त भएका हुन्छन्, भन्ने पुर्वीय दर्शनको मान्यता रहेको छ । भगवानले सांसारिक जगतमा जन्म लिने सम्पुर्ण जीवहरुलाई त्याग, समर्पण र कर्मका आधारमा हरेकलाई आ–आफ्नो जिम्मेवारी वहन गर्न पठाएका हुन्छन् । यसरी पुर्वनिर्धारित रित अनुसार हरेकले आ–आफ्नो कर्तव्य निभाउनुपर्ने भएकाले मान्छे, वा प्राणीहरुले घमण्ड गर्ननहुने बताउने गरिन्छ । यसरी व्यक्त गरिने घमण्ड ईश्वरकाप्रति अपमान भनेर पनि बुझिन्छ । त्यसै भएर देवलोक,मनुष्यलोक र सम्पुर्ण सृष्टिकर्ता ब्रम्हा,विष्णु, महेश्वरले निर्दिष्ट गरेको नियम अनुसार कोही कसैको अपमान गर्न नहुने सबैलाई सम्मान गर्नुपर्नेमा पुर्वीय मान्यताले जोड दिन्छ ।
    धर्मयुद्धका नामले परिचित महाभारतको समापनपछि बिजेता पाण्डव भाइ खलकमा कसका कारणले युद्ध जितियो भन्ने बहस चल्छ । त्यबेला धर्नुबिद्यामा पारङ्गत बीर योद्धा अर्जुनले आफ्नो कारणले युद्ध जितेको भन्दै गर्व गर्छन् । यस्तै भिम, युधिष्ठिर लगायतका भाइहरुले पनि आफुहरु बीर रहेको र आफ्नै कारणले युद्ध जितेको भन्दै घमण्ड व्यक्त गर्छन् । यो सबै देखेपछि भगवान कृष्णले युद्धमा जीत हार हुनलाई कसको भूमिका प्रमुख थियो भनेर जान्नलाई बर्बरीकलाई सोध्नुपर्ने बताउँछन् । बर्बरीक महाभारत युद्धलाई सबैभन्दा नजिकबाट नियाल्ने पात्र हो । उसको इच्छा बमोजिम भगवान कृष्णले युद्ध क्षेत्र नजिकैको पहाडमा शिर स्थापना गरिदिएका थिए । 

    barbarik jpg.jpg


    खासमा बर्बरीकको नाम यिनको लामो र बाक्लो कपाल हुनको कारण भएको हो भनिएको छ । यी पाण्डव पक्षका भाई भीमका पुत्र घटोत्कच र नाग कन्या अहिल्यावतीका पुत्र हुन् । बाल्यकालदेखि नैं ती धेरै वीर र महान योद्धा थिए । भगवान शिवको घोर तपस्या गरेर तिनलाई प्रसन्न पारेपछि उनले तीन अभेध्य बाण प्राप्त गरे र तीन बाणधारीको प्रसिद्ध नाम प्राप्त गरे । अग्नि देवले प्रसन्न भएर तिनलाई धनुष प्रदान गरे, जो तिनलाई तीनै लोकमा विजयी बनाउन समर्थ थिए । महाभारत युद्ध हुने निश्चित भएपछि उनले कमजोर पक्षमा लागेर युद्ध गर्ने घोषणा गरेका थिए । 
    उनी आफ्नो नीलघोडा चढेर  तीन बाण र धनुषका साथ कुरूक्षेत्रको रणभूमि तर्फ अग्रसर भए । बर्बरीकले लडाइँको लय बिगार्ने देखेपछि भगवान कृष्णले उनलाई रोक्ने उपाय खोज्न थाल्छन् । 
    उनको परीक्षा लिनका लागि ब्राह्मणको भेषधारण गरेर भगवान् कृष्णले बाटोमा आएर सोध्नु हुन्छ– कहाँ जान थालेको हो ? बर्बरीकले पाण्डवहरू कमजोर भएकोले सघाउन जान थालेको बताउँछन् । कृष्णले अनावश्यक समय खर्च नगर्न लडाइँमा सहभागी नहुन आग्रह गर्नुहुन्छ । तर उनले आमाको आज्ञापालन गर्ने बताउँदै युद्धमा अवश्य जाने र युद्ध हेर्ने कुरा बताउँछन् । साथै आफ्ना तिन बाणको तीरले लक्षित बस्तु ध्वस्त हुने कुरा समेत बताउँछन् ।
    बर्बरीकको यती कुरा सुनेपछि भगवान् कृष्णले नजिकैको पीपलको रुखको एउटा पात आफ्नो पैतालामुनी राखेर सबै पातमा प्वाल पार्न सक्छौ ? भनि सोध्नुहुन्छ । तत्काल निकालेर बर्बरीकले हानेको तीरले रुखका पात सहीत कृष्णको पैतालामुनीको पात समेत प्वाल परेको देखिन्छ । कृष्णले बर्बरीकको यो अद्भुत शक्ति देखेपछि उसलाई त्यहीँ रोक्ने निर्णय लिनुहुन्छ । 
    कृष्णले उसँग वर माग्नुहुन्छ । बर्बरीकले आफ्नो बलबुतामा भएका सबै कुरा दिने वाचा गर्छन । कृष्णले उनको शिर दान माग्छन् । उनले शिर दान दिन्छन तर आफूलाई कुरुक्षेत्र युद्ध हेर्ने इच्छा भएको बताउँछन । अनि कृष्णले उनको टाउको नजिकको डाँडामाथी लगेर राखिदिनुहुन्छ ।
    बर्बरीकले युद्धमा न अर्जुन न भिम, कोही पनि बहादुर नभएको कुरा बताउँछन् । उनका अनुसार यस युद्धमा द्रौपदीको आवरणमा महाकाली र कृष्णको सुदर्शन चक्र मात्रै घुमेको देखिन्थ्यो । जताततै भगवान् कृष्णको सुदर्शन चक्र मात्र युद्धरत थियो र श्रीकृष्णको आदेशमा महाकाली र दुर्गाले भाँडोमा रगत थाप्दै खाँदै गरिरहेको देखेको बर्बरीकले अनुभव सुनाउँछन् । भगवान् कृष्णले बर्बरीकलाई कुरुक्षेत्र युद्धको सर्वाधिक वीर योद्धाको उपाधि दिंदै संसारले उसको पूजा गर्ने वरदान दिनु भएको थियो । जसअनुसार उनलाई खाटू श्यामको रूपमा मन्दिरहरु निर्माण गरेर पुजा गर्ने प्रचलन पनि छ । 
    उनै बर्बरीकको साश्वत अनुभव सुनेपछि पाण्डब भाइखलकमा युद्ध जितिएको भ्रम चुर हुन्छ । र उनीहरुलाई लाग्छ कि, अहो ! घमण्ड गर्न नहुँदो रहेछ । यसरी क्रमबद्ध गरिएको हिन्दु वा पुर्वीय मान्यताले दम्म, घमण्ड र अभिमानजस्ता कृत्यहरु नगर्न, नगराउन सचेत गराउँछन् ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend