जिम्मेवार बन्न नसकेको नेपाली संस्थापन

जिम्मेवार बन्न नसकेको नेपाली संस्थापन

भुइँ पाटी
आइतवार, फाल्गुण २० २०८०

  • राज्यको वनावट भित्र साझा भावना प्रतिविम्वित हुने सग्लो राज्यसंयन्त्र हुन्छ । त्यस वाहेक पनि राज्य बन्नलाई विविध खालका आयामहरु आवश्यक हुन्छन् । अर्थतन्त्र,संस्कृति,कला,बौद्धिकता,खेलकुद आदि जस्ता योगहरुको सम्मीश्रणले राज्यको अनुभुती गराएका हुन्छन् । यिनै विविध खाले आयामहरुले आफ्नो देशको परिचय दिइरहेका हुन्छन् । जस्तो अर्थतन्त्रमा सुधार आएपछि राज्य धनी हुन्छ । संस्कृति र सभ्यताले त्यस देशका मान्छेहरुको स्तर मापन हुन्छ । यस्तै कलाकारिता र बौद्धिकताले सम्पन्नताको परिचय दिन्छ । त्यसै गरी खेलकुद, पत्रकारिता आदिका पनि आफ्नै परिभाषाहरु छन् । यसरी राज्यको वनावटमा थुप्रै खालका यस्ता तत्वहरु हुन्छन्, जसलाई राज्यसंस्था वा तिनको सामुहिक योगलाई सामान्य अर्थमा संस्थापन भनेर बुझ्ने गरिन्छ । 
    स्थानीय ठाउँबाट विकशित हुँदै काठमाण्डौ(केन्द्र)मा आइपुग्ने यस्ता संघसंस्थाका मुख्यहरुको(प्रमुख) व्यवहार वा मनस्थितिले त्यस देश वा स्थानको वास्तविकता झल्काइरहेको हुन्छ । प्रमुख कार्यकारीले राम्रो व्यवस्थापन गरिदिए, प्रमुख प्रशासकले राम्रो काम गरिदिए, प्रमुख अधिवक्ताले राम्रो बहस गरिदिए, प्रमुख व्यापारीले राम्रो व्यपार गरिदिए, प्रमुख खेलाडीले राम्रो खेल खेलिदिएपछि मात्रै न देश बनाउने र बन्ने श्रृङ्खलाको प्रारम्भ हुने हो । यद्यपी हामीकहाँ देश बनाउने र बन्ने गरिकन तल देखि माथिसम्म खासै सोंच–विचार गरिए जस्तो लाग्दैन । 
    प्रमुख कार्यकारीलाई सत्ता टिकाउने मात्रै ध्याउन्न हुन्छ । त्यसपछिका अवएव सम्हाल्ने प्रमुखहरुले नितान्त व्यक्तिगत स्वार्थ पुर्तिका लागि आफ्नो कार्यकाल सक्काउने मेलो बाहेकको सृजनात्मकता सोचेका उदाहरणहरु कम देखिन्छ । पाएको मौकामा खाने हो, भन्ने नेपाली मानसिकता धेरै पहिल्यै देखि बनि–बनाउ हो । यस्तै सभ्यताकै रुपमा विकशित भएको “राजाको काम कहिले जाला घाम” भन्ने उक्तिको सार सरकारी कामकाजमा ठगी गर्नुपर्छ भन्ने होला । यसरी बनेको जगबाट केन्द्रमा पुग्ने हाम्रो सम्पुर्ण संस्थापनको सोंच राम्रै हुन्छ भनेर अपेक्षा गर्नलाई निकै कठिन भइरहेको छ । नेपाल र अझै दक्षिण एसियाकै टपमा गनिने व्यवसायीहरुले करोडौँको सरकारी जग्गा हडपेको हामीले देख्यौं । यस्तै विकल्प दिन भनेर उदाउँदै गरेको नयाँ नेताले सहकारी ठगी गरेको पनि हामीले देख्यौं । व्यवसायी र नेतामा मात्रै होइन उपल्लो स्तरका पद सम्हाल्ने सम्पुर्ण संघसंस्थाका कार्यकारीहरुमा अहिले पनि आफ्नो चौघेरो बाहेक अर्थोक सोच्ने फुर्सद वा ल्याकत देखिएन । 
    अर्को तर्फ हाम्रा विज्ञ, हाम्रो नेतृत्व सँधै निदाइरहन्छ । कस्तो खालको विकासको मोडेल अपनाउने ? कस्तो खालको उत्पादन र व्यवासायिक क्रियाक्लापको थालनी गर्ने ? उत्पादनको वितरणलाई कसरी सहजीकरण गर्ने भन्ने जस्ता आधारभुत कुराहरुमा हाम्रो संस्थापन चिन्तित छैन । कुनै योजना छैन, कति वर्षमा के गर्ने ? स्पष्ट तालिका छैन । व्यापक भौगोलिक कठिनाइ, अप्रयाप्त उत्पादनशिल भूमि आदिका कारण कृषि पेशा भन्दा पर्यटन उद्योग र “हाइड्रो पावर” जस्ता व्यवसायमा पो प्रयत्न गर्नुपर्ने हो कि ? यतातिर खासै ध्यान छैन । स्थानीय देखि केन्द्रिय तहसम्म को मन्त्री बन्ने, को सांसद बन्ने, को पालिका अध्यक्ष बन्ने र को वडाध्यक्ष बन्ने भन्ने चिन्ता राजनीतिज्ञहरुमा छ । यस्तै कसलाई पदमा पुर्याएर आफ्नो स्वार्थ लुट्ने भन्नेमा कर्मचारी,व्यवसायी लगायतकामा चिन्ता छ । 
    जनसाधारणले सोच्ने गलत तौर तरिकालाई समेत बदल्न सक्ने खुवी केही हदसम्म माथिल्लो तप्कामा पुगेकाहरुमा अवश्य पनि हुन्छ । तथापी तिनको नियतमै खोट हो अथवा तिनलाई मौका र परिस्थितले जिम्मेवारी पुरा गर्न साथ दिएन । जे भए पनि कानुन, मान्यता र समग्र सामाजिक प्रकृयामा गोलमटोल र अस्थिरता थपिएको छ । यस बेला हाम्रो नेतृत्व र हाम्रो संस्थापनले ढङ्ग पुर्याउन र दुरदर्शिता अपनाउन जरुरी देखिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend