सम्पादकीय

प्रतिष्पर्धात्मक हारलाई सम्मान गर्न सिकौं

प्रतिष्पर्धात्मक हारलाई सम्मान गर्न सिकौं

भुइँ पाटी
शुक्रवार, पौष १८ २०८२

  • पछिल्लो समय नेपाली सम्प्रदायहरुमा विकसित भएको जितुवा मानसिकताले दुर्घटनाहरु दोहोरिरहने खतरा बढेर गएको छ । समाजका सम्पुर्ण अवएवहरुको नेतृत्व गर्ने प्रमुख संस्था भनेर मानिने राजनीतिबाट मौलाएको यो मानसिकताले थप चिन्ता बढाएको छ । जसरी पनि जित्नै पर्ने मानसिकताकाविच हार्न तयार पक्ष पाउनै मुश्किल छ ।
    उन्नत लोकतन्त्र हाँसिलका लागि बलियो प्रतिपक्ष दल वा आवाजको खाँचो हुन्थ्यो। हामीकहाँ प्रतिपक्षमा बस्नु परे बरु संसद विगठन गरिदिने,कुर्चि भाँचिदिने तर कुनै हालतमा प्रतिपक्षमा नबस्ने दलहरु हावी छन् ।  जसले पटक पटक संसद विगठन गर्छ उसैलाई भारी मत दिने मतदाताहरु छन् । जित्नै पर्ने मानसिकताबाट ग्रसित यस्ता दृष्टान्तहरु हेर्दा लाग्छ, सरोकारवालाहरुले लोकतन्त्रको जग बलियो बनाउन निकै धेरै प्रयत्न गर्नुपर्ने देखिन्छ । 
    अतएव नियम र मान्यताहरु बलियो नभएसम्म थिति बस्दैन । त्यसका लागि राजनैतिक दल र जनमानसमा पनि छलछाम,छुद्रता र तिकडदम जस्ता अशुद्ध कर्महरु त्याग्न सक्ने विचार पलाउन जरुरी छ । एउटा चुनाव हार्दैमा आकाश खसिहाल्ने हो कि, जसरी हरुवापक्षलाई गरिने खिसिटिउरीबाट बदलाभावको जन्म हुन्छ । जसले सिर्जनात्मकता भन्दा ध्वंसलाई बढवा दिन्छ । जितुवा राजनैतिक दलहरुले उन्माद त्याग्ने र हरुवा राजनैतिक दलहरुले धैर्यता गर्ने परम्परा विकसित नहुँदा दुखद समयहरु लम्बिरहेका छन् । 
    नेपाली जनजीवनको मानसिकता पनि उसै गरि हुर्कँदो छ । इस् खाइस् ! तेरो पार्टी हार्यो,तेरो पक्ष सकियो जस्ता शब्दहरुद्वारा हार्ने पक्षलाई गरिने अपमानले नजिति नहुने कुरालाई बल पुर्याउँछ । अनि तलदेखि माथी सम्म जे मा पनि जित्नै पर्ने बाहेक अरु कामै गर्न नपर्ने अवस्था सिर्जना हुँदै आएको छ । 
    जितेर जानेहरुलाई मात्रै धाप मार्ने भन्दा काम गर्नेहरुलाई सम्मान गर्न सिकौं ।  नियम बनाउँ, थिति बसालौं । इज्जतका मापकहरु फेर्ने प्रयत्न गरौं । अनावश्यक वहस र अनुत्पादक सिलसिलाहरुमा समय खर्चिन छोडौं,परिस्थिति सुल्झिन सक्छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend