आज हामीले नेपाली परम्परामा प्रचलित गीत साहित्यको एउटा अंश लिएर आएका छौं । गीतहरुको रचना गर्भ तथा मौलिकताका भाव भरिएका शब्दहरुबारे छोटो चर्चा गर्नेछौं । विषय वस्तु रत्यौली रहेको छ । रात शब्दमा ली प्रत्यय जोडिएर बनेको रत्यौलीले रमाइलो मात्रै नभएर असामाजिक तथा अमिल्दा गतिविधिहरुलाई कटाक्ष गर्दै जिम्मैवार बनाउन समेत भुमिका खेलेको पाइन्छ । रत्यौलीको सबभन्दा राम्रो पक्ष नेपाली संस्कार बचाउने मुख्य कडीको रुपमा खडा छ ।
उजेलो भएको छैन,
छक्कायो जुन पापी ताराले
रत्यौली अर्थात रातमा आयोजना हुने सांगितिक माहौल लाई जनाउँछ । विशेष गरि नेपालको विवाह परम्परामा आयोजना हुने रत्यौली आमा तथा दिदी बहिनीहरुको मनोरञ्जन तथा मनको वह पोख्ने ठाउँ हो । त्यही भएर रात कहिल्यै नजाओस भन्ने भावका साथ उजेलो भएको छैन भन्ने खालका गीतहरु प्रचलनमा छन् ।
काँ पुग्यो माहुरी राना
गैह्रि खेत तोरीको रस खान
यस्ता खालका गीतरुले भाले जातीको वैमानीपनलाई संकेत गर्छ । फुल देखेपछि झुम्मिने अनि कुलेलम ठोक्ने भमरा अर्थात माहुरीको राजालाई प्रतिक बनाएर भाले जातीलाई डुल्दै मात्रै नहिँड्न यस गीतले सचेत गराउँछ ।
दैलामुनी आइपुग्यो हाम्रो दाई
रातो डोली चम्री गाई अघि लाई
यहाँ हिन्दु परम्परा अनुसार गाइलाई लक्षिनको प्रतिक मानिन्छ । दुलही ल्याउन गएको दुलाहाले आफ्नी दुलहीलाई रातो डोलीमा चढाएर अघि अघि गाइ लगाएर घर भित्राउँदा दाम्पत्य जीवन तथा दुलहीको पराइघरमा घुलमिल सुखमय हुने विश्वास राखिन्छ । जन्ती फर्किने क्रममा दुलाहालाई फुर्काउन रचित यस गीतले निकै गहिरो भाव छोडेको छ ।
च्वाट्टै छिन्यो विजुली तार
आउनै छाड्यो मायाको खवर
नयाँ पुस्तालाई चिठीपत्र,हुलाक र त्यो भन्दा पहिलेका धुँवा लगायतका संकेत र अन्य प्रविधिबाट खवर आदान प्रदान हुन्थ्यो भन्ने थाहा नहुन सक्छ । किनभने अहिलेको जमाना भिडियो कल लगायतका माध्यमले भरिपुर्ण छ । तर पुरानो समयमा आफ्ना हितैषिहरुको खवर पाउन निकै मुस्किल पर्दथ्यो । त्यसैको यस गीतले त्यसैको छनक दिन्छ ।
गैह्री पानीको ताल
भेट भए त यही चाल
पानीको ताल निकै गहिरो हुन्छ । अनि विभिन्न कारणले आफुसँग भेट नहुने हितैषिलाई यही चाल शब्दले पछ्याउँछ । कोही रिसाएर तथा कोही विविध परिबन्धमा परेर टाढिने गर्दछन् । रिसाएको मान्छे झगडा गर्ने भयो अनि आत्तिएको वा निसास्एिको मान्छे अब लाडिने भयो । त्यही भएर गैह्री पानीको ताल ।
त्यस्तै नेपाली परम्परामा दिदीको देवर भेना र भाउजुको बहिनी सालीलाई उत्ताउलो सम्बन्धको प्रयाय मानीन्छ । यिनिहरु भेटघाट हुँदा जिस्किने, लाडिने प्रकृयालाई प्राकृतिक मानिन्छ । जब रत्योैलीमा रात काट्न पट्यार लाग्छ अनि रमाइला गीतहरुको शुरुआत पनि गर्ने गरिन्छ ।
पानी सलल
पानी सलल हो भेना
त्यो छाता यता लेउ
पानी सलल
यहाँनेर पानी सललका अर्थ बिबिध हुन्छन् । खोलामा पानी सलल । कुनै मिठो चिज वस्तु देख्दा पानी सलल ..... यावत.... यावत । तर यस गीतमा निकै शिष्टताकासाथ छाता र पानी लाई विम्व र प्रतीक मानीएकाले उत्ताउलो लाग्दैन ।
हस्त आजको रत्यौली सम्बन्धी सामाग्रीहरुलाई यहीँ विश्राम दिउँ । अर्को कथामा फेरी भेटौंला ।
