कृष्ण कँडेल प्रकरणले सिकाएको पाठ

कृष्ण कँडेल प्रकरणले सिकाएको पाठ

भुइँ पाटी
मंगलवार, फाल्गुण ८ २०८०

  • कलाकार एवं “इन्द्रेणी” का संस्थापक/सञ्चालक कृष्ण कँडेल प्रकरणले अहिलेको नेपाली बजारमा निकै हल्ला–खल्ला मच्चाएको छ । सामाजिक सञ्जाल देखि सञ्चारमाध्यमहरुमा ‘भाइरल’ बनेको यो प्रकरणले कलाकारिताको दुनियाँ वाहेकका क्षेत्रहरु समेतमा हुने गरेका बेमेल र असन्तुलनलाई पनि सोचनीय बनाएको छ । हुन त नेपाली कला र रङ्ग क्षेत्रमा यस भन्दा अगाडि पनि यस्ता खाले घटनाहरु नहुने गरेका होइनन् । प्रायजसो नाम कमाएका ‘स्टार’हरु विभिन्न ‘स्क्याण्डल’मा विवादित भइरहँदा मान्छेहरुले सम्पुर्ण कलाकारिता क्षेत्रलाई नै बद्नामीका रुपमा बुझ्ने गरेका थिए । तथापी कलाकारिता बाहेक खेलकूद, सञ्चार जगत र अन्य खालका पेशागत संगठन तथा व्यक्तिहरुले सिर्जना गरेका बद्नामहरु समेत हामिकहाँ ब्रगेल्तीछन् । जनसाधारणमा राजनैतिक दल र नेताहरुकावारेमा बनिबनाउ धारणाका कुरै नगरौं, वर्तमान सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि कर्मचारी वा प्रशासक र ठुला भनिएका व्यवसायिहरुको समेत हविगत हाम्रा सामु छर्लङ्गिएकै छ । समग्रमा भन्नु पर्दा नेपाली जगतको एउटै ठाउँ बाँकी छैन, जहाँ अनिमियतता र स्वेच्छाचार हावी नभएकोहोस् । अर्थात हाम्रो सामाजिक मान्यतामा नै खोट लगाउने प्रशस्त ठाउँहरुछन्, जसले नराम्रो परिणाम निकाल्न सघाउ पुर्याउनुकासाथै कैंयौ कृष्ण कँडेलहरु जन्माउन भूमिका खेलिरहेको छ । 
    यसभन्दा अगाडी ध्रुमुस–सुन्तली फाउण्डेसनले रङ्गशाला बनाउने भन्दै स्वदेशी र विदेशी नेपाली मार्फत व्यापक चन्दा संकलन गरेको थियो । यस्तै रास्वपा अध्यक्ष रबि लामिछानेले अस्पतालका नाममा त्यसै गरि अर्थ संकलन गरेका थिए । अहिले विवादमा तानिएका कृष्ण कँडेलको आम्दानीको स्रोत पनि दान–चन्दा नै हो । यस्तै बेला–मौकामा आयोजना हुने महायज्ञ र मेला–महोत्सव आदि संस्थाहरु पनि माग्नकै लागि आयोजना गर्ने गरिन्छ । यसरी संकलित रकमहरु दुरुपयोग नभएको  भनेर सम्बन्धित पक्षले दुरुस्तताको हवला दिने गर्छन् । विश्वास–अविश्वास आफ्नै ठाउँमा छ, समग्रमा हामिकहाँ मौलाएको मगन्ते संस्कृति आँफैमा गलत छ । 

    krishna kandel jpg.jpg
    आर्थिक उपार्जनको उपयुक्त माध्यम नभेटिँदा व्यक्तिका संकट बढेका थिए, बढेकैछन् । थोरै मात्रामा सिर्जना भएका कार्य क्षेत्रमा पनि उपयुक्त मुल्य छैन । व्यर्थै श्रम खेर गइरहेको मात्रै छ । यसरी हेर्दा हाम्रो सामाजिक मानसिकता मान्छेलाई सवल बनाउने भन्दा पनि अनावस्यक सामुहिकता सिर्जना गरेर व्यक्तिगत लाभ लिने भन्नेतिर उन्मुख भएको बुझिन्छ । यसैले गर्दा हामिकहाँ स्थापित सामाजिक  संस्थाहरु कमजोर देखिँदै आएकाछन् । वि.पि. कोईराला, मदन भण्डारी जस्ता चर्चित व्यक्तित्वहरु जन्माउने नेपाली समाजले असल संस्थाहरु जन्माउन सकेको छैन । यसै गरि कृष्ण कँडेल जन्मिए पनि ‘इन्द्रेणी’ विवादित बन्दैछ । 
    चलायमान हुनुपर्ने अर्थतन्त्रमा समस्या भइरहेका बखत दानीहरु नभेटिनु स्वभाविक हो । अर्थ अभावकै कारण साथीभाइ,नातेदार र परिवारमा दरार आउनु अस्वभाविक होइन ।  अहिले इन्द्रेणीमा भइरहेको खटपटलाई त्यसै गरेर बुझ्नुपर्छ । अनि सवैले महत्वकांक्षा र ‘हिरोज्म’ को सपना त्यागेर साधारण तथा असल मान्छे बन्ने प्रेरणा प्राप्त गर्नुपर्छ । पदमा र नेतृत्वमा हुनेहरुले आफुलाई मंगलग्रहको प्राणी नठानेर, मर्यादा र आचरणमा बस्न सके विवादित र अस्वभाविक घटनाहरु फेरि दोहोरिन पाउने छैनन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend