• सम्पादकीय
  • गफाडीतन्त्र अन्त्यका लागि जागरुक बन्न जरुरी छ...

गफाडीतन्त्र अन्त्यका लागि जागरुक बन्न जरुरी छ ।

गफाडीतन्त्र अन्त्यका लागि जागरुक बन्न जरुरी छ ।

भुइँ पाटी
शनिवार, फाल्गुण २६ २०८०

  • विषयवस्तुमा प्रवेश नगर्ने तर अनुत्पादक र अनावश्यक सिलसिलामा समय खर्चिने नेपाली विशेषता नै बनेको छ । कर्म गर्ने र धैर्यता राख्ने आम व्यहोरा नभइदिँदा सिमित प्रयास र प्रतिबद्धताहरु असफल हुँदै आएका छन् । यसरी विकसित हुँदै आएका सन्दर्भहरुले समाज र सामाजिक क्रियाक्लापहरुमा असन्तुलन थप्ने क्रम जारी छ । समय र सिर्जनशिलता उपयुक्त ठाउँमा पोखिन नपाउँदा राजनीति,अर्थतन्त्र लगायत समग्र राज्यका आयामहरुमा अन्योलता कायम हुने अवस्था आइलागेको छ । यस्तोमा गफै गफले आकाशका तारा झार्ने एकथरीको सजिलो उपायले सवैलाई वाक्क बनाएको छ । नहुने र हुन नसक्ने कुराहरुलाई पत्याउने बानी परिसकेको नेपाली जनमानसले सम्पुर्ण गफिहरुलाई शंकाको लाभ दिँदै आएको छ । अध्ययन,संकल्प,साधना र निरन्तरको प्रयासबिना कुनै पनि कुरा प्राप्त हुन सक्दैन भन्ने चेतनाको विकास नहुँदा सम्म यस्तो भ्रम निवारण हुन सक्ने देखिँदैन । तथापी हाम्रो मनस्थिति गफ देखि गफ पत्याउन अभ्यस्त भैसकेको छ ।
    कर्म भन्दा धेरै भाग्यमा विश्वास राख्ने नेपाली प्रचलन पुरानै हो । भौगोलिक कठिनाई, निश्चित योजनाको अभाव र उपलब्ध स्रोत साधन परिचालन गर्न सक्ने खुवी र तत्परता नहुँदा असक्षम बनिरहनु पर्ने नियती हाम्रासामु खडा हुँदै आएको छ । सामाजिक सोंच निराश र भयग्रस्त हुँदा भाग्य र गफको आशा गर्ने परम्परा बन्नु अस्वभाविक पनि भएन । हामीलाई सोंच परिवर्तन गर्न ढाडस दिने इमान्दार अभियन्ता वा नेतृत्वको खाँचो थियो । परन्तु हाम्रोमा त्यस्ताखाले नेतृत्वहरुको विकास हुनै सकेन वा हुनै  दिइएन । नेपाली युगको उत्पत्ति देखि वर्तमानसम्मको आरोह–अवरोहलाई हेर्दा जिम्मेवार अभियन्ताहरुले थोरै र अविश्वासीहरुले धेरै अधिाकार जमाउने मौका पाउँदै आएको अनुभुति हुन्छ । जसकाकारण समाज रुपान्तरणले गति नपाएको हो भन्दा पक्कै पनि गल्ति नहोला । 

    sampadakiya mukhya.jpg


    समाज रुपान्तरणका लागि भनेर यहाँ धेरै होनाहार नागरिकहरुले कठिन संघर्ष, सकारात्मक प्रयास र जीवन आहुती समेत दिएका दृष्टान्तहरु छन् । तर ति सम्पुर्ण वलिदानी र त्यागहरु खेर जाँदै आएका छन् । सकारात्मक उद्देश्यकासाथ थालनी भएका संघर्ष वा आन्दोलनका उत्कर्षहरुमा भ्रामक तत्वको प्रवेशसँगै परिवर्तनमा विद्रुपता थपिने क्रम यथावतै छ । यिनै सम्पुर्ण घटनाक्रमहरुको योगले नेपाली जनमानसलाई निरन्तर निराश बनाई राख्ने र आत्मविश्वास खस्काउने काम गर्दै आइरहेकोमा शंका गर्नु पर्दैन । जसकाकारणले सकारात्मक भन्दा नकारात्मक मन्थनको प्रचलन बाँचि राख्न सफल भएको छ । 
     सफलताका लागि निरन्तर कर्म र धैर्यता आवश्यक हुन्थ्यो । तर हामीकहाँ बनिबनाउ विभिन्न खाले शक्ति केन्द्रहरु र तिनका सञ्चालकहरु छन् । जसले नितान्त आफ्नो स्वार्थ रक्षाका लागि भावना भड्काउने र केन्द्रमा रहिरहने सम्पुर्ण तिकडदम र उपायहरुको खोजि गर्ने गर्छ । यसैमा सफल हुन सकेर हौसिँदै आएको त्यसखाले तत्वलाई पराजित गर्न नसक्दासम्म नेपाली समाज रुपान्तरणको परिकल्पना सम्भव छैन ।
    परम्परागत शक्ति र राजनीतिको तौर तरिका देखि वर्तमान प्रविधिको उपयोग सम्ममा पनि गफि र गफाडीहरुकै हालीमुहाली छ । भ्रममा बाँचिरहेको जनस्तरको तल्लो तहले यथार्थ पहिचान गर्न सक्ने नहुँदासम्म यो संकट र अस्थिरता अरु बढ्दै जाने निश्चित छ । समाज रुपान्तरणमा प्रमुख भूमिका खेल्ने राजनीति देखि राज्यका सम्पुर्ण अवएवहरुमा भ्रम निवारण अहिलेको प्रमुख कार्यभार हो भनेर स्पष्ट हुन जरुरी छ । आफ्नो ल्याकत, सम्भावना र उपलब्ध साधन स्रोतहरुको उपयोग गर्दै रुपान्तरणमा पाइला सार्ने न्युनतम प्रयासमा हरेक तह र तप्काबाट इमान्दार प्रयास गर्नु अहिलेको आवाश्यकता हो । हल्ला, गफ, नकारात्मक भावना र उद्देलित मानसिकता त्यागेर मित्रवत प्रतिष्पर्धा र सृजनाका आधारमा सकारात्मक प्रयासबिना उपलब्धि हाँसिल सम्भव छैन । अतएव विभिन्न विचार, भावना र संस्कृतिमा विश्वास राख्ने नागरिकहरुका समर्थन र झुकाव बेग्ला बेग्लै भए पनि मुख्य विषयमा एक भएर गफ र गफाडितन्त्रलाई बेवास्ता गर्न नसक्दा परिवर्तन र समृद्धिका कुरा फेरी पनि गफमै सिमित हुनेछन् । 
     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित बिषय

    © 2026 All right reserved to bhuinpati.com  | Site By : SobizTrend