निकै लामो संघर्ष र आन्दोलनहरुले प्राप्त गरियो भनेको लोकतन्त्रका केही वर्षहरुले मान्छेहरुलाई अत्याउने काम मात्रै गरेको छ । झन् पछिल्लो समयमा प्रमुख प्रतिष्पर्धि दलहरु नै एकआपसमा मिलेर भागबण्डामा रमाएपछि नागरिक तहमा यि दुई दल अर्थात कांग्रेस एमालेका प्रति प्रशस्त शंका उब्जिएका छन् । पहिलो दलले सरकार र सत्ता चलाउँदा गर्न सक्ने त्रुटीलाई प्रतिष्पर्धि दलले खवरदारी गर्नुपर्ने कर्तव्यलाई लात मारेर यस्ताखाले अस्वस्थ र अलोकतान्त्रिक क्रियाक्लापमा संलग्न खन्चुवा राजनैतिक दलहरुबाट जनतामा थप निराशा थप्ने काम गरेको छ । एकाध राजनैतिक दलहरुको गल्तीले समग्र प्रणालीहरुमा मान्छेहरुको विश्वास टुट्दै र निराशा बढ्दै नजाओस् भन्ने नागरिक चाहना हो । यसका बिरुद्ध समाजको तल्लै तह र संघसंस्थाहरुमा यस्तो ठाउँ बाँकी छैन जहाँ यि दुई प्रमुख प्रतिष्पर्धि दलहरुको एकाधिकार र राजनैतिक हस्तक्षेप नरहेको होस् ।
सरकारी,गैह्र सरकारी तथा सामाजिक संस्था र सत्ताहरुमा यि दुई दलले राम्रो भाग नपाउँदा सम्म बरु सम्पुर्ण प्रकृया र प्रणालीहरु भत्किउन् र अवरुद्ध भएर जाउन् उनीहरुलाई आफ्नो हिस्सा जसरी पनि चाहिने रहेछ भन्ने देखियो । भरखरै सम्पन्न पत्रकार महासंघको चुनावले पनि त्यहि कुरालाई प्रष्ट पार्यो । दुइ दल निकट संगठनहरुले यथेष्ट भाग नपाउँदा सम्म चुनावै हुन सकेन । जित्न र जित्नै पर्ने मानसिकताले गाँजिएका यि दलहरुले सामान्य नैतिकता समेत बाँकी राखेका छैनन् । अड्डा अदालत र सम्पुर्ण निजामति प्रशासन तथा कर्मचारीहरु कब्जा गर्ने अलोकतान्त्रिक अभ्यासले समाजमा दिग्भ्रम र निराशा फैलिने खतरा बढेर गएको छ । कांग्रेस र एमाले पार्टीलाई समर्थन नगरेकै आधारमा राज्यले प्रवाह गर्ने सामान्य प्रशासनिक सुविधा र न्याय र निशाफका कुरामा भेदभाव हुने गरेका दर्जनौ दृष्टान्तहरु समेत हाम्रा आँखै अगाडी देखिएका छन् । जिम्मेवार राजनैतिक दल र समुहबाट यस किसिमका कार्यहरु अगाडी बढाउनुले राज्यको जिवनमा थप अस्वस्थता निम्तिने खतरा छ ।
मिल्ने खाने भन्ने गलत सैद्धान्तिक धरातलमा उभिएका वर्तमान दुई ठुला राजनैतिक दलहरुलाई हेक्का रहोस्, जित र दम्भले सँधैभरी काम नगर्न सक्छ । लोभ र लालच बाहेक पनि समाजमा इमान,जमान भएका थुप्रै नागरिकहरु ज्युँदै छन् । अतएव राज्यका सार्वजनिक पदमा बस्न रुचि देखाउनेहरुले मान मर्यादा र तोकिएको जिम्मेवारी भन्दा अर्को अनियमितता गर्न छोडुन् । लोकतन्त्रबाट अझै उन्नत खालको लोकतन्त्रमा फड्को मार्दै सुशासन कायम गर्नतिर लाग्नुको सट्टा राज्यसत्तालाई आफुअनुकुल बनाउन र प्रतिष्पर्धिलाई तर्साउन प्रयत्न गरेका ठुला दलहरुको कार्यशैलीलाई जति नै आलोचना गरे पनि कमि हुन्छ । ठुलो त्याग र बलिदानबाट प्राप्त समग्र व्यवस्थाकै बिरुद्ध निराशा छाउँदै गर्दा समेत दम्भ प्रदर्शनिमै रमाएका ठुला दललाई भन्नै पर्ने हुन्छ, लोकतन्त्र भनेको चुनाव जित्नु मात्रै होइन । काम कर्तव्य तथा मर्यादापालन र सबभन्दा ठुलो कार्यसम्पादन हो ।
