आजको विषयवस्तु पुरानो नेपालको रमाइलो संस्कृतिका बारेमा रहेको छ । पहिलाका दिनहरु सम्झेर ल्याउँदा आजका दिनहरु साह्रै अप्राकृतिक खालका लाग्छन । किनभने मान्छेहरुले आफ्नो थातथलो छाडेर सहर पसे । त्यतिले मात्रै पनि संसार धानेन । नेटो काटेर सात समुन्द्रपारीका बिराना देशहरुमा जानपर्ने स्थिती आइलागेको छ । आफ्ना अभिभावकहरु तितर वितर भएपछि नयाँ पुस्ता पनि सहर बजारका साँघुरा कोठाहरुमा अभ्यस्त हुनुपरेको छ । बोइलर कुखुरा जस्तो जिन्दगी, जहाँ कुनै प्राकृतिक भावनाको जन्म हुन पाउँदैन । उकुसउमुकुसपुर्ण बसाइहरु ९५ प्रतिशत सृजनाहरु छिनछिनमा मरिरहन्छन् । खोला–नाला, वनजंगल र भिरपाखाहरु बिर्सिइए ।जसले जिन्दगी सिकाउन सक्थ्यो र पढाउन सक्थ्यो ।
पहाडको माथी–माथी सुन्दर शान्त गाउँ । गोठभरी वस्तुभाउ, खेतभरी लहलहाउँदो बाली । भकारीभरी अन्नपात सम्झेर ल्याउँदा यो मनमा त्यसै त्यसै कुतकुत लागेर आउँछ । गोठालो, खेतालो, अर्म पर्म आदी जस्ता भुल्नै नसकिने प्रचलनहरुले नेपालीमनलाई आज पनि जिवित राखेको छ । विवाह संस्कृति अर्थात कुटुम्वका घर छोरी दिँदा ढुक्क हुनको लागि मापन गर्ने विधि गज्जवको थियो । छोरी दिने घरको सम्पन्नता मापन गरिन्थ्यो । कुटुम्वको जग्गा जमिन कति छ । कति वस्तुभाउ छन् । आदि जस्ता कुराहरु बुझेर मात्रै छोरी सुम्पिदिइन्थ्यो । त्यसका लागि आफ्ना नजिकका नातापाता प्रयोग गरेर कुटुम्व अर्थात वर पक्षको घर हेर्ने अर्थात सम्पत्ति जाँचबुझ गरिन्थ्यो । अनि सबै कुराले प्रयाप्त छ भन्ने कुरामा ढुक्क भएपछि मात्रै प्रकृया अघि बढ्थ्यो ।
मान्छेको सम्पन्नता मापन गर्ने विधि पनि अनौठा थिए । कसैले १०० मुरी धान आउने खेत छ भन्यो भने वास्तविकता थाहा पाउन उसको टौवा हेरिन्थ्यो । टौवाको अग्लाई र मात्रा हेरेपछि उसको खेतवारी बारेमा पत्ता लाग्थ्यो । त्यस्तै कुटुम्वको आँटीमा भण्डारण गरिएका भकारीहरुमा कति अन्न छ भन्ने जाँच गरेपछि उसको सम्पन्नता थाहा लाग्थ्यो । अनि विवाह बन्धनको लागि स्वीकृति दिइन्थ्यो । घरपरिवारले स्व्ीकृति दिएपछि मात्रेै प्रेमी र प्रेमीकाले आफ्नो सम्बन्ध अघि बढाउन पाउँथे । वा कसै गरे पनि परितीको ब्रेक फेल हुन नपाउने त्यो बेलालाई सलाम छ ।
सायद गाउँले भुल्न सकेको छैन होला,हामीले बिर्सेको मात्रै हो । खाने,बस्ने र घुम्ने होस् वा सुत्ने उठ्ने र देख्ने सबै सबै चिजहरुमा प्राकृतिकता थियो । हाम्रो सभ्यता हाम्रो मुल र हाम्रो आरोह–अवरोह सम्झेर ल्याउँदा नेपाली हुनुमा गर्व लाग्छ । त्यसैले त हामीलाई आजको भाग दौड र उछिना उछिन प्रति दिग्दारीता छ । प्रीय मन हाम्रो आरोह–अवरोह निरर्थक छैन । अब बुझौं नेपाल भुगोल मात्रै होइन, असल संस्कृतिको मूल पनि हो । आजको लागि भुइँकथाको “नेपाल” गन्थन यत्तिमै विश्राम गरौं । बाँकी तपाइँले थप्दै जानु कृपया ..................
