उहिलेको बाजेको पालामा .....
मोहोर गन्थे डालामा..........
बाबुराम दाहाल रचित यो गित सुने पछि बाजेका पाला कस्तो हुँदो हो ? भन्ने कौतुहल लागि रहन्थ्यो र थुप्रै बाजे–बजै हरु सँग पुरानो समाज र दैनिकीका बारेमा कुरा गरिरहन्थे । संयोगबस बिक्रम सम्बत १९८१ साल बैशाख ५ मा पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं.७ मा जन्मनुभएका बाजे पद्मलाल उपाध्याय सँग रमाइलो कुरा गर्ने मौका जु¥यो । ऊ बेलाका घतलाग्दा र रमाईला अनुभुतिहरुका सम्झना सँगालेर राख्नु भएको रहेछ । सरसर्ति ऊ बेलाको समयका पानाहरु पल्टाउँदा त्यो समय वास्तविक साहित्य जस्तै लाग्यो । बाँच्नको लागि संघर्ष,ब्यस्त जनजिवन,लोभलाग्दा प्राकृतिक विषयवस्तु,तिब्ररुपमा विकसित हुँदै गरेको मानव सभ्यता सबैलाई सोलोडोलो सम्मिश्रण गर्दा त्यो जिन्दगी भौतिक रुपले दुख भए पनि भावनात्मक रुपमा धनि रहेछ भन्ने लाग्यो । तिनताकाका दैनिकी,समाज र मान्छेहरु,देश राज्य ब्यबस्था र काठमाण्डौ र पोखरा बजार कस्ता कस्ता थिए भन्ने कुरा बाजेले सरर बताउनु हुँदा रमाइलो र गम्भीर दुवै लागेको थियो । दुखद कुरा केही वर्ष अगाडी बाजेको स्वर्गारोहण भइसक्योे । उहाँका अनुभुतिहरु भने सुरक्षित छन् ।
बाल्यकाल ः
अहिलेको भन्दा अलि कष्टमय थियो । आमा बाबु मेलापात घाँसदाउरा गर्न जाने हुँदा बालबच्चाको स्याहार सुसारमा समय दिन पाउने थिएनन् । तै पनि भगवान भरोसा उ बेलाको खानपिन नै राम्रो ताजा र शुद्ध आहारले बलिया बाङ्गा मान्छेहरु । ठुला दुख बिमार बाहेक साना तिना रोगब्याधीलाई टेरिँदैन्थ्यो । अहिलेको जस्तो अस्पताल र डाक्टर हुँदैन्थ्ये धामी झाँक्री र झारफुकमै सन्तुष्ट हुनुपर्दथ्यो । हामी टोलछिमेकका केटाकेटीहरु जम्मा भएर लौरीबियो,गिँलाती र भकुण्डो खेलेर रमाईलो गथ्र्यौँ । हरियाली र रमाईलो वातावरण थियो जता हेर्यो उतै वन नै वन हुन्थ्यो । सबै डाँडापाखा,वन र भिरपहराहरुले आफुलाई चिनेजस्तो लाग्ने । सबै वारीपारीको ठाउँ आफ्नै जस्तो लाग्ने । अहिले जस्तो बिद्यालयहरु थिएनन् त्यसैले लेखपढ गर्न पाईएन । कोही कोही बनारस,बृन्दावन र अयोध्या गएर लेखपढ गरी पण्डित बनेर आउँथे । त्यसरी फर्केका गाउँमा बिरलै भेटीने पण्डित र स्थानिय कर्मकाण्डी पण्डितहरुलाई खोजेर गुरु थापेर संस्कृत सिक्ने गरिन्थ्यो । बल्लबल्ल गुरु खोजेर सामान्य श्लोक हाल्न र संस्कृत पढ्न सिकियो यो अली ठुलो भएपछिको कुरा हो । बाल्यकालमा त सकेको काम गर्ने र बाँकी समय खेलेरै बित्यो ।
विवाह ः
उतिबेला सानै उमेरमा विवाह गर्ने चलन थियो । कुलकुटुम्ब मिलाउनुपर्ने हुँदा र पुरुष भन्दा महिलाको जनसंख्या कम भएर हो कि ? बिहे गर्दा साटो हाल्ने चलन पनि थियो । आफ्नो विवाह आँफैलाई थाहा नहुने । बा आमा सँग खेल्न गए जस्तो लाग्ने रमाईलो चलन थियो तिनताका । मेरो भने १५ बर्षको उमेरमा विवाह भयो ।
माया पीरती र रोदीघर ः
अहिले जस्तो फिलिम हेर्ने र बगैैँचा तिर गएर माया पिरती साट्नी कुरा उ बेला दुर्लभ थियो । झन् सानै उमेरमा विवाह हुने र बुझ्ने भैसक्दा जिम्मेवारीको भारी बोक्नै पर्ने भएको हुँदा पिरती गाँसेर रमाईलो गर्न पाईएन । लुकिछीपी र कर्तब्यबोध नगर्ने कोहीकोहीले भने अमिल्दा पिरती लाएर समस्या खडा गर्ने गर्थे । रङ्ग रमाईलो भने उतिबेला पनि धुमधाम हुन्थ्यो । बिहेबारी र मेलापातमा सोरठी भाकाहरु घन्कन्थे । राती राती रोधी घरमा गएर नाचगान गरेर रमाईलो गर्ने चलन थियो । ए ! तरुना तन्नेरी कम्मर मर्काएर नाच्थे गाउँथे । साथीभाई भेट भएर मनकाबह पोख्थे । “.........रोधीघरमा म आईन भने निष्ठुरीलाई दाई तिम्ले नभने......” यस्तै यस्तै गाएर बित्थे दिनहरु ।
नुन जाने कुरा ः
पहिला थाकन र पछि बटौलीमा गईयो नुन । सबै खाद्यबस्तु घरमै उत्पादन हुनेभए पनि उ बेला नुनको साह्रै सास्ती थियो । त्यसैले बर्षदिनलाई पुग्ने गरी नुन भण्डार गर्ने चलन थियो । खेतीपाती लाईसकेपछी समुह बनाएर नुन ल्याउन अर्थात “नुन” गईन्थ्यो । मुस्ताङ्गको थाकटुकुचे लाई थाकन भनिन्थ्यो भने अहिलेको बुटवललाई बटौली भनिन्थ्यो । अहिलेका जस्ता मोटर थिएनन् हिँडेरै १५–१६ दिन लगाएर नुन गइन्थ्यो । १ पाथी चामल सँग २ पाथी नुन साटीन्थ्यो ।
ऊ बेलाको काठमाण्डौ र पोखरा ः
१८ सालमा हिँडेर पर्वत देखी काठमाण्डौमा ११ दिनमा पुगियो । पोखरा बाट तनहुँ, मादी तरेर गोर्खा त्यसपछि लमजुङ्ग अनि त्रिसुली तरेर नुवाकोट बाट पाँच मुहाने हुँदै बालाजु पुगियो । ए ! डाँडाबाट हेर्दा झलमल्ल बिजुली बलेको देखाउँदै त्यही हो काठमाण्डु भन्दिए, दङ्ग परियो । जीवनमा पहिलोचोटी बिजुली देखेको त्यही बेला हो । पहिला सोह्खुट्टे गईयो अनि ठमेल पछि लैनचौर हुँदै पैदल हिँडेर पशुपतिनाथको दर्शन गर्न पुगियो । उपत्यकामा अन्तरछिन्तर बजार बाहेक फाँटैफाँट मात्रै थियो । झिँगटीले छाएका घरहरु थिए । घण्टाघर र धरहरा थियो । पहिले राजा बस्ने हनुमानढोका दरबार गईयो । हामी जाँदा राजाहरु नरायणहिटीमा सरिसकेका थिए । भक्तपुर र जावलाखेल पनि गईयो । हैटौंडाबाट सिमेन्टी बोकेर काठमाण्डु ल्याउने खम्बाका तारमा झुण्डिएका बाकस थिए । खुरुर्र ! खम्बामा दगुर्थे तिनलाई रोप वे भन्दा रहेछन् । रोप वे पनि देखियो रमाईलो लाग्यो । पछि २०–२२ सालतिर बिमान बस्यो पोखरामा पनि बिमान बस्यो अनि पोखराबाट बिमानमा काठमाण्डु जाउआउ गर्न थाले मान्छेहरु । पोखरामा अहिले जस्तो ब्यस्त बजार थिएन । फाट्टफुट्ट घरहरु मात्रै थिए । १९९३ सालमा कलधारा भने थियो पोखरामा । कुवाको पानी खाने ऊ बेला कलधारा भनेको धेरै सहज र विकसित मानिन्थ्यो । त्यही बर्ष तालथुन्नी भनेर सरकारले झारा लगायो । कालीपारका जनतालाई जान परेन हामी कालीवारीका सबै गाँउ जाने उर्दी थियो । (कालीपार भन्नाले बाग्लुङ्गलाई जनाउँथ्यो । म्याग्दी जिल्ला थिएन । शिख घार र नारच्याङ्गको गााडाबाँग सम्मै पर्वत जिल्ला थियो । रघुघाट पारीबाट मुक्तिनाथसम्म मुस्ताङ्ग जिल्ला थियो भने रघुघाट वारीका म्याग्दीका अहिलेका भूभाग बाग्लुङ्गमा पर्दथ्यो । )ढिकीले ईँट कुटेर ईँट नै इँटको गारो लाएर फेवाताल बनाईयो । ८ पैसाको खाजा र ३ पैसाको चिनी पाईयो । गाँउका सबैलाई जिम्मावालले उठाएर लान पर्दथ्यो । हाम्रामा भजत्ते जिम्मावाल थिए । उनैले हामी सबैलाई ताल थुन्न लिएर गएथे ।
मोहोर मानो घिउ ः
मोहोर मानोमा घिउ पाईन्थ्यो । मोहोरमा तिन पाथी धान पनि पाईन्थ्यो । तोरीको तेललाई पनि मोहोर मानो मै पाईन्थ्यो तर तेलको उति चलन थिएन । तोरीको तेल घरमै उत्पादन गरेर गर्जो टथ्र्यो । घिउ भने किन्नै पर्दथ्यो । रुपिँया पैसामा किनबेच कमै हुन्थ्यो । धेरैजसो सामान वा बस्तु साटासाट नै गर्ने चलन थियो । अहिलेका जस्ता कागजी नोट थिएनन् । सिक्काको चलन थियो । बैँक पनि थिएनन् । भएका सिक्का घरमै राख्थे । अलि धेरै हुनेहरुले घैँटोमा राखेर माटोमुनी गाड्थे । लोभलाग्दा चाँदीका सिक्का तर आर्जन गर्नै गाह्रो । २००२ पछि भने बिस्तारै कागजका नोट आउन थालेपछि बोक्नलाई अलि सजिलो भयो । नत्र धेरै धेरै खेत र सम्पत्तिको किनबेच हुँदा चरप्प पैसाको भारी बोकेर एक ठाउँबाट अर्को ठाउँमा कुद्नु पर्दथ्यो । त्यतीबेला भैंसीको मुल्य ३७ रुपैयाँ थियो । लाईट र बत्ती थिएनन् । जुनेली रातमा आउजाउ गर्न सजिलो हुन्थ्यो । अँधेरी रातमा भने दियालो र निगालोका सिठा बालेर हिँड्नु पर्दथ्यो । घरमा पनि अँध्यारोको साहारा त्यही दियालो नै हो । खानेपानी बर्खामा जताततै मूलहुने हुँदा सहज नै हुन्थ्यो । चैत बैशाखमा भने पानी नपुगेर अली टाढै धाउन पर्दथ्यो । २ सालमा ३७ मा पाइने भैँसीलाई २५–३० सालतिर ६० रुपैयाँ पर्न थाल्यो । घरबनाउने सिपालुले दिनको १ सुका खान्थे । १६ पैसाको चारआना थियो । चारआना हलीको ज्याला थियो । ढिकीमा धानकुटेर चामल बनाउन पर्दथ्यो । कोलमा तेल पेल्ने । जाँतोमा मकै,कोदो र गहुँ पिँध्ने । ठुला पानी घट्ट पनि हुन्थे । कुटन पिसन गर्न धेरै दुख थिए ।
२००७ साल र ०४६ आन्दोलन ः
सातसालमा ३ सरकार मुर्दाबाद ५ सरकार जिन्दाबाद भनेर राणा बिरोधी आन्दोलमा गईयो । राजालाई मान्ने चलन थियो । त्यसैले राजा त्रिभुवनको पक्षमा लागियो । पछि राणाहरु(तिन सरकार) राजा त्रिभुवनकै पक्ष भए । आन्दोलन सकियो । त्यसबखत तानसेन र स्याङ्गजामा भएका अड्डा र गौँडा जिल्लामै(कुश्मा) स्थापित भयो । जग्गा जमिनको तिरो तिर्न स्याङ्गजा अड्डा जान पर्दथ्यो भने न्याय निशाफ लिन तानसेन गौंडा जान पर्दथ्यो । हाम्रो पश्चिम भरीकाको गौँडा(न्यायलय) तानसेन थियो । तानसेनमा छिनोफानो नभएपछि नालेस दिन सर्वोच्चमा काठमाण्डु जान पर्दथ्यो । २००७ सालमा ५ सरकारको पक्ष भएपछि गौँडा र अड्डा जिल्लामै स्थापित भयो । त्यस्तै ०४६ बहुदल र निर्दल भन्ने आयो । बहुदलको रातो झण्डा र निर्दलको निलो झण्डा थियो । हामीले रातो झण्डा घरमा गाडेर बहुदलको पक्षमा भन्यौँ ।
महेन्द्र जिन्दावाद,बि.पी.को बिरोध ः
रेडियो नआउँदै चक्का हालेर बजाउने फोनबाजा हुन्थे । आफूले चाहेका गितहरु सुन्ने ति फोनबाजा पनि महङ्गा हुनाले सिमित मात्रै थिए । बाग्लुङ्गका एकजना पसलेकहाँ फोनबाजा थियो । हामी सरसामान किन्न जाँदा सुनिन्थ्यो,सबैले सुन्थे । सामान पनि उसैकहाँ किन्ने अनि गित सुनेर फर्किने गर्थे । त्यस्तो रेडियो टि.भी केही नभएको बेला त्यो फोनबाजाको महत्व नै छुट्टै बयान गरि साध्य नै छैन । त्यहीबेला १७–१८ सालतिर हुनुपर्छ गिताङ्गे धर्मराज थापा बाग्लुङ्ग आएर गित गाए । “पुर्वै पर्यो कालीगङ्गा,पश्चिम बाग्लुङ्ग बजार,......कहिले आउला बाग्लुङ्गैमा कलधारा............” भन्नी गित गाएर गए । त्यस्तै १६ सालमा बाग्लुङ्गमा राजा महेनद्र पनि आए । तारेघोडामा चढेर राजा आउँदा बजारमा नारा पनि चल्यो । त्यतीबेला बि.पी प्रधानमन्त्रि थिए । श्री ५ महाराज धिराज जिन्दाबाद ! भनेर राजाका अघि बि.पी.लाई बिरोध भयो ।
भानुभक्तको रामायण ः
सुन्न त लक्ष्मी प्रसाद देवकोटा,लेखनाथ पौडेल आदिलाई पनि सुनियो,देखिएन । भानुभक्तलाई धेरै सुनीयो र पढियो पनि । उनले लेखेको रामायण पढ्दा धेरै ज्ञानगुन प्राप्त हुन्छ । रामायणका केही श्लोक सम्झन्छु । राम र रावणको लडाँइमा लक्ष्मणले इन्द्रजीतको हात काटेपछि,उसको आगँनमा गएर हात खस्छन् । उसकी श्रीमती झस्केर के भएको हो यस्तो यदी म सत्यकी छु भने यही हातले लेखोस् भनेर हातलाई लेख्न लगाईन् । पछि थाहा लाग्यो त्यो हात उनकै श्रीमानको रहेछ । यहाँ त के सुख छ र ? मेरो लास रामचन्द्र सँग छ बुझेर मै सँग सती आउ भन्दा रावणले हुन्न लडाँइ जित्ने हो नजाउ भनेको थियो तर ईन्द्रजीतकी श्रीमती सुलोचना सती गईन् । हो त्यही खण्डको उउटा श्लोक याद छ मलाई ।
होईनन् मानिस रामलक्ष्मण दुवै हुन्छौ त लोकका पति
मानिसको अवतार लिएर अहिले हाम्रो गराए खति
अन्तमा
मत डाँडा माथिको जुन अस्ताउने बेला भैसक्यो भन्नुहुन्थ्यो । दुखद कुरा उहाँ सँगको भेटको केही दिनमा नै जुन अस्तायो । अन्तमा उहाँले दिएका अर्ति भने बाँकी छन् । मान्छे पहिलका राम्रा जिन्दगी आजभोलीको सुखी । धार्मिक आस्था छोड्नु हुँदैन । सत्कर्म गर्नुपर्छ । राम्रो कर्म गरेपछी अर्को जुनीमा भए पनि फल प्राप्त हुन्छ । कसैलाई दुख नदिने र कसैको अहित नचिताउने सबैप्रति सहयोगी भावना राख्नुनै मानव चोलाको सार्थकता हो । हामीले जीन्दगीलाई सार्थक बनाउनु छ भने त्यतीठुलो त्याग गर्नै पर्दैन । सम्पुर्ण मानवसमुदाय र प्राणीहरुप्रती सहिष्णु होऔँ र सँधै सकारात्मक सोचाई राखौँ त्यही नै सर्वश्रेष्ठ हो ।
–दिपेन्द्र सुबेदीसँगको कुराकानीमा आधारित