• सम्पादकीय
  • चाकर संस्कृतिले प्रजातान्त्रीक अभ्यासलाइ खलल नपुर्याओस्...

चाकर संस्कृतिले प्रजातान्त्रीक अभ्यासलाइ खलल नपुर्याओस् !

चाकर संस्कृतिले प्रजातान्त्रीक अभ्यासलाइ खलल नपुर्याओस् !

भुइँ पाटी
सोमवार, फाल्गुण ७ २०८०
  •  

    आज फागुन ७ अर्थात प्रजातन्त्र दिवस, जहानियाँ राणातन्त्रबाट जनसाधारणले मुक्ती पाएको दिन । प्रजातन्त्र स्थापनाको ७२ औं ७३ औँ वर्षमा पाइला टेकिँदा समेत नेपाली मानसिकताले पुरानै धङधङिबाट मुक्त हुन सकिरहेको छैन । यसका पछाडी कमजोर सोंच संस्कृतिले काम गरिरहेको छ भन्दा सायदै बढाइ चढाइ होला ।  चाकर मनसिकता  र पुरातन सोचले प्रजातान्त्रीक वा लोकतान्त्रीक अभ्यास अगाडि बढाउन समस्या परेको हो कि, जस्तो लग्दै छ ।

    चकडी र चाप्लुसी संस्कृति नेपालमा निकै पहिला देखि स्थापित भएर आएको छ । तत्कालिन परिवेश र परिस्थितिमा जन्मीएका पुरातन मान्यताहरु भत्किनु पर्नेमा झन् बलिया भएर आएको देखिन्छ । समाज विकासको इतिहासमा मानव र उसलाई आइपरेको असुराक्षाको अनुभूतिबाट मुक्त हुनलाई समुदायको आवश्यकता हुन्छ । अनि उसले बसाएको समुदायमा क्रमिक रुपमा जटिलताहरु थपिँदै जान्छन् । तिनै जटिलताको समाधान गर्न मानव समुदायले विविधखाले उपायहरु अपनाउँदै आएको भन्ने कुरा पढ्न पाइन्छ । सुरुमा थोरै मात्रै समुदाय र प्रशस्त खानेकुराको उपलब्धताले प्रतिष्पर्धाहरु नहुने भएकाले मान्छेहरुमा आपसी सद्भाव राम्रो थियो भन्ने गरिएको छ । कालान्तरमा संख्या बृद्धि र चेतनाको आविष्कार आदीले धेरै कुराहरुको आवश्यकता खड्कियो अनि व्यक्ति र समुदायमा दरार उत्पन्न हुन थाल्यो । यस्तोमा आफ्नो परिवार र समुदायको सुरक्षार्थ वलवान मान्छेको खोजी हुन थाल्यो । यसरी समुदायको सुरक्षा गर्ने बलवान तत्–तत् समुदायको नेता अथवा राजा घोषित भयो । यसै क्रममा समान भाव भएका समुदायहरु मर्फत “नेशन” अर्थात राज्यको परिकल्पना भयो भन्ने गरिन्छ ।

     यस्तै श्रृङ्खला पार गर्दै–गर्दै बनेको नेपाल देश अथवा राज्य सोंच र सभ्यताका हिसाबले निकै पिछडिएको मानिन्छ । समकालिन देशहरुले विकासक्रममा पुर्णविराम लाग्ने अवस्थामा पुग्दै गर्दा नेपाल भने अधोगतिमा धकिलिँदै गएको छ । क्रुर शासक, उत्पादनको असमानुपातिक वितरण तथा उपयुक्त विधि कार्यान्वयनका अभावमा नेपाल र नेपाली समाज पछौटे बनेको कुरा सबैका सामु छर्लङ्गै छ । यद्यपी समग्र राज्य संयन्त्र र उपरी संरचना फितलो हुँदै आएका भएता पनि तिनलाई अंकुश लगाउन सक्ने ल्याकत र खुवी भएको तल्लो तहमा पनि उस्तै सोंच र दरिद्रता बाँकी नै रहनुलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन ।

    नेता बिग्रियो, पार्टी भन्दा राजा ठिक, राजा भन्दा राणा ठिक, अर्थात जसरी पनि पुर्व अवस्थामै फर्किँदा “फु मन्तर” वा जादुको छडी जसरी समस्याको समाधान फ्याट्टै निस्किन्छ भन्ने तल्लो तहको मान्यतामा खोट लगाउने प्रशस्त ठाउँछन् । सकेमा सत्ता र शक्ति हत्ताउने र नसकेमा जसको शक्ति छ उसैको भक्ति गाथा गाउने र जि हजुरी गर्ने नेपाली परम्परा कसै गरेर पनि मर्न सकेको छैन । जसले गर्दा सुसारे,भित्रिया र आठपहरियाहरु राखेर मोज गर्न पल्किएकाहरुको दिमागलाई लोकतान्त्रिककरण गर्न दवाब पुग्न सकेको छैन । समानता, समावेशि र समन्याय जस्ता उपलब्धीहरुमा टेकेर उन्नत सामाजिक व्यवस्था तर्फ अगाडी बढ्नुपर्ने बेलामा नेपाली सोंच र मानसिकताको धङधङी अवाक लाग्ने गरेर अलमलमा पर्दै आइरहेको छ ।

    हाम्रा हरेक राजनैतिक दल, संघसंस्था र सामाजिक संयन्त्रहरुमा लोकतान्त्रीक मान्यता भन्दा चाकर संस्कृतीले नराम्रो गरेर जरा गाडेको देखिन्छ । संस्थागत मुल्य मान्यता भन्दा पनि भन्दा पनि व्यक्ति र स्वेच्छाचारलाई बढवा दिने हाम्रो सोंचलाई चाकरतन्त्रले परिचालन गर्दै आइरहेको छ । उन्नतखाले प्रतिष्पर्धाबाट डराउनेहरुले शक्ति र संस्थापनलाई प्रभावमा पारेर समग्र सामाजिक व्यवस्थालाई खलल पुर्याउँदै आइरहेकाछन् । यो समग्र प्रकृया समाजको सबैभन्दा ठुलो संगठन सरकार देखि लिएर तल्लो तहका सम्पुर्ण संघठन–संस्थाहरुमा पनि उस्तै छ । अतएव मानव विकास सूचकाङ्कको मापन गर्ने विधिहरुले चिल्ला सडक र ठुला महलहरुलाई मात्रै विकास नमानेर मानवी सोंच र दुरुस्ततालाई समेत विकास मान्ने गरेकाछन् । अब सरकार र सरोकारवालाहरुलाई मात्रै गाली गरेर समाधान ननिस्कने भएकोले सम्पुर्ण अवएवका नागरिकहरुले समेत आफुलाई नोकर–चाकर मानसिकताबाट माथी राखेर व्यवहार प्रदर्शन गर्नलाई प्रजातन्त्र दिवसले सबैलाइ सद्बुद्धि प्रदान गरोस् । सबैमा प्रजातन्त्र दिवसको शुभकामना !

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend