प्रचलित नेपाली राजनीतिको विशेषता नै बनेको सत्ता राजनीतिको नाजायज खेल अरु लम्बिँदै जानु सुखद र सकारात्मक छैन । गठन हुन नपाउँदै सरकार ढल्ने चिन्ता बोक्नुपर्ने सरकारी अवयवले प्रशासन चलाउने कौशलता भन्दा सरकार टिकाउने उपाय बारेमा घोत्लिनु परेको छ । सत्ताको ‘रिङ’ मा एउटै दल, एउटै मान्छे र एउटै समूहले मात्रै हालीमुहाली गर्न पाउने गरी संस्थागत गर्दै आइएको हालसम्मको व्यवस्थाले लोकतान्त्रिकरणका आयामहरु पक्रन सकेको देखिँदैन । निश्चित विधि, मुल्य मान्यता र पद्दतीको जग बसाउनुपर्ने जिम्मेवारीमा पुगेकाहरु सामान्य नैतिकता समेत बिर्सिएर हर हालतमा सत्ता र सरकारप्रति लालच राखिदिने परिपाटी नयाँ र नौलो होइन । सत्ता र शक्ति भनेपछि जस्तोसुकै बेइमानी पनि गरिदिने नेपालका राजनैतिक दल, समुह र व्यक्तिहरुका बारेमा जतिसुकै लामो फेहरिस्त तयार गरे पनि सूचि अटाउँदैन ।
हुन त संसार भरिका घटनाक्रम नियाल्दा राजनीति भनेको झुट र छलकपटको समग्रता भन्ने जस्तो देखिन्छ । यद्यपि तत् तत् देशहरुमा उपयुक्त विधि र नैतिकताको व्यापकताले समाज व्यवस्था सन्तुलनमा राखिराख्न सफल भएकाछन् । हुन त निकै लामो समय देखि वर्ग संघर्षको चपेटामा रुमलिँदै आएको नेपाली सत्ताको उत्पत्तिनै दाई काट्ने र भाई काट्ने जस्ता अपराधिक क्रियाकलापबाट सुरुआत भएको देखिन्छ । राणा, राजा र रजौटाहरु ज–जसले सत्ताको नेतृत्व गरे सबैको पृष्ठभूमि नकारात्मक देखिन्छ । अनि शासित हुनेहरुले आँफुलाई सँधै रैति वा चाकरको रुपमा उभ्याएर जि– हजुरी गरेर आफ्नो दुनो सोझ्याउने बाहेकको सृजनात्मकता देखाउन सकेनन् । यसरी राज्यको उत्पत्ति हुने बेला देखि हालसम्म भएका क्रियाक्लापले सर्वमान्य विधि विकास गर्दै उन्नत समाजको निर्माण गर्ने तर्फभन्दा सामन्तवादको स्थापना गरेर आफुलाई सुरक्षित राख्नेमा धेरै मेहेनत खर्च गरेको देखिन्छ । यस्तै आरोह–अवरोहले हालसम्मकै राजनीतिलाई प्रभावित गर्दै आइरहेको छ ।
वि.सं. २०७९ को निर्वाचनपछि तेश्रोचोटी सक्काइएको सरकारको आयुलाई हेर्दा अवाक नमान्ने आम नागरिक सायदै छन् । नागरिकको अपेक्षा ३ महिनामा नयाँ मन्त्रीको नाम सुन्ने होइन, सदियौं देखि राज्यविहिनताको पिडा बिर्साउने सरकारको चाहना नागरिकमा देखिन्छ । कुनै दल विशेष र ठालु सम्प्रदायको मान्छेवाहेकलाई समानता र न्याय पाउन यहाँ निकै मुस्किल छ । भनसुनको दायराले मर्माहत छन् नागरिक । एउटा बैंकको चेक साट्न समेत पावर र पहुँचबिना पुरै एक दिन फाल्नुपर्छ । मन्दिरमा फुल चढाउने लाइनमा समेत ‘पावर एण्ड पोलिटिक्स’ को छायाँ प्रष्टै देखिन्छ । यसरी पङ्गु बनेको राज्य संयन्त्रमा सरकार वा गठबन्धन फेरिनुले नागरिकमा कुनै उत्साह थप्दैन । सोंच, व्यवस्था वा परिपाटी परिवर्तनबिना समस्या समाधानको विकल्प देखिँदैन ।
सुल्झिन नसक्ने सरकारीय नेतृत्व र राजनैतिक दलहरुप्रतिको धारणाले अझै पनि मान्छेहरुलाई भ्रमित बनाइरहेको देखिन्छ । नेपाली समाजको मानसिकता र अवस्था समेतलाई मध्ये नजर गर्दा अख्तियार, न्यायालय जस्ता संस्थाहरुलाई स्वायत्त छाड्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जानै पर्ने देखिन्छ । पदीय जिम्मेवारी सम्हाल्ने मान्छेहरुमा स्वेच्छाचारिता हावी हुने गरेको देखिँदै आएकोले तिनलाई अंकुश लगाउने उपयुक्त विधि सहितको अग्रगामी लोकतन्त्र अहिलेको आवश्यकता हो । शासक र शासितहरुमा रैति र मालिकको भावना भन्दा बढि समानताको भावना विकासबिना राजनीतिक स्थायित्व सम्भव छैन ।
